थ्रीजीबाट एकैचोटी फाइभजीमा जान सकिन्न, पहिले फोरजी विस्तार गरौंः नेपाल टेलिकम

-सुनिल भट्टराई

काठमाडौं, ५ बैशाख । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले नेपाल टेलिकमले फाइभजी सेवा सञ्चालनको बारेमा अहिले नै नसोचेको बताएका छन् ।

टेलिकमले बिहीबार भद्रकाली स्थित मुख्य कार्यालयमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान र मिडिया अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

फाइभजी अहिले केही देशमा परिक्षणको रुपमा मात्रै सञ्चालन भएकाले व्यावसायीक रुपमा सञ्चालनमा आउन अझै केही वर्ष लाग्ने र त्यतिन्जेलसम्म नेपालले फोरजीबाट लाभ लिनुपर्ने उनले बताए ।

‘हामीले २०२५ सम्ममा फोरजीबाट पर्याप्त लाभ लिनुपर्छ र फाइभजीको लागि तयार हुनुपर्छ किनभने थ्रीजीबाट एकैचोटी फाइभजीमा जान सक्दैनौं’, उनले भने, फाइभजीले आफ्नै इकोसिस्टम बनाउनुपर्छ र त्यो अहिले तत्काललाई सम्भव छैन् ।’

फाइभजीको लागि उपभोक्ता पनि तयार नभएको र त्यसलाई सपोर्ट गर्ने डिभाइस बजारमा अहिले नै सहजै उपलब्ध नहुने भएकाले त्यसको लागि केही वर्ष पर्खिनुपर्ने उनको भनाई थियो ।

साथै उनले नेपाल सरकारको लक्ष्य अनुसार हरेक नेपालीलाई सेवा दिन नेपाल टेलिकम प्रतिबद्ध भएको समेत बताए । उनले भने, ‘नाफा वा व्यावसायलाई मात्रै नहेरी नेपालका जनता बस्ने हरेक ठाँउमा मोबाईल फोन सेवा, इन्टरनेट सेवा पुर्याउने हाम्रो दायित्व हो ।’

फोरजी विस्तारको काम द्रुत गतिमा

टेलिकमले अहिले देशभर फोरजी विस्तार गर्नको लागि पूर्वाधार निर्माण गरिरहेको छ । टेलिकमले तीन भागमा बाँडेर देशभर ६५ लाख प्रयोगकर्ता क्षमताको फोरजी एलटिई सेवा विस्तार गरिरहेको छ ।

टेलिकमले करीब १९ अर्ब लागतको यो आयोजनाको पूर्वाधार निर्माणको लागि गत माघ २० गते दुईवटा कम्पनीसँग एक वर्षभित्र निर्माण सक्ने गरी सम्झौता गरेको थियो ।

टेलिकमले काठमाडौं र बुटवलको ‘कोर नेटवर्क’ निर्माणको लागि चीनको जेटिई कर्पोरेशनसँग १ अर्ब ६५ अर्ब रुपैयाँमा सम्झौता गरेको छ ।

त्यस्तै, प्रदेश नम्बर २, ३, ५ र ६ का विभिन्न भाग समेट्ने ‘नेटवर्क आई’को लागि हङकङको सीसीएसआईसँग ८ अर्ब ७५ करोड रुपैयाँ र प्रदेश नम्बर १, २, ४, ५ र ७ का विभिन्न भाग समेट्ने ‘नेटवर्क आईआई’को लागि पनि सीसीएसआईसँगै ८ अर्ब ३९ करोड रुपैयाँको सम्झौता गरेको छ ।

नयाँ सम्झौता अनुसार काम द्रूत गतिमा भइरहेको तीनवटै भागको साइट सर्भेको काम ६५ प्रतिशत सकिएको पनि टेलिकमले जनाएको छ ।

कार्यक्रममा टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विशेषगरी टेलिकमले विस्तार गरिरहेको फोरजी एलटिई आयोजनाको बारेमा जानकारी दिँदै फोरजी एलटिई सेवाले मोबाईल सेवाको गुणस्तर धेरै वृद्धि गर्ने बताईन् ।

उनले भनिन्, ‘नयाँ फोरजी एलटिईमा पहिलेको तुलनामा भ्वाइस क्वालिटी राम्रो हुन्छ, कनेक्सन छिटो हुन्छ र मोबाईल फोनको बेट्री खपत पनि कम हुन्छ ।’

त्यस्तै टेलिकमले यसै आर्थिक वर्षको चैत मसान्तसम्ममा ४०७ वटा नयाँ बिटिएस थप गरेको र ४०० वटा थ्रीजी बिटिएसहरुको स्तरोन्नती गरेको पनि जानकारी दिएको छ ।

यसैगरी टेलिकमले उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्नको लागि नयाँ ग्राहकलाई एफटिटिएच सेवा प्रदान गर्ने र अहिले एडिएसएल सेवा लिइरहेका ग्राहकलाई एफटिटिएचमा रुपान्तरण गर्ने पनि बताएको छ ।

टेलिकमले मध्य पहाडी लाेकमार्गकाे अप्टिकल फाइबरकाे काम पनि भइरहेकाे जानकारी दिएकाे छ । विभिन्न स्थानमा मोबाईल नेटवर्क नटिप्ने समस्या समाधानका लागि माइक्राे बिटिएस जडान गर्ने याेजना रहेकाे पनि टेलिकमले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here