शेयर बजारमा उच्च अंकको गिरावट, परिसूचक चालू आर्थिक वर्षकै न्यून बिन्दुमा

काठमाडौं, २२ मंसिर । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन दिन शेयर बजार मापक सूचक नेप्से ५३.१० अंकले घटेर २४५५.८१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६१९ रुपैयाँ बराबरको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्सका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर २६ अङ्कले, विकास बैंकको एक सय ५१, होटलको ७५ , फाइनान्सको ७४, माइक्रोफाइनान्सको १२५ र जलविद्युत् समूहको शेयर ८९ ले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर १७० अङ्कले, जीवन बीमा समूहको २९४ अङ्कले, निर्जीवन बीमा समूहको २३५ घटेको छ । र अन्य समूहको शेयर २२ अङ्कले घटेको छ ।

मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजार बुधवार चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको छ।

गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिन असार ३१ गते बजार ३०२२.११ मा पुगेर रोकिएको थियो।

उच्च अंकले घटेको बजारमा आज सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ८.५४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक ८.३०, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त, सामलिङ पावर र जनउत्थान लघुवित्तको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नेपाल टेलिकम पौने ११ करोड र हिमालयन डिस्ट्रीलरी ९ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

मौद्रिक नीति सार्वजनिक हुनभन्दा एक दिन अगाडि साउन २८ गते नेप्से परिसूचक ३१७८ को अंकमा पुगेर बजार रोकिएको थियो।

साउन २८ गते नेप्से १६ अंकले बढेर कारोबार बन्द भएको थियो। मौद्रिक नीतिको समीक्षा हुनअगाडि मंसिर ९ गते बजार २७३१.७८ मा रोकिएको थियो ।

त्यसपछि निरन्तर घटको शेयर बजार मंसिर २१ गते मंगलवार सबैभन्दा न्युन विन्दु २५०८.९१ अंकमा आइपुगेको थियो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेसँगै बजार निरन्तर ओरालो लागि रहेको छ ।

राष्ट्र बैंकले अघिल्लो सार्वजनिक गरेको समीक्षामा शेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिए बिक्रीको चाप बढ्दै गएको छ । जसका कारण शेयर बजारमा भारी गिरावट आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here