कोभिड–१९ को महामारीले थला पारेको अन्य क्षेत्रसँगै बढी मारमा सामुदायिक क्याम्पस पनि परेका छन् । सामान्य आयस्रोत भएका जनताका छोराछोरीको रोजाइमा पर्ने देशभरका सामुदायिक क्याम्पसहरुको दैनिकी चल्नको लागि नै समस्या परिरहेको छ । यद्यपि महामारीको चपेटामा पनि विद्यार्थीको पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरु निरन्तर चलिरहेका छन् ।
यसै सन्दर्भमा क्याम्पस वा विद्यार्थीमा शिक्षालाई निरन्तरता दिन के कस्ता समस्या देखिए वा के कस्ता प्राविधिक तथा अन्य चुनौतिको सामना गर्नुपर्यो भन्ने सन्दर्भमा हामीले नेपाल पब्लिक क्याम्पस संघका निवर्तमान अध्यक्ष भोलानाथ ओझासँग कुराकानी गरेका छौं । विश्वविद्यालय अनुदान आयोग (युजीसी) बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएर आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरि सकेको जनमैत्री बहुमुखी क्याम्पसका प्रमुखसमेत रहेका ओझासँग क्लाउडपत्रिकाका जितेन्द्र खनालले गरेको कुराकानी:
शिक्षा कोरोना महामारीले सबैभन्दा बढी असर पारेको क्षेत्रमध्ये एक हो, त्यसको के समीक्षा गर्नु भएको छ ?
यो अहिलेको सबैभन्दा जटिल समस्या हो । अन्य क्षेत्रमा परेको असर संक्रमण अन्त्य भएको १/२ वर्षमा नै सकिएला तर, शिक्षा क्षेत्रमा कोरोनाको असर दरगामी रुपमा पर्यो भन्ने मेरो बुझाई छ । यसको क्षति न्युनीकरण गर्नको लागि हामीले प्रयास त निकै गर्यौं । तर, त्यो प्रयासले पनि राम्रो प्रभाव पार्न सक्यो जस्तो मलाई लाग्दैन् । यसका लागि सरकार तथा निजीक्षेत्रको संयुक्त प्रयास आवश्यक छ ।
महामारीले सामुदायिक क्याम्पसमा कस्तो असर पर्यो ? त्यस असरबाट बौरिन कति समय वा स्रोत लाग्ने अनुमान गर्नु भएको छ ?
देशभरका सामुदायिक क्याम्पसहरु सामान्य आयस्रोत भएका जनताका छोराछोरीलाई पढाएर तिनै विद्यार्थीले दिएका शुल्कबाट चलेका छन् । राज्यले यसमा त्यति ठूलो सहयोग गरेको छैन । राज्यले उच्च क्षेत्रका अन्य क्याम्पसमा जति लगानी गरेको छ, त्यसको तुलनामा सामुदायिक क्याम्पसमा ३ देखि ५ प्रतिशत मात्रै लगानी गरेको छ ।
त्यो लगानीबाट समुदायिक क्याम्पसहरु चल्न सक्दैनन् । यी क्याम्पस विद्यार्थीको शुल्कबाट चल्ने संस्था हुन् तर विद्यार्थी नै कलेजमा छैन् । त्यसकारण सामुदायिक क्याम्पसको दैनिकी चल्नको लागि नै समस्या परिरहेको छ । र यो समस्या टाल्नको लागि दशौं वर्ष लाग्नेछ ।
विद्यार्थीको पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरुको सञ्चालन कसरी गर्नुभयो ? क्याम्पस वा विद्यार्थीमा शिक्षालाई निरन्तरता दिन के कस्ता समस्या देखिए ?
