नेपाली स्याटेलाइट अन्तरिक्षमा, प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं, ४ बैशाख । बिहीवार बिहान नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण भएको छ ।

जापानमा नेपाली वैज्ञानिकले निर्माण गरेको सो न्यानो स्याटेलाइट बिहीबार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनिया स्थित केन्द्रबाट अन्तरिक्षमा पठाइएको छ ।

स्याटेलाइट प्रक्षेपण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन्, आज बिहान २:३१ मिनेटमा अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट-१‘ सफल प्रक्षेपण भएको छ। यो सँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म सँलग्न सबैमा बधाई ज्ञापन गर्दै धन्यवाद दिन चाहान्छु ।’

यसले नेपालको अन्तरिक्ष इतिहासमा एक नयाँ इतिहास कोरेको छ । नेपालले पहिलोपटक राष्ट्रिय ध्वजाअंकित आफ्नै स्याटेलाईट अन्तरिक्षमा पठाएको हो । स्याटेलाइटलाई नेपालीस्याट १ नाम दिइएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को पहलमा करीब १ किलो ३ सय ग्रामको सो नानो स्याटेलाइट संयुक्त राष्ट्र संघको सहकार्यमा जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजीमा बर्डस् परियोजनाअन्तर्गत विकास गरिएको हो ।

नेपालीवैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठले सो स्याटेलाइट तयार गरेका हुन् ।

बिहीवार बिहान अन्तरिक्षमा पठाइएको सो स्याटेलाइट करीब एक महिना अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने छ । एक महिनाको परीक्षणपछि मात्र त्यसलाई पृथ्वीको कक्षमा स्थापना गरिने छ ।

स्याटेलाइटबाट जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा शहरी विकास योजनाको तयारीजस्ता कार्यमा सहयोग पुग्ने छ । रिमोट सेन्सिङ सुविधा भएकाले त्यसले विपद पूर्व सूचनामा पनि सघाउने छ ।

नेपालसँगै जापान र श्रीलंकाले पनि सोही आकारका स्याटेलाइट पठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here