डिम्याट खाता खोल्ने ५१ लाख ९४ हजार, शेयर कारोबारीबाट ११ अर्ब पूँजीगत लाभकर संकलन

काठमाडौं, २५ जेठ । शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ५१ लाख ९४ हजार नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेको हो ।

धितोपत्र दोस्रो बजारमा शेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४३ लाख नाघेको छ। हालसम्म ‘मेरो शेयर’ प्रयोगकर्ताको ४३ लाख ९ हजार १८० पुगेको छ।

‘मेरो शेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ। हालसम्म ८ अर्ब ४५ करोड ७७ लाख ७ हजार ७७६ कित्ता शेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ।

यसैबीच चालु आर्थिक वर्षमा शेयर कारोबारबाट सरकारले ११ अर्ब रुपैयाँभन्दा धेरै पुँजीगत लाभकर असुल गरेको छ ।

धितोपत्र बोर्डका अनुसार जेठ १७ गतेसम्म सरकारले ११ अर्ब तीन करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन गरेको हो । सरकारले दोस्रो बजारको शेयर कारोबारमा समयका आधारमा साढे सात प्रतिशत र पाँच प्रतिशत लाभकर लिने गरेको छ ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो शेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट शेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो ।

१ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ । विवरणानुसार पछिल्लो समय डिम्याट र मेरो शेयर खाताको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ ।

बोर्डलगायत धितोपत्र बजारसम्बद्ध निकायहरूबाट बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here