कोभिडका कारण निमोनिया हुँदा देखिन्छ यी लक्षण, यस्तो अवस्थामा के गर्ने ?

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण निमोनिया हुने सम्भावना पहिलाको तुलनामा धेरै बढेको छ ।

सङ्क्रमितमा कोभिडले गराउने निमोनिया हुनुका साथै निमोनिया तीव्र रूपमा बढिरहेको वा बिरामीको अवस्था गम्भीर हुने सम्भावना पनि पहिलेको तुलनामा तीव्र रूपमा बढिरहेको चिकित्सकहरु बताउँछन् ।

बिरामीहरू ज्वरो आउँदा, खोकी लाग्दा, शरीरको दुखाइ भए पनि लक्षणलाई सामान्य सोचेर वा दुईतीन दिनमै निको हुने सोचेर लापरबाही गरिरहेको उनीहरुको भनाइ छ ।

यस्ता लक्षण देखिन्छ

सङ्क्रमितमा श्वासप्रश्वासमा समस्या भएमा निमोनिया भएको शङ्का गरिन्छ वा हुनसक्ने सम्भावना धेरै हुन्छ । खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, अलिकति हिँड्दा पनि गाह्रो हुने, थाक्ने तथा सास बढेको जस्तो हुने, अक्जिनको स्तर घट्ने हुनसक्छ । यस्ता लक्षण कोभिडका कारण निमोनिया हुँदा, वा गम्भीर भइसकेपछि देखिने हुन्छ ।

हालको समयमा धेरैजसो सङ्क्रमित होम आाइसोलेसनमा बसिरहेका छन् जसकारण उनीहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउछन् । होम आइसोलेसनमा बस्ने सङ्क्रमितमा निमोनिया भएको छ वा छैन भनेर एक्स–रे वा अन्य जाँच नगरी थाहा हुँदैन । कोभिड निमोनिया भएका डाक्टरको परामर्श लिएर सङ्क्रमितको अवस्थाअनुसार औषधि खानुपर्ने हुन्छ ।

यस्तो अवस्थामा के गर्ने ?

भाइरल सङ्क्रमण हुँदा खानपानमा ध्यान दिई, स्वच्छ हावामा बस्ने, घाम ताप्ने प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्ने, तातो पानी पिउने गर्नुपर्छ । योसँगै शरीरको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गराउन भिटमिन सी, क्याल्सियम, भिटामिन डी, जिङ्क जस्ता औषधिको सेवन गर्न सल्लाह दिइन्छ ।

घरमै आइसोलेसनमा बसेका बिरामीले ज्वरो, खोकीलगायत कोभिडका अन्य लक्षणलाई मनिटर गर्नुका साथै पल्स अक्सिमिटरको सहयताले हरेक दिन अक्सिजनको स्तर नापिरहनुपर्ने चिकित्सकहरु सुझाउँछन् । अक्सिजनको स्तर ठिक छ भने आत्तिनुपर्ने स्थिति नहुने उनीहरुको भनाई छ ।

तर, अक्सिजनको स्तर घटेको देखाएमा (९० प्रतिशत वा सोभन्दा कम) डाक्टरको सल्लाहमा अक्सिजनको प्रयोग गर्नुपर्ने वा अस्पताल भर्ना हुनुपर्ने चिकित्सकहरु बताउछन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here