प्रभावकारी बजार अनुगमन नहुँदा खाद्यान्नको मूल्य आकाशियो, खाने तेल अस्वाभाविक वृद्धि

काठमाडौं १५ भदौं । प्रभावकारी बजार अनुगमन नहुँदा खाद्यान्नको मूल्य आकाशिएको छ । चाडपर्वमा मात्र सरकारी निकायले बजार अनुगमन गर्नेगर्दा बजारमा कालोबजारी वृृद्धि भएको उपभोक्ताहरुले दाबी गरेका छन् ।

एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा पनि खाद्यान्नहरुको भाउ बढेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

कोरोना महामारी यता उपभोक्ता बजारमा अधिकांश खाद्यान्नको मूल्यमा वृद्धि भएको छ ।

बजार अनुगमनकै लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुणस्तर विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय निकायलाई बजार अनुगमनको जिम्मा दिइएको छ ।

यी चार विभागले आफूसँग सम्बन्धित निकाय तथा प्रशासन र स्थानीय तहले आवश्यकता अनुसार बजार अनुगमन गर्ने जिम्मा पाएका छन् । तर, जति धेरै बजार अनुगमन गर्ने सरकारी निकाय भएतापनि उपभोक्ताले कुनै राहत पाएका छैनन् ।

खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार पछिल्लो समय तेल, चिनी, अण्डा तथा दालको मूल्य आकाशिएको छ । मासको दालको मूल्य १३० बाट १६० रुपैयाँ प्रतिकेजी, मुंग दाल १३० रुपैयाँबाट १६५ रुपैयाँ, मुसुरो र रहरको दालमा क्रमशः ४० र ६० रुपैयाँले मूल्य बढेको छ । चारै प्रकारका दालको मूल्यमा प्रतिकिलो औसत मूल्य १२० रुपैयाँ रहेकामा बढेर १६१ रुपैयाँ पुगेको छ ।

कोरोना महामारी सुरु भएयता बजारमा खाने तेलको मूल्य झन्डै दोब्बरले बृद्धि भएको हो ।बजार सनफ्लावर तेलका विभिन्न ब्रान्ड छन्। ब्रान्ड अनुसार करिब एक साताको अवधिमा मात्रै खाने तेलको मूल्य प्रतिलिटर न्यूनतम १५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म वृद्धि भएको छ । एक वर्षको अवधिमा खाने तेलको मूल्यमा अत्याधिक वृद्धि भएको छ ।

एक वर्षअघि भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २२० रुपैयाँ रहेकोमा हाल ३३० रुपैयाँ पुगेको छ । भटमास तेलको मूल्य प्रतिलिटर ११५ रुपैयाँबाट बढेर २२० रुपैयाँ र सनफ्लावर १२५ बाट २३० रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा १५३ रुपैयाँदेखि २५६ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।

नेपाल अन्डा उत्पादक संघको तथ्यांक अनुसार हाल ठूलो अन्डाको मूल्य प्रतिक्रेट ३ सय ९० र सानो अन्डाको प्रतिक्रेट ३ सय ६० रुपैयाँ रहेको छ । गत वर्ष ठूलो अन्डाको प्रतिक्रेट मूल्य २ सय ७५ रुपैयाँ र सानो अन्डाको प्रतिक्रेट मूल्य २ सय ५५ रुपैयाँ रहेको थियो । हाल खुद्रा बजारमा ४९० रुपैयाँसम्ममा अण्डाको बिक्री वितरण हुँदै आएको छ ।

यस्तै, नेपालमा चिनी उत्पादन कम भएको भन्दै चिनी व्यवसायीले पछिल्लो समय झन्डै प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म मूल्य बढाएका छन् । अहिले चिनी, तेल चामल, दाल मात्रै होइन अन्य उपभोग्य वस्तुको मूल्य वृद्धि अत्याधिक भएको छ ।

नेपाल राष्ट्र बैकको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/ ७८ मा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तिजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मुल्यवृद्धि क्रमशः १७.५४ प्रतिशत, १०.६५ प्रतिशत, ९.८३ प्रतिशत र ६.४१ प्रतिशत रहेको छ ।

२०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.०० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ८.१६ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here