कोरोना नियन्त्रणको कडाइसँगै उपभोग्य वस्तुको मूल्य वृद्धि, खाने तेल २० रूपैयाँ महँगियो

काठमाडौं, १३ जेठ । नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गरेपछि व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् ।

पछिल्लो समय औषधि लगायत दाल, चामल, खानेतेल, पाउरोटी, आटा चिनी, तेल लगायतको मूल्य आफूखुशी बढाएका छन् ।

चामलको मूल्य २५ केजीको प्रतिबोरामा ३० देखि ४० रुपैयाँ बढेको छ भने दाल, चिनी लगायतमा ५ देखि १० रुपैयाँसम्म बढेको छ ।

उपत्यकाभित्र जोरविजोर लागु गरेको मौका छोपि उद्योगीहरुले मूल्य बढाउन थालेका हुन् । पछिल्लो एक साताको अवधिमा तेलका मूल्य प्रतिलिटर १० रुपैयाँदेखि २० रुपैयाँसम्म बढेको उपभोक्ताहरु बताउँछन् ।

केही दिन अघिसम्म प्रतिलिटर २३५ रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य पुनः बढेर २५५ रुपैयाँ पुगेको छ ।

बजार सनफ्लावर तेलका विभिन्न ब्रान्ड छन्। ब्रान्ड अनुसार ५ रुपैयाँ देखि १० रुपैयाँसम्म फरक रहेको छ। यसैगरी तोरीको तेलको मूल्य पनि बढेको छ।

प्रतिलिटर १७५ रुपैयाँ रहेको तोरीको तेल (काँचो) को खुद्रा मूल्य हाल २६० रुपैयाँ र भुटेको तोरीको तेल २७० रुपैयाँबाट ३६० रुपैयाँ पुगेको छ ।

गत फागुनमा भटमासको तेलको प्रतिलिटर खुद्रा मूल्य १४० रुपैयाँ रहेकोमा हाल बढेर २४० रुपैयाँ पुगेको छ ।

गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै ५० रुपैयाँ भन्दा बढी मूल्य बढेको हो । एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा बढेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालमा तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले दाबी गरेको छ ।

संघका अनुसार उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ अप्रशोधित सोयाविन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ ।

यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मूल्य निर्धारण हुने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो ।

सन् २०२० को मार्चमा प्रति मेट्रिक टन ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अवधिमा एक हजार २७९ डलर पुगेको छ । यस्तै एक वर्ष अगाडि प्रति मेट्रिक टन ६५६ डलर रहेको सनफ्लावरको तेलको मूल्य एक हजार ५८० भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here