-हर्षवर्धन साहनी
क्लिन फिड अर्थात विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रशारण हुने नीति नेपालमा लागु गर्ने चर्चा चलेको केही वर्ष भयो तर मुलुकलाई बहुआयामिक फाइदा दिने यो नीतिको कार्यान्वयन गर्न हरेक सरकारहरुले आलटाल गर्दै आएका छन् । उद्योगका नेतृत्व, विज्ञापन क्षेत्र र सरोकारवालाहरु सबैले एक स्वरमा यस बारेमा बोल्नुपर्ने बेला आएको छ । क्लिन फिड नहुनुलाई म व्यक्तिगत रुपमा नेपाली अर्थतन्त्र वृद्धिको ठूला अवरोधमध्ये एक मान्छु ।
क्लिन फिड लागु भयो भने मुलुकभित्र प्रशारण हुने विदेशी टीभी च्यानलबाट नेपालमा उत्पादन भएका र बिक्री हुने आयातित उत्पादनहरुको लागि स्वदेशमै निर्मित टेलिभिजन विज्ञापन (टीभीसी) प्रशारण गरिन्छ । त्यस्ता विज्ञापन राष्ट्रिय र स्थानीय विज्ञापन कम्पनीहरुले स्थानीय भाषा र स्थानीय कलाकारको प्रयोग गरी बनाएका हुन्छन् । क्लिन फिड नीतिले नेपालमा उत्पादन भएका उत्पादनहरु र आयातित उत्पादनहरु बीचको स्वस्थ प्रतिस्पर्धाको आधार तयार गर्छ ।
विश्वका प्राय सबै देशहरुमा यो नीति लागु भइसकेको छ । नेपालका छिमेकी देशहरु भारत, चीन, बंगलादेश र श्रीलंकामा पनि कडा क्लिन फिड नीति रहेको छ । संयुक्त राज्य अमेरिकामा त अन्तरराज्य क्लिन फिड नीति समेत लागु भएको छ । यदि हामीले एउटै फुटबल म्याच न्यूयोर्क र टेक्ससमा हेरिरहेका छौं भने टीभीमा देखाइने विज्ञापनहरु फरक फरक हुन्छन् । क्लिन फिड नीतिले स्थानीय मिडिया हाउस र स्थानीय व्यापारलाई सहयोग गर्छ । तर, आश्चर्यलाग्दो कुरा यो नीति नेपालमा अझै पनि लागु भएको छैन ।
त्यो देश जहाँ व्यापार घाटा तिव्ररुपमा बढीरहेको छ उसैले अझैसम्म पनि अरु देशका टिभी विज्ञापनहरुलाई आफ्नो देशका टीभी च्यानलहरुमा बेरोकतोक प्रशारण हुन दिइरहेको छ । क्लिन फिड नीति लागु गर्न सरकार हिच्किचाउनु पनि नेपालमा तिव्र रुपमा व्यापार घाटा बढ्नुको एक मुख्य कारण हो ।
नेपालमा सबैभन्दा धेरै हेरिने टीभी च्यानल सोनी, जी र स्टारप्लस हुन् । इन्डियन आइडल र सारेगम जस्ता शोहरुले नेपाली दर्शकलाई घन्टौंसम्म सोफामा टाँसिने बनाइदिएका छन् । ब्राण्डिङ र बजारीकरणको सबैभन्दा प्रभावकारी माध्यमको रुपमा टीभी च्यानलमा प्रशारण हुने विज्ञापनलाई लिइन्छ । अधिकांश नेपालीहरुले भारतीय टीभी च्यानलमा ती शोहरु हेर्छन् जहाँ उत्कृष्ट दृश्यसहित आँखै रसाउने, मनै लोभ्याउने र भावनात्मक रुपले ब्ल्याकमेलिङ गर्ने टिभी विज्ञापनहरु आउँछन् । ती विज्ञापनले ती उत्पादन बिना तपाईंको जीवन नै अधुरो भएजस्तो भान पार्छन् ।
क्लिन फिड नीतिले विदेशी टीभी च्यानलहरुलाई तिनै कार्यक्रमहरु प्रशारण गर्न दिन्छ तर विदेशी विज्ञापन बिना । विज्ञापन विश्राम (कमर्शियल ब्रेक)मा उनीहरुले नेपाली दर्शकका लागि र यहाँ विक्री हुने उत्पादनका लागि नेपालमै बनेका नेपाली विज्ञापनहरु बजाउनुपर्ने हुन्छ । यो नीति तत्काल लागु गराउनको लागि प्रविधि अहिले नै उपलब्ध छ मात्रै कार्यान्वयन गर्ने चाहना हुनुपर्छ ।
