रानीपोखरी पुनर्निर्माणको गोलचक्कर, तेस्रो पटक जिम्मेवारी फेरियो

क्लाउडपत्रिका
काठमाडौं, २२ माघ । ऐतिहासिक रानीपोखरी पुननिर्माणको जिम्मेवारी म्युजिकल चेयर बनेको छ । पहिले काठमाडौं महानगरपालिकालाई दिईको निर्माण जिम्मा त्यसपछि पुरातत्व विभाग हुँदै अहिले फेरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आइपुगेको छ ।
सरकारले गतहप्ता रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको हो । