ग्लोबल साइबर सेक्युरिटी समिट सम्पन्न, साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड

क्लाउडपत्रिका

काठमाडौं, १२ साउन । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ ।

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट)को मुख्य आयोजना र आइसिटी फ्रेमको सहआयोजनामा आयोजित समिटमा साइबर अपराध, साइबर नीति र कानून तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको छ ।

समिटले साइबर सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सरोकारवालाहरुबीच सहकार्य हुनुपर्ने निश्कर्ष निकालेको छ । कार्यक्रमको उद्घाटनसत्रमा प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले साइबर सुरक्षा चुनौतीलाई न्यूनिकरण गर्न सामूहिक प्रयास आवश्यक रहेको भनाइ राखे ।
समिटका मुख्य वक्ता आइक्यान एसिया प्यासिफिकका रिजनल सेक्युरिटी, स्टाबिलिटी एन्ड रेजिलेन्सी

म्यानेजर चाम्पिका वाइजायातुङ्गाले डोमेन नेम सेक्युरिटीका लागि विश्वभर अझै चेतना अभिवृद्धि हुन नसकेको बताए । उनले नेपालको राष्ट्रिय डोमेन (डट एनपी) पनि डोमेन नेम सेक्युरिटीमा पर्न नसकेको जानकारी दिए । उनले नेपालको राष्ट्रिय डोमेनलाई सुरिक्षत गर्न साइबर सेक्युरिटीका विज्ञहरुको सामुहिक प्रयास आवश्यक भएको बताए ।

समिटमा साइबर सुरक्षासम्बन्धी विभिन्न विषयवस्तुमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, अमेरिका र बेलायतका वक्ताहरुले प्रस्तुति दिएका थिए । सोअवसरमा क्लाउड कम्प्युटिङ एन्ड सेक्युरिटी, म्यानेजिंग रिस्क इन डिजिटल इनभायरोमेन्ट, थ्रेट इन्टेलिजेन्स सेयरिङ, युनिफाइड थ्रेट म्यानेजमेन्ट, साइबर सरक्षाका लागि सचेतनालगायतका विषयमा वक्ताहरुले पेश गरेका कार्यपत्रमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।

साथै साइबर सेक्युरिटी रेजिलेन्स विषयमा दुई चरणमा विज्ञहरुबीच प्यानल छलफलसमेत भएको थियो । समिटमा सरकारी, व्यवसायिक, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, शैक्षिक संस्थालगायका क्षेत्रबाट करीब २ सय जनाको सहभागिता रहेको थियो ।

समिटकै अवसर पारेर पहिलो दिन शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय कृषि तथा अनुसन्धान केन्द्र (नार्क)मा प्रि–समिट वर्कसप आयोजना गरिएको थियो । वर्कसपमा ‘साइबर सेक्युरिटी टेक्नोलोजी’ र ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा सहभागीहरुलाई विभिन्न विधाका विज्ञहरुले क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए ।

समिटको शीर्ष प्रायोजकमा नेटवर्किङ तथा सेक्युरिटी कम्पनी सिस्को रहेको थियो भने अन्य प्रायोजकहरुमा टेक्सास कलेज, लग प्वइन्ट, चेकप्वइन्ट सफ्टवेयर टेक्नोलोजिज लगायत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here