बच्चाको लागि डायपर, प्रेमीका लागि चकलेट, घरायसी उपकरणहरु र अन्य विभिन्न चीजहरु जुन हाम्रो दैनिक जीवनको लागि आवश्यक हुन्छ त्यस्ता उत्पादनहरु टिभीमा आकर्षक रुपमा देखाइन्छ । त्यसैको नतिजास्वरुप भारतीय उत्पादनहरुले नेपाली बजारमा सजिलै आफ्नो स्थान बनाइरहेका छन् । भारतीय उत्पादनहरु आयात गर्नको लागि नेपालले अमेरिकी डलर साटेर भारतीय रुपैयाँ किन्ने गर्छ । हामीले हाम्रा धेरै दाजुभाई दिदीबहिनीहरुलाई विदेशमा काम गर्न पठाउँछौं । उनीहरुले आफ्नो ज्यानकै बाजी थापेर भएपनि नेपालमा रेमिट्यान्सको रुपमा अमेरिकी डलर पठाउँछन् ।
त्यसो भए क्लिन फिड नीति लागु गर्न कसले रोकेको छ त ? के यो लविङ ट्रेडर्स सिन्डिकेटहरुको त होइन जसले यी उत्पादनहरु ठूलो नाफा राखेर बेच्छन् जसको लागि थोरै बजारीकरण शुल्क पनि लाग्दैन ? हो, मेरो जस्ता विज्ञापन एजेन्सीहरुको क्लिन फिड लागु गराउन निहित स्वार्थ हुन सक्छ, तर यसको फाइदा भने हाम्रो कल्पनाभन्दा धेरै विराट छ ।
उदाहरणको लागि भी–चित्रले नेपालमा विश्वस्तरीय सेनिटरी प्याड उत्पादक कम्पनीको लागि विज्ञापन बनाउँछ । तपाईंले प्रत्येक भारतीय सेनिटरी प्याड ब्राण्डको नाम सुन्नुभएको छ होला तर नेपाली ब्राण्ड ‘सेफ्टी’को बारेमा न त सुन्नुभएको छ न त प्रयोग नै गर्नुभएको छ । म आफैलाई पनि पहिले शंका लागेको थियो तर, कम्पनीले हामीलाई केही नमुना प्याकेटहरु दियो । मैले हाम्रो कम्पनीका महिला स्टाफहरुलाई त्यो प्रयोग गर्न भनेँ । उनीहरु ती प्याडको प्रयोगपछि सन्तुष्ट भए, त्यो उत्पादन उत्कृष्ट गुणस्तरका भनिएका उत्पादन जत्तिकै राम्रो थिए ।
यसले हामीलाई नेपाली बजार र हाम्रो दैनिक जीवनमा भारतीय उत्पादनहरुको दबदबाको बारेमा सोच्न बाध्य बनाएको छ । हामीले आफ्नो अनुभवबाट महसुस गर्यौं कि भारतीय उत्पादनहरु प्रतिको मोह तीनको विज्ञापन टिभीमा लामो समयसम्म हेर्नुको नतिजा हो । मेरो मुद्दा भारतीय उत्पादनविरुद्ध होइन तर यो विशुद्ध अन्यायको मुद्दा हो ।
असमान प्रतिस्पर्धा
भारतीय कम्पनी र उत्पादनहरुले ब्राण्डिङ एवम् मार्केटिङमा अर्बौं रुपैयाँ खर्चिन्छन् । ती कम्पनीहरुमा ब्राण्डिङ र मार्केटिङका लागि उत्कृष्ट टीमले निरन्तर काम गरिरहेको हुन्छ जसले विना बजेट अवरोध उत्कृष्ट विज्ञापन तथा सञ्चार रणनीतिको सिर्जना गर्छ । केही नेपाली व्यापारीहरुले त्यही उत्कृष्ट सञ्चारशैलीबाट निःशुल्क लाभ लिइरहेका छन् । उनीहरुले ब्राण्डिङ र मार्केटिङमा सुको पैसो खर्चिनु पर्दैन किनकि भारतीय टिभी च्यानलबाट आउने विज्ञापनले उनीका लागि त्यो काम निःशुल्क गरिरहेको छ । त्यस्तो अवस्थामा कसरी नेपाली उत्पादनले भारतीय तथा अन्य बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छन् ?
तपाईं भन्नुहोला, नेपाली कम्पनीले पनि ब्राण्डिङ र मार्केटिङमा खर्च गरे भैगो नि । तर, त्यसरी उत्पादनको प्रवद्र्धनमा ठूलो रकम खर्च गर्ने हो भने नेपाली उत्पादनको मूल्य झन माथि जानेछ र विदेशी उत्पादनसँग झनै प्रतिस्पर्धा गर्न नसक्ने बन्ने छन् । अर्कातर्फ नेपाली कम्पनीले आफ्ना उत्पादनको थप प्रवद्र्धन नगरि पनि सुख छैन किनकि बजारमा त तिनै भारतीय वा बहुराष्ट्रिय कम्पनीका उत्पादनको बोलबाला छ ।
यो ज्यादै असमान प्रतिस्पर्धा हो । आफ्ना हात बाँधेर माइक टाइसनसँग बक्सिङ खेल्न जानुजस्तै हो । अझ यति मात्र कहाँ हो र ? नेपाली टीभी च्यानलहरुले भारतीय टीभीसीलाई नै नेपालीमा डबिङ गरेर देखाइरहेका छन् । क्लिन फिड नीति लागु हुने हो भने यो परिदृष्यमा ज्यादै ठूलो परिवर्तन आउने पक्का छ ।
क्लिन फिडका फाइदा
क्लिन फिडले धेरैलाई फाइदा दिने छ । नेपाली कलाकार र खेलाडी तथा अन्य सेलिब्रिटीहरुले नयाँ ब्राण्डको विज्ञापनमा खेल्ने तथा ब्राण्ड एम्बेसडर बन्ने मौका पाउने छन् । नेपाली कलाकारको मूल्य बढ्ने छ भने उनीहरुको पहिचान पनि विस्तार हुनेछ । धेरै नेपाली युवाले विज्ञापन निर्माणमा रोजगारी पाउने छन् जसले जनशक्ति पलायनलाई केही मात्रामा भए पनि रोक्न मद्दत गर्नेछ । स्थानीय मिडियाको आम्दानी अहिले भइरहेकोमा ५० देखि ८० प्रतिशतले बढ्नेछ । सरकारलाई पनि थप राजश्व प्राप्त हुने छ । अहिले टीभी विज्ञापनको बजार हिस्सा कुल विज्ञापनको १५ प्रतिशत मात्रै छ । क्लिन फिड लागु भए पनि यो बजार उल्लेख्य मात्रामा बढ्नेछ ।
त्यसैगरी यसले नेपाली उद्योग तथा व्यवसायलाई समान प्रतिस्पर्धाको अवसर दिने छ । नेपाली उत्पादनको बजार बढ्नु भनेको थप रोजगारी सिर्जना हुनु हो । यसले ब्यापारलाई विस्तारै निरुत्साहित गर्नेछ भने उत्पादनमुलक उद्योगमा आकर्षण बढ्ने छ । यसले नेपाली उद्यमीहरुलाई पनि अझ इनोभेटिभ बन्न प्रोत्साहित समेत गर्ने अपेक्षा लिन सकिन्छ । यसरी नेपाली उद्योग र उत्पादनको प्रवद्र्धन हुँदा निर्यात व्यापार बढ्न गई ब्यापार घाटा कम हुनेछ ।
त्यसैले क्लिन फिड नीतिविरुद्ध लाग्नेहरु राष्ट्रद्रोही हुन् । उनीहरुको अस्वस्थ व्यावसायिक गतिविधिका कारण धेरै नेपाली उद्योग तथा ब्राण्डहरु मरिरहेका छन् भने कतिपय आफ्नो क्षमताअनुसार चल्न सकेका छैनन् । तपाईंलाई लाग्दो हो, म त टीभी विज्ञापनबाट प्रभावित भएको छैन ।
(साहनी भी–चित्र एडभर्टाइजिङका संस्थापक तथा प्रवन्ध निर्देशक हुन्)