कोरोनाविरुद्ध खाने चक्कीले पहिलो पटक बेलायतबाट पायो अनुमति

Photo : BBC

१८ कात्तिक, लण्डन । लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि निर्माण भएको पहिलो खाने चक्कीले बेलायतमा प्रयोगको अनुमति पाएको छ । बीबीसीका अनुसार बेलायती औषधि नियामक निकायले अनुमोदन गरेसँगै अब औषधीको प्रयोग गर्ने बाटो खुलेको छ ।

मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइने बीबीसीले लेखेको छ । शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

यूकेका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती महत्त्वपूर्ण हुने बताएका छन्। कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ ।

मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा खान सकिनेछ।

कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ।

कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल भएको संस्थाकी प्रमुख कार्यकारी जुन रेनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here