२८ वटा कम्पनी ‘क्लास ए’ मा सूचीकृत, अधिकांश खराब समूहमा

काठमाडौं, ७ भदौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।

वर्गिकरण अनुसार नेप्सेको ‘ए’ समूहमा कृषि विकास बैक, बैंक अफ काठमाण्डू, सिटिजन इन्टरनेशनल बैंक, सेञ्चुरी बैंक, एभरेष्ट बैंक ग्लोबल आइएमई बैंक, हिमालयन बैंक छन् ।

त्यस्तै कुमारी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, सानिमा बैंक र सनराइज बैंक रहेका छन् ।

यसैगरी, विकास बैंकमध्ये कामना सेवा र साइन रेसुंगा, आइसीएफसी फाइनान्स, आरएमडीसी लघुवित्त, अपि पावर, बुटवल पावर, सानिमा माइ र युनाइटेड मोदी हाइड्रोपावर पनि नेप्सेको ‘ए’ समूहमा परेका छन् ।

नेप्सेले वर्गीकरणमा समावेश गरेका २२६ कम्पनीमध्ये २८ वटा कम्पनी ‘ए’, १२ वटा ‘बी’, २८ वटा ‘सी’ र १५७ वटा कम्पनी ‘जेड’ समूहमा परेका छन् । नेप्सले वर्गीकरणमा डिबेञ्चर र म्युचुअल फण्डलाई भने समावेश गरेको छैन ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५, को विनियम ११ बमोजिम कम्पनीहरुको वर्गिकरण सूची सार्वजनिक गर्दै आएको छ। नेपाल धितोपत्र बोर्डले लागू गरेको नयाँ नियमावलीमा अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी चार वर्गमा वर्गिकरण गरेको हो ।

कम्पनीको वर्गिकरण सम्बन्धी विनियमावलीमा ‘ए’ वर्गमा पर्नका लागि क्रेडिट रेटिङ औसतभन्दा माथी हुनुपर्ने र क्रेडिट रेटिङको समय नसकिएको हुनुपर्ने छ ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार ‘ए’ वर्गमा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रहि लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ ।

यस्तै, ‘ए’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ग मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ । ‘जी’ वर्गको वर्गिकरणमा पनि समावेश हुन नसक्ने कम्पनी ‘जेड’ वर्गमा पर्नेछन् ।

सूचीकृत कम्पनीहरुको वर्गीकरण सूचीको पूर्ण विवरण यहाँ हेर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here