नेपालको सम्पूर्ण भागमा अझै पनि इण्टरनेटको सुविधा पुगिसकेको छैन् । कतिपय ठाउँमा त फोन सम्पर्क पनि हुन नसक्ने स्थिति छ । जसको कारण हाम्रा विद्यार्थीलाई कलेजका शैक्षिक तथा अन्य गतिविधिसँग जोड्नका लागि पनि केही समय लाग्यो । हामीले शुरुमा जुमबाट पढायौं ।
अहिले माइक्रोसफ्ट टिम्सबाट पढाउँदै छौं । तर, सबै विद्यार्थीलाई माइक्रोसफ्ट टिम्सबाट पढाउन संभव देखिएको छैन । यसका लागि निरन्तर काम गरिरहेको भए पनि कतिपय विद्यार्थीहरु अझै टिम्समा जोडिन सकेका छैनन ।
सेमेस्टरका भन्दा वार्षिक रुपमा परीक्षा हुने विषयमा यो समस्या धेरै देखिएको छ । यसका कारण भनेको विद्यार्थीको इण्टरनेटमा पहुँच कम हुनु र कतिपय विद्यार्थीमा केही समयपछि कक्षामा नै उपस्थित भईन्छ त्यही समयमा राम्रोसंग पढौंला अहिले जाँच आएको छैन् भन्ने सोच हुनु हो ।
भर्चुअल प्रणालीबाट पढाउँदा विद्यार्थीहरु सन्तुष्ट हुँदैनन् भन्ने कुरा यसले देखिएको छ । आमुन्नेसामुन्ने भएर पढाउँदा जुन प्रकारको सन्तुष्टी र उत्सुकता हुन्छ भर्चुअल माध्यमबाट पढाउदा त्यो सन्तुष्टी र उत्सुकता नहुने देखियो । त्यसकारण खोप व्यवस्थापन छिटोभन्दा छिटो भयो भने पठनपाठन उपयुक्त रुपमा अगाडि बढाउन सकिन्छ ।
शैक्षिक गतिविधि सञ्चालन गर्न सरकारका तर्फबाट कस्तो सहयोग, समन्वय वा सहजीकरण भयो ?
म सरकारलाई दोष दिने पक्षमा छैन तर हाम्रो देशको सरकारको उच्च ओहदामा रहेका व्यक्तिहरुलाई हाम्रो देशमा कति प्रकारका शिक्षा प्रणाली छन्, पठनपाठन कसरी भईरहेको छ, शिक्षाको अवस्था कस्तो छ भन्ने कुरा थाहै छैन् । म त शिक्षा क्षेत्र सरकारको पहुँचमै छैन् भन्छु ।
सरकारका आफ्नै गतिविधी छन् । सरकार के कुरामा आनन्द मानिरहेको छ मैले बुझ्न सकेको छैन् । जुन देशले शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान दिँदैन् त्यो देश आर्थिक रुपमा पछि पर्छ र दिर्घकालीन विकासका लक्ष्य पनि प्राप्त गर्न सक्दैन् । सामुदायिक क्याम्पसहरुमा अहिले जुन प्रकारका पठनपाठनसम्बन्धी काम भईरहेको छ, त्यो क्याम्पसकै क्षमताको कारण भएको हो । सरकारले गर्छ रे भन्ने कुरा सुन्न त पाएका छौं तर अनुभुति भने गर्न पाएका छैनौं ।
कोरोना संक्रमणको समयमा पब्लिक क्याम्पस संघको भूमिका कस्तो रह्यो ?
चेतना जतिसुकै माथी उठे पनि चेतनालाई ठिक ठाउँमा ल्याउनको लागि चाहिने महत्वपूर्ण कुरा भनेको वित्त नै रहेछ । त्यो चेतनालाई आर्थिक स्रोतले सहयोग गर्न सकेन भने लक्ष्य हासिल गर्न अप्ठ्यारो पर्दो रहेछ । सामुदायिक क्याम्पस भनेको राज्यलाई सहयोग गर्ने शैक्षिक संस्था हुन र यिनीहरुको लक्ष्य पैसा कमाउने हैन भन्ने कुरा सरकारले बुझ्न जरुरी छ ।
हामी सामुदायिक क्याम्पसहरुको बेग्लै विश्वविद्यालय बनोस् भन्ने चाहन्छौं । बेग्लैै विश्वविद्यालय बनाईदिने हो भने सरकारले पैसा दिनै पर्दैन । हामी सामुदायिक विश्वविद्यालय आफै सञ्चालन गर्न सक्छौं । बजारमा जुन विषयको माग छ हाम्रो क्याम्पसले त्यो विषय पढाउन पाउँदैन् । त्यही आर्ट्स, एजुकेशन, कमर्स पठाएर हामी कसरी राम्रा विद्यार्थी उत्पादन गर्न सक्छौं ।
साधारण शिक्षा पढेर सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्य पूरा हुने संभावना छैन । सामुदायिक क्याम्पसलाई छुट्टै विश्वविद्यालय बनाउने र राम्रा राम्रा विषय पढाउने हो भने त्यो लक्ष्य प्राप्त गर्न सकिन्छ ।
सामुदायिक तथा सरकारी क्याम्पसका विद्यार्थीहरु ग्रामिण क्षेत्रका भएकाले उनीहरुमा सूचना प्रविधिका उपकरणको अभाव तथा इण्टरनेटको गुणस्तरले भर्चुअल कक्षामा संलग्नता जनाउनमा समस्या परेको गुनासो निरन्तर आइरहेको थियो । त्यसको व्यवस्थापन कसरी भएको छ ?
यो कुरा विद्यार्थीको चेतना पनि भर पर्दो रहेछ । मैल पढ्नु पर्छ मेरै लागि हो र म जसरी पनि कक्षामा जोडिनु पर्छ भन्ने सोच राख्यो भने कसैले छेक्दैन् । म सुन्छु विद्यार्थीहरु भन्छन् डेटा महङ्गो भयो, बाटो खर्चले डेटा खर्च पुग्छ भने त्यो कसरी महङ्गो भो ? घरबाट क्याम्पस आउँदा तिर्ने भाडाको पैसाले विद्यार्थीले डेटा किन्न सक्छन् । फेसबुक चलाउनको लागि डेटा पुग्ने, पढ्नको लागि नपुग्ने, यस्तो पनि हुन्छ ? समुदायिक क्याम्पसमा पढ्ने विद्यार्थीहरु गरीबका छोराछोरी हुन्छन् पनि भन्छन् । तर म यस विषयमा मानिस भन्दापनि चिन्तन गरीब हुँदा समस्या आएको हो भन्छु ।
कोरोनाले शहर र गाउँका विद्यार्थी तथा शैक्षिक गतिविधिमा कस्तो फरक देखायो ? कस्तो मनोवैज्ञानिक असर परेको देख्नुभयो ?
कोरोनाले धेरै मनोवैज्ञानिक असर पार्यो । सबैमा त्रास बढायो । यसमा गाउँका वा शहरका भन्ने छैन् । त्यसमा पनि गाउँका बच्चाहरु कोरोनाको समयमा पनि शरहका बच्चाहरुको तुलनामा स्वतन्त्र भए । यो राम्रो पक्ष हो । तर शहरमा भएका बच्चाहरु घरभित्रै कैद भए ।
त्यसकारण गाउँका बच्चाहरु मानसिक रुपमा केही स्वतन्त्र भए । कोरोनाको कारण शैक्षिक गतिविधी केही कम भएपनि सिक्न चाहने विद्यार्थीको लागि थुप्रै बाटोहरु निस्किए र त्यसबाट धेरैले लाभ पनि लिएको देखिएको छ ।
भोलिका दिनमा यस्ता प्रकारका संक्रमणले असर नगरोस् भन्नको लागि क्याम्पस र सरकारले के गर्नु पर्ला ?
सरकारसँग कुन नागरिकको अवस्था कस्तो छ भन्ने तथ्यांक तथा सूचना हुनुपर्यो । त्यस्तै, क्याम्पसहरुसँग पनि विद्यार्थी भर्ना हुँदा कुन विद्यार्थीको आर्थिक अवस्था कस्तो छ भन्ने जानकारी हुनुपर्छ । ति कमजोर विद्यार्थीलाई कसरी सहयोग गर्न सकिन्छ, र के के गर्न सकिन्छ भन्ने विषयमा क्याम्पस र सरकार दुवैले ध्यान दिनुपर्छ ।
कोरोनाको त्रास जारी नै छ, यस्तो अवस्थामा नयाँ विद्यार्थीको भर्ना दर कस्तो छ ?
जनमैत्री बहुमुखी क्याम्पस निम्न मध्यम वर्गीय परिवारका बच्चाहरुको आर्कषणको केन्द्र हो । अहिले ति परिवारका बच्चाहरु गाउँबाट काठमाडौं आउनको लागि समस्या छ । धेरैजसो बिहान पढ्न र दिउँसो केही काम गर्न चाहन्छन् । अहिलेको समयमा रोजगारको सम्भावना निकै कम छ, त्यसकारण उनीहरु काठमाडौं आएका छैनन् । तर, कोरोना कहर कम भएसँगै क्याम्पसमा नयाँ विद्यार्थी भर्नाको दर पनि बढ्दै गएको छ ।
स्थानीय निकायको समन्वयमा स्कुल, कलेज खोल्न पाउने भनिएको छ, के दशैं अगाडी क्याम्पस सञ्चालन गर्न सम्भव छ ?
दशैं अगाडी क्याम्पस खोल्ने तयारी हुन्छ । हाम्रो क्याम्पसमा धेरै जिल्लाका विद्यार्थी रहेका कारण दशैंअघि क्याम्पस खोल्ने निर्णय गर्दा विद्यार्थी आउने जाने गर्दा झनै समस्या हुनसक्छ । त्यसकारण दशैंसम्म भर्चुअल कक्षा नै सञ्चालन गर्ने र प्रत्यक्ष उपस्थितीमा कक्षा सञ्चालन भने दशैंपछि मात्र हुने संभावना छ ।