काठमाडौं, १७ साउन । शेयर बजारमा लगानीकर्ताकोहरुको आर्कषण निकै बढेको छ । एकवर्ष अघिसम्म मात्रै पनि सर्वसाधारणमा खासै चर्चा नहुने शेयर बजार र आइपीओ चर्चा यतिबेला चुलिएको छ ।
एक वर्षको अवधिमा करिब २० लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । जसले गर्दा अहिले एउटै कम्पनीको आइपीओमा २० लाखभन्दा बढी आवेदन पर्न थालेको छ । यसरी आइपीओ भर्ने मानिसको संख्या बढ्दै गर्दा बैंकहरुले आइपीओ भर्न लाग्ने शु्ल्क पनि अस्वभाविक रुपमा बढाउँदै आएको छ ।
यसरी आइपीओ भर्दा बैंकहरुबाट पैसा काटिन्छ । जसका लागि कतिपय बैंकले ग्राहकसँग निश्चित रकम लिने गर्छन् भने कतिपय बैंकले यो सेवा निःशुल्क दिइरहेका छन् ।
जसलाई सी–आस्वा सेवा भनिन्छ । यसरी ग्राहकलाई सी-आस्वा सेवा दिएवापत शुल्क लिनको लागि बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने हुन्छ ।
बैंक तथा वित्तीय संस्थाले आस्वा सेवा उपलब्ध गराए वापत लिने सेवा शुल्कमा एकरुपता कायम हुन सकेको छैन । जसका कारण लगानीकर्ता हौरानीमा परेका छन् । केही बैंकले अत्याधिक शुल्क लिएको आरोप समेत उनीहरुले लगाउँदै आएका छन् ।
एक पटक आइपीओ भर्दा कुनै बैंकले १०० रुपैयाँ सम्म शुल्क लिने गरेको छ । यसको साथै कुनै बैंकले २५ रुपैयाँ र १० रुपैयाँ लिने गरेका छन् भने कुनैले निशुल्क भर्ने सुविधा समेत दिएका छन् ।
अहिले विभिन्न ९ बैंकबाट नि:शुल्क आइपीओ भनै पाइन्छ । जुन यस प्रकार छन् ।
१. राष्ट्रिय वाणिज्य
२. नेपाल बैंक
३. सिद्धार्थ बैंक,
४. सानिमा बैंक
५. एनआईसी एशिया बैंक
६. एनसीसी बैंक
७. नबिल बैंक
८. मेगा बैंक
९. ग्लोबल आइएमई बैंक
अन्यमा कति शुल्क ?
सेवा दिएवापत १२ वटा वाणिज्य बैंकले १ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तय गरेका छन् । जसमध्ये सबैभन्दा बढी स्ट्यान्र्डड चार्डर्ट बैंकले १ सय रुपैयाँ शुल्क तोकेको छ ।
साथै, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल बंगलबादेश बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक र सनराइज बैंकमा खाता रहेका लगानीकर्ताले शेयरमा आवेदन दिँदा प्रतिआवेदन १० रुपैयाँ शुल्क लाग्ने छ ।
एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक र कुमारी बैंकमा खाता रहेकाहरुले २० रुपैयाँ सेवाशुल्क लाग्नेछ ।
लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकमा खाता रहेका लगानीकर्ताले प्रति आवेदन २५ रुपैयाँका सेवा शुल्क बुझाउनु पर्नेछ । यसको अलवा सेञ्चुरी कमर्सियल बैंकले पनि शेयर भर्दा प्रतिआवेदन २५ रुपैयाँ सेवाशुल्क लाग्ने सूचना प्रकाशन गरेको छ ।
आइपीओ भर्दा सबैभन्दा धेरै शुल्क स्ट्याण्डर्ड चार्टड बैंकले लिने गरेको छ । बैंकले प्रतिआवेदन १०० रुपैयाँ सेवाशुल्क लिने गरेको छ ।
























