शेयर बजार वियरिस ट्रेण्डको त्रास, साना लगानीकर्ता डरमा, ठूला पर्ख र हेरको अवस्थामा

काठमाडौं, २६ मंसिर । नेपाली शेयर बजार वियरिस ट्रेण्डमा जान लागेको संकेत देखिएको छ। लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निरासा छाएको छ।

अझ नयाँ लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्। बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ।

नेपालमा बैंकिङ तरलता र ब्याजदरले शेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। राष्ट्र बैंकको नीतिले बजार प्रभावित हुँदै आएको छ।

अब तरलता अभाव हुँदै छ भन्ने भेउ पाएर शेयर बिक्री गरेकाहरू शेयर बजारमा नछिर्ने अनि सर्वसाधारण लगानीकर्ताले पनि बिक्री गर्ने अवस्था सिर्जना भयो भने निश्चय नै बियरिस ट्रेण्डमा जाने निश्चित देखिएको छ ।

सामान्यतः उच्चतम अंकबाट २० प्रतिशतभन्दा तल बजार झरेमा बियरिस ट्रेण्डमा गएको बुझ्ने गरिन्छ। नेपालको पुँजीबजारमा तरलताले विशेष प्रभाव पारेको देखिन्छ। बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा बजार घट्ने गरेको देखिन्छ।

जब बैंकमा तरलता बढी हुन्छ, उनीहरु सस्तो ब्याजदरमा शेयर कर्जा दिन थाल्दछन्, ठूला लगानीकर्ता त्यसको प्रयोग गर्छन्, जसले कारोबार बढी हुन्छ र बजार बढ्छ, तर जब तरलता सङ्कट आउँछ ।

उनीहरु निक्षेप बढाउन ब्याजदर बढाउने र कर्जा दिन नसक्ने अवस्थामा पुग्छन् तब शेयर कारोबार घट्ने गरेको छ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३२०० माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो।

त्यसको अघिल्लो दिन बजार ३१९९.३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा छ। नेप्से घट्दै आइतबार नेप्से ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा कारोबार बन्द भएको छ।

मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजार आइतबार चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको छ।

गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिन असार ३१ गते बजार ३०२२.११ मा पुगेर रोकिएको थियो।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा शेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेसँगै बजार निरन्तर ओरालो लागि रहेको छ ।

राष्ट्र बैंकले अघिल्लो सार्वजनिक गरेको समीक्षामा शेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिए बिक्रीको चाप बढ्दै गएको छ । जसका कारण शेयर बजारमा भारी गिरावट आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here