नेपालका १० प्रतिशत जनसंख्यामा पूँजी बजारको पहुँच

काठमाडौं, ५ चैत । नेपालको १० प्रतिशत जनसंख्या पूँजी बजारको पहुँचमा रहेका छन् ।

पछिल्लो समय पूँजी बजार प्रवेश गर्नेको संख्या उल्लेख्य रुपमा बढ्दै गएपछि १० प्रतिशत जनसंख्या पूँजी बजारको पहुँच पुगेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

शुक्रबार एक कार्यक्रममा बोर्ड अध्यक्ष भिष्म राज ढुंगानाले पूँजी बजार सबैको बजार भएपनि १० प्रतिशत जनसंख्यामा मात्र यसको पहुँच पुगेको बताए ।

उनले पूँजी बजारमार्फत् देशको आर्थिक विकासका लागि अपांगता भएका सर्वसाधारणको पूँजी बजारप्रतिको चासो तथा सहभागिता आगामी दिनमा थप उत्साहमूलक बनेको समेत बताए ।

नेपालमा डिम्याट खोल्नेको संख्या ३३ लाख नाघि सकेको छ । डिम्याट खाता खोलेका मध्ये करिब २० प्रतिशलेले मात्र कारोबार गर्ने गरेका छन् ।

दोस्रो बजारमा शेयर कारोबार गर्ने कुल लगानीकर्तामध्ये अनलाइन कारोबार (टीएमएस) प्रयोग गर्नेको संख्या ५ लाख पुगेको छ ।

नेपालमा पूँजी बजारको इतिहास

नेपालमा पूँजी बजारको इतिहास धेरै लामो छैन । वि.सं. १९९३ सालमा कम्पनी ऐन जारी भएपश्चात् वि.सं. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको स्थापना भएपछि नेपालमा प्रथम पटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि नै यसको सुरुवात भएको हो ।

तर धितोपत्र निष्कासन भएपनि नेपालमा धितोपत्र कारोबारसम्बन्धी स्पष्ट कानूनी व्यवस्था थिएन । त्यसपछि नेपाल लामो समयसम्म राजनीतिक संक्रमणबाट गुज्रेको हुनाले औद्योगिक र वित्तीय क्षेत्रमा निजी क्षेत्रलाई सहभागी गराएर आर्थिक विकासलाई गति दिन थालिएको प्रयास विकास र विस्तार हुन पाएन ।

नेपाल राष्ट्र बैंकले २०१८ सालमा सरकारी ऋणपत्र जारी गर्ने कार्यको थालनी गर्यो भने तिनै सरकारी ऋणपत्रको कोरोबार गर्नलाई २०३३ सालमा सेक्युरिटी खरिदबिक्री केन्द्रको स्थापना गरियो ।

पञ्चायती शासन व्यवस्थाको उत्तराद्र्धतिर अलिकति खुकुलो आर्थिक नीति लिई संयुक्त लगानीमा विदेशी बैंकहरू खोल्न दिने नीतिगत व्यवस्थासंगै धितोपत्र कारोबारको सञ्चालन र व्यवस्थापन गर्न अलग्गै कानूनको आवश्यकता बोध भयो र धितोपत्र कारोवार ऐन २०४० निर्माण गरी लागू गरियो ।

२०४६ सालको जनआन्दोलनले देशमा बहुदलीय संसदीय व्यवस्थाको पुनस्र्थापना गरेपछि देशमा आर्थिक विकासका अवसरहरू थपिए ।

त्यसपछिको पहिलो आम निर्वाचनबाट गठन भएको सरकारले खुला,उदार र प्रतिस्पर्धी आर्थिक नीति अबलम्बन गरेपछि पूँजी बजारको प्रवद्र्धन एवं विकासका लागि तत्काल कायम रहेको कानूनी व्यवस्था अपर्याप्त महसुस गरेर सरकारले वि.सं. २०४९ मंसिर ११ गते धितोपत्र कारोबार ऐन, २०४० मा पहिलो संशोधन गरी सेक्युरिटी खरिद बिक्री केन्द्रलाई नेपाल धितोपत्र विनिमय बजार लिमिटेडमा परिणत गर्नुका साथै धितोपत्र बजारका संयन्त्र विकास र नियमन गर्न धितोपत्र बोर्डको स्थापना गर्ने प्रावधान राखियो ।

पूँजी बजारको विकास र नियमन निकायका रूपमा वि।सं। २०५० जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएपछि मात्रै नेपालको पूँजी बजारमा नयाँ आयाम प्रारम्भ भएको हो । लगानीकर्ताहरूको हित संरक्षण गर्ने उद्देश्य समेत रहेको बोर्डले यस क्षेत्रको विकासको लागि मुख्य भूमिका निर्वाह गर्दै आएको छ ।

धितोपत्र बजारको हालको अवस्था केलाउदा सर्वसाधारण लगानीकर्ताहरूको आकर्षण प्राथमिक बजारमा बढ्दो देखिन्छ । धितोपत्र बोर्डको अग्रसरतामा आस्वा प्रणालीको सुरुआत हुनु र आस्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट सहजरूपमा शेयर भर्ने र मेरो शेयरको सुविधा लिएका लगानीकर्ताहरूलाई अनलाईनबाटै शेयर भर्ने सुविधा प्राप्त भएकोले आम लगानीकर्ताको सहभागिता बढ्न गएको हो ।

तर प्राथमिक बजारमा प्रवेश गरेका लगानीकर्ताहरूलाई दोस्रो बजारमा ल्याउने प्रयासले भने सार्थकता पाउन सकेको छैन । धितोपत्रको खरिद—बिक्रीको आदेश अनलाईनबाट वा मोबाइलबाट दिन सकिने भएपनि भुक्तानी लिने वा दिने सुविधा विस्तार हुन नसकेकोले दोस्रो बजारमा लगानीकर्ताको सहभागिता निकै नै कम छ ।

अर्कोतर्फ धितोपत्र बजारमा अझै पनि बैंक र वित्तीय संस्थाहरूको बाहुल्यता रहेको छ यसले लगानीकर्ताहरूमा पनि जोखिम सिर्जना गरेको छ । एकै प्रकृतिका संस्थाहरूको धितोपत्रको खरिद जोखिमपूर्ण हुनेभएकोले लगानी विविधीकरण गरी जोखिम न्यूनीकरण गर्न चाहने लगानीकर्ताको लागि हाम्रो बजारमा विकल्पहरू सीमित छन् । नेपाली अर्थतन्त्रको मौलिक पक्ष मानिएका जलविद्युत, पूर्वाधार र पर्यटन क्षेत्रका संस्थाहरूको उपस्थिति पूँजी बजारमा ज्यादै न्यून देखिन्छ ।

नेपालको पूँजी बजारमा ऋणपत्र बजारको विकास पनि सन्तोषजनक ढंगले हुन सकेको छैन । केही बैंकहरूले ऋणपत्र निष्कासनको कार्य थालेको भएपनि यसप्रति लगानीकर्ताको चासो कम देखिएको छ ।

बार्षिक व्याजदर बढी हुने यी उपकरणहरूले लगानीकर्ताहरूको ध्यान तान्न सकेको देखिदैन । सरकारी विकास ऋणपत्रको प्राथमिक निष्कासनको खरिदमा ९९ प्रतिशतभन्दा बढी संगठित संस्थाहरूको सहभागिता रहने गरेको छ भने सर्वसाधारण लगानीकर्ताको अनभिज्ञताका कारणले धितोपत्र विनिमय बजारमार्फत् हुने दोस्रो बजार कारोबार सक्रिय हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here