अर्बौंका मोटरसाइकल कवाडी बन्दै, समयमै ‘अक्सन’ नहुँदा समस्या

सांकेतिक तस्वीर

-जितेन्द्र खनाल

काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा रहेका विभिन्न ट्राफिक कार्यालयहरुमा जाँदा हामीले धुलाम्मे अवस्थामा रहेका धेरै मोटरसाइकलहरु देख्न सक्छौं ।

चोरी भएर प्रहरीले समातेका, विभिन्न प्रकारका मुद्दामा परेका, दुर्घटनामा परेका, कर नतिरेका जस्ता कारणले ट्राफिक प्रहरीकोमा धेरै मोटरसाइकलहरु आइपुग्छन् ।

ट्राफिक प्रहरी कार्यालयमा लामो समयसम्म यस्ता मोटरसाइकल थुप्रिँदा पार्किङको त समस्या भएको छ नै राज्यलाई पनि अर्बौं रुपैयाँ घाटा भइरहेको छ ।

नयाँ मोटरसाइकलहरु पनि घाम, पानी माटोको कारण खिया लागेर थोत्रो भइसकेका छन् । साथै लामो समयसम्म नचल्दा अधिकांश मोटरसाइकल त इन्जिन नै बिग्रिएर कामै नलाग्ने वा नचल्ने भइसकेका छन् ।

बेलाबेलामा यस्ता मोटरसाइकलको ‘अक्सन’ गर्ने हो भने सरकारले अर्बौं रकम राजश्व उठाउन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक रबि कुमार पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘यस्ता सवारी साधनहरु देशभरका ट्राफिक कार्यालयहरुमा धुलो, माटो, पानी, असिना तथा अन्य कारणले बिग्रेर, खिया लागेर जाने गरेको छ ।’

ट्राफिक प्रहरी कार्यालयमा यसरी थुप्रिनेमा सबैभन्दा धेरै चोरी भएर प्रहरीले समातेका मोटरसाइकलहरु छन् ।

चोरी भएको उजुरी गरीएका मोटरसाइकल तत्कालै भेटिएमा धनी पत्ता लगाएर फिर्ता दिन सजिलो हुने भएपनि धेरै मोटरसाइकल लामो समयपछि मात्रै फेला पर्ने भएकाले धनी सम्पर्कमा आउँदैनन् ।

मोटरसाइकल चोरी गर्नेले नम्बरप्लेट परिवर्तन गर्ने भएकाले पनि वास्तविक धनी पत्ता लगाइ फिर्ता दिन समस्या हुन्छ ।

पुराना मोटसाइकलको कर तिर्नुभन्दा नयाँ किन्नु नै फाईदा हुने हुनाले पनि धेरै मानिसहरु हराएका मोटरसाइकल लिन नआउने गरेको पौडेलले बताए । धेरैले मोटरसाइकल हराएपछि बीमाबाट क्षतिपूर्ती लिने भएकाले पनि हराएको मोटरसाइकलमा धेरै चासो नदिने उनको अनुभव छ ।

काठमाडौंमा चोरिएका मोटरसाइकल गाँउमा

विशेषगरी काठमाडौं लगायतका शहरी क्षेत्रमा चोरी भएका मोटरसाइकल गाउँमा धेरै चलिरहेको पाइने पौडेल बताउँछन् ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार प्राय सबै मोडल र ब्राण्डका मोटरसाइकलहरु चोरी हुने गरेपनि धेरै मात्रामा भने पल्सर ब्राण्डको मोटरसाइकल चोरी हुन्छ ।

‘चोर्न पनि सजिलो हुने र बिक्री पनि सजिलै हुने कारणले पनि चोरहरुको पहिलो रोजाईमा पल्सर परेको हुन सक्छ’ उनले भने, ‘काठमाडौंमा बेच्न गाह्रो हुने भएकाले चोरीका मोटरसाइकल बिक्री हुन भनेको गाउँमा नै हो ।’

गाउँमा धेरै मात्रामा पल्सर मोटरसाइकलको माग हुने कारणले पनि चोरहरुको आँखा पल्सरमा नै जाने उनको भनाई छ ।

काठमाडौंमा चोरी भएका अधिकांश मोटरसाइकल काठमाडौं नजिकैका धादिङ, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटका गाँउमा पुग्ने पौडेल बताउँछन् ।

‘उपत्यकाबाट नजिकको स्थान भएको कारण पनि धादिङ, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटमा धेरै मात्रामा बाईक चोरी र बिक्री हुने गरेको हुनसक्छ,’ उनले भने ।

यस्तो छ तथ्यांक

उपरीक्षक पौडेलका अुनसार नेपालभर ट्राफिक प्रहरीसँग मात्रै अर्बौं रकम बराबरको चारी वा अन्य प्रकृयाबाट आएका मोटरसाइकलहरु रहेका छन् ।

पौडेल भन्छन् ‘कुनै कुनै त भर्खर निकालेका नयाँ मोटरसाइकलहरु पनि आउने गर्दछन् र ती पनि बिग्रेर नै जान्छन् ।’

आर्थिक वर्ष २०७५/७६ मा उपत्यकामा मात्रै १५ सय ५० भन्दा धेरै मोटरसाइकल चोरी भएको उजुरी परेको थियो ।

सो अवधिमा जसमध्ये ४ सय ६७ वटा मोटरसाइकललाई अनुसन्धानमा ल्याइएको ट्राफिक प्रहरीले बताएको छ ।

विभिन्न प्रकारका मुद्दामा परेका ५५ वटा र चोरीका २ सय २० मोटरसाइकललाई पनि सम्बन्धत धनीको जिम्मा लगाएको उपरिक्षक पौडेलले बताए ।

विभिन्न घटनाहरुबाट ट्राफिक प्रहरीकोमा आइपुगेका ती मोटरसाइकलहरु लामो समयसम्म धूलो, पानीमा राख्दा बिग्रन्छन् । त्यस्ता मोटरसाइकलहरुलाई सरकारले अक्सनमा राखी बिक्री गरेमा ठूलो राजश्व संकलन हुने देखिन्छ ।

धेरै ट्राफिक कार्यालयहरुमा त यस्ता साधनहरुले गर्दा अन्य सवारी साधन पार्किङको लागि समस्या बन्दै गएको देख्न सकिन्छ ।

यस्ता मोटरसाइकलको अक्सन कसरी हुन्छ ?

प्रहरी उपरीक्षक पौडेलका अनुसार यस्ता मोटरसाइकलहरुलाई अक्सनमा राख्नको लागि सरकारबाट नै निर्णय हुनुपर्छ ।

‘यस विषयमा प्रहरीको कुनै प्रकारको भुमिका हुँदैन् सरकारले जस्तो निर्णय गर्छ हामीले त्यसै अनुसार काम गर्नुपर्छ ।’

यस्ता सवारी साधनहरुलाई अक्सनमा लागेर बिक्री गरेमा सरकारले नै अर्बौं रकम राजश्व उठाउन सक्छ र त्यो रकम अन्य कुनै राम्रो ठाँउमा खर्च गर्न सकिन्छ ।

धेरै पहिले एक पटक यस्तो अक्सन भएको र त्यसमा मोटरसाइकलहरु बिक्री गरीएको उपरीक्षक पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here