माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन शुरु, भदौभरमा सबै युनिट सञ्चालन गर्ने लक्ष्य

काठमाडौं, २१ असार । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आजदेखि बिजुली उत्पादन शुरु गरिने भएको छ ।

सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट राष्ट्रिय गौरवको आयोजना तामाकोशी आयोजना उद्घाटन गर्ने भएका हुन् ।

तामाकोशीको पहिलो युनिट (७६ मेगावाट) बाट सोमबार अपराह्न परीक्षणका रूपमा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने योजना रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।

असारभित्रै कम्तीमा दुई युनिट (१५२ मेगावाट) र भदौभरिमा सबै युनिटबाट बिजुली उत्पादन गरिसक्ने आयोजनाको लक्ष्य रहेको छ ।

आयोजनाको प्रसारण लाइनको शनिबार सफल परीक्षण गरिएको थियो। देशको अहिलेसम्मकै ठूलो ४५६ मेगावाट क्षमताको स्वदेशी लगानीमा निर्मित यो जलविद्युत् आयोजनाको मुख्य पूर्वाधारहरूको निर्माण आर्थिक वर्ष २०६७/६८ देखि शुरू गरिएको थियो।

तामाकोशीको बिजुली तामाकोशी करिडोर हुँदै खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । खिम्ती सबस्टेशनमार्फत् नै उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ।

आयोजनाले आइतबार मात्रै गोंगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो भने शनिबार ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेेका छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना २०७२ सालमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । भूकम्प, नाकाबन्दी, ठेकेदारको ढिलाई, कोरोना लगायत कारण आयोजनाको काममा ढिलाइ भएको हो ।

आयोजनामा चार सरकारी स्वामित्वका निकाय नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको बहुमत ५१ प्रतिशत शेयर स्वामित्व छ। १५ प्रतिशत शेयर सर्वसाधारण तथा १० प्रतिशत लगानी दोलखाका बासिन्दाको छ।

त्यसैगरी, बाँकी २४ प्रतिशत शेयर लगानी कर्मचारी सञ्चय कोष, विद्युत् प्राधिकरण तथा ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीको छ। यद्यपि आयोजनाको कुल लागतमध्ये स्वपूँजी रु. १० अर्ब ५९ करोड मात्रै हो, बाँकी लगानी ऋणमार्फत जुटाइएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here