बोयर जातका बाख्रा पालनप्रति किसानहरूकाे बढ्दो आकर्षण

–विमलबहादुर विष्ट

डाेटी, ३० जेठ । बाख्रापालक किसानहरुको आय आर्जनमा अभिवृद्धि गर्ने तथा पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले जिल्लाको जोरायल गाउँपालिका–२ रुपसकाडामा “बोयर बाख्रा स्रोत केन्द्र स्थापना” गरिएको छ ।

ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्यूरीटी कार्यक्रमको सहयोगमा डिभिजन पशु सेवा कार्यालय सिलगढी, कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत सो स्रोत केन्द्र स्थापना गरिएको हो ।

विश्व कृषि तथा खाद्य सङ्गठन (एफएओ) मार्फत अष्ट्रेलियाबाट बोयर जातका १३ वटा प्रजनन बोका आयात गरेर दुई वर्षअघि नै किसानहरुलाई वितरण गरिएको केन्द्रका प्रमुख नारायणदत्त पन्तले बताए ।

उनले भने, ‘बोयर बाख्रा स्रोत केन्द्रसमेत स्थापना गर्न सफल भयाैँ र यसबाट मासुजन्य उत्पादनमा डोटी सक्षम हुने छ ।’

केन्द्रका अनुसार यहाँबाट २३२ वटा क्रस बोयर प्रजनन जातका बोकाहरु अछाम, दार्चुला, बैतडीलगायत पहाडी जिल्लाहरुमा किसानहरुको विभिन्न समूहमा बिक्री वितरण गरिएको छ । यसरी बिक्री गरिएका बोयर प्रजनन बोकाहरुबाट स्थानीय किसानहरुले वार्षिक रु ६८ लाख ४६ हजारसम्म आम्दानी गर्न सफल भएको केन्द्रले जनाएको छ ।

स्थानीय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले यहाँका पहाडी जिल्लाहरुमा बोयर जातको प्रजनन बोकाको माग अत्यधिक रहेको पशु प्राविधिक अधिकृत डाक्टर अर्जुन पण्डितले बताए ।

‘बोयर जातको बोका चाडै फष्टाउने भएको र मासुजन्य उत्पादनका लागि समेत उपयुक्त हुने भएकाले यसको माग दिप्रतिदिन बढिरहेको छ’ उनले भने, ‘अन्य जातको भन्दा यो जातको बोका पाल्नु किसानलाई बढी फाइदाजनक छ ।’ स्थानीय किसानका अनुसार बोयर जातका बोकाको प्रतिकिलोग्राम बजार मूल्य जिउँदै रु ८०० रहेको छ ।

पछिल्लो समय यहाँका किसानहरु प्रजनन बोयर बोका पालनमा आकर्षित हुन थालेको रुपसकाडाका स्थानीय भरत कुँवरले बताए उनले भने, ‘छोटो समयमा चाडै फष्टाउने र मासुजन्य उत्पादनमा यो जातको बोकाको माग अत्यधिक रहेको छ ।’ ‘स्थानीय जातको बोकाभन्दा यो जातको बोकोको बजार मूल्य र माग बढेपछि यस क्षेत्रका किसानहरु प्रजनन बोयर बोका पालनमा आकर्षित भएका हुन्’, किसान कुँवरले भने ।

जिल्लाका करीब तीन दर्जनभन्दा बढी स्थानमा अहिले बोयर जातका बोका तथा बाख्रापालन व्यवसाय शुरु भएको छ । जताततै बोयर जातका बोका तथा बाख्रापानल शुरु भएपछि जिल्लामा रहेको रैथाने जातका बाख्राहरु क्रमिक रुपमा लोप हुँदै जान थालेको शिखर नगरपालिका–१ का किसान श्यामबहादुर नेगीको भनाई छ ।

उनले भने, ‘जिल्ला भरीमा बोयर बाख्रापालन शुरु भएपछि हाम्रा गाउँघरमा पाइने पुराना तथा रैथाले जातका बाख्रा हराउन थालेका छन्, त्यसैले रैथाने जातको बाख्राको संरक्षण गर्नु जरुरी भएको छ ।’

राम्रो र हष्टपुष्ट बोयर बोका करीब एक क्वीन्टलसम्म हुने गरेको स्थानीयको भनाइ छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here