दश महिनामा ७ खर्ब २५ अर्ब रेमिट्यान्स, वृद्धिदर निरन्तर घट्दो

काठमाडौं ६, असार । गत वैशाखसम्म नेपालमा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १९.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको सुरुका महिनामा रेमिट्यान्स आप्रवाह वृद्धिदर बढेर ३८ प्रतिशत सम्म पुगेको थियो । त्यसपछि घट्दो दरमा रहेको रेमिट्यान्स वैशाखमा साढे १६ प्रतिशतमा झरेको हो ।

सुरुमा अमेरिकी डलरको विनिमय दर उच्च हुँदा रेमिट्यान्स वृद्धिदर पनि उच्च भएको हो । हाल डलरको वृद्धिदर घटेकाले रेमिट्यान्स वृद्धिदर पनि घटेको हो । रोजगारीका लागि विदेशीने नेपालीको संख्या घट्दै गएको, हुन्डी लगायत गैर कानूनीमाध्यम सक्रिय भएकाले वैधानिक माध्यमबाट भित्रिने रेमिट्यान्स घटदै गएको जनाइएको छ ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.२ प्रतिशतले घटेको थियो ।

गत वैशाखसम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६० अर्ब रुपैयाँ छ । गत असार मसान्तमा यस्तो सञ्चिति ११ खर्ब ०२ अर्ब ५९ करोड रुपैयाँ थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा ९ अर्ब ४२ करोड छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा ०७६ वैशाखमा ९ खर्ब १५ अर्ब ३९ करोड रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असारमा १ खर्ब १३ अर्ब १९ करोड थियो । ०७६ वैशाखमा यो १ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । २०७६ वैशाखको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here