प्रकाश सपूत र शम्भू राई विवाद, युट्युब दर्शक बढाउने काइदा !

नेपाली संगित तथा मनोरन्जन क्षेत्रमा अहिले प्रकाश सपूत र शम्भु राई विवाद उत्कर्षमा छ । यूवा गायक प्रकाश सपूतले गाएको गीत ‘गलबन्दी’ले चर्चा कमाउन थालेसँगै पुराना गायक शम्भु राई ‘आफ्नो आऊ नाचौं साथी हो’सँग मिलेको भन्दै चर्चामा आए ।

रमाइलो पक्ष के छ भने शम्भु राई नयाँ पुस्ताका दर्शक स्रोताबीच पहिचान हराइसकेका सर्जक थिए । उनलाई यो विवादले यूवा पुस्तामा पुनः चिनाउन सफल भएको छ ।

उनका गीत पुनः युट्युबमा सर्च हुन थालेका छन् । त्यसो त प्रकाश सपूतलाई पनि विवादले कुनै हानी गरेको छैन । किनकी जति विवाद बढ्दै गयो, त्यति उनको सिर्जना धेरै दर्शक, स्रोताबीच पुग्छ ।

किनकी संचारमाध्यमले यी दुबै गीतका युट्युब लिंकसहित विवादका समाचार शेयर गरिरहेका छन् । यसले अन्ततः दुबै गायकलाई आर्थिक लाभ दिने कुरामा कुनै दुई मत छैन ।

उता, युट्युवको खेती गरि आफ्ना भान्सा चलाउने हरुका लागि पनि उनीहरुबीचको विवाद काइदाको विषय बनेको छ । चाहे जातीय विषय उचालेर होस या एक अर्काका समर्थक उचालेर होस, युट्युवमा आफ्नो दर्शक संख्या बढाउन तल्लिन देखिन्छन् ।

सडकदेखि सदनसम्म

दुई गायकबीचको सिर्जना चोरीको विवाद अब केवल चिया पसल र आम नागरिकबीचमा मात्र सिमित छैन । यो विवादले सदनमा समेत प्रवेश पाएको छ । सदनमात्र होइन, प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा समेत यो विवाद दर्ता भइसकेको छ ।

कार्यालयले दुबै गायकलाई मिल्न सक्ने कुनै स्थान भए मिलेर सहमतिमा आउन तीन दिनको समय सोमबार दिइसकेको छ । राईले सपूतको गीत आफ्नो गीतसँग हुबहु मिलेको भन्दै प्रतिलिपी अधिकार रक्षाको माग गर्दै सरकारी निकायमा धाएका हुन् ।

तर, प्रतिलिधि अधिकार कार्यालयले दिएको समय सीमा भित्र यी दुई गायक मिल्ने सम्भावना छैन । किनकी राई यो सिर्जनामा आफ्नो पनि योगदानको कतै उल्लेख हुनुपर्ने अडानमा छन् । सपूत भने आफुले सिर्जना सारेको मान्न तयार नै छैनन् । यस्तो अवस्थामा यो विवाद अझ बढी उचालिने सम्भावना देखिन्छ ।

सोमबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप लगाए । प्रकाश सपूत र शान्ति सिंह परियारको विषय उठाउँदै उनले यसमा सरकारको गम्भीर ध्यानाकर्षण होस् भन्ने माग समेत गरे ।

प्रकाश सपूत र शान्ति परियारमाथि जातिय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्दा लगाउने काम भएको उनको आरोप छ ।

सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भातृसंस्थामा आवद्ध शभ्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्दा हालेको प्रसंग उल्ल्लेख गर्दे उनले गाउँघरमा मेलापात जाँदा स्वतःस्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु लज्जास्पद भएको बताए ।

उनको यो भनाईमा गम्भीर हुनु जरुरी छ । प्रकाश सपूत कुनै जात विशेषका गायक होइनन्, उनी नेपाली जनताको जनजिब्रोमा बसिसकेका लोकप्रिय गायक हुन् । उनको यो लोकप्रियताको सामान्य हेक्का समेत नराखी सामाजिक संजालमार्फत अपमानित गर्ने काम निन्दनीय छ ।

कोही कसैमाथि पनि जातीय भेदभाव राखेर गरिने टिप्पणी सधैभरी निन्दनीय हुन्छ र हुनु पनि पर्छ । सामाजिक संजालमा प्रकाश र शान्तीश्रीमाथि आएका जातीय टिप्पणीकर्तालाई छानीछानी कानूनि दायरामा ल्याउनु पर्छ ।

किनकी सामाजिक संजाल कसैमाथि होच्याउन, नकारात्मक टिप्पणी गर्न र अपमान गर्न बनाइएको थलो पक्कै होइन ।

अबको विकल्प के हो ?

गायकद्धयले मुद्दा मामिलामा गएर अब समय खेर फाल्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु बराबर हो । अब दुबैले निर्णयको अधिकार जनतामा छाड्नुपर्छ ।

गाउँघरमा प्रचलित जनभाकालाई प्रकाश सपूतले संगीत दिएर आकर्षक बनाए या शम्भू राईको सिर्जना चोरे ।

यसको फैसला जनताकै बीचमा छाडेर सांगितिक क्षेत्रलाई अझ स्वच्छ र गरिमामय राख्नु मै यी दुबै गायकको हितमा हुनेछ । नत्र, यो विवादले यूट्युवमा दर्शकको संख्या बढाउने नाजायज कदमबाहेक कुनै गतिलो संकेत गर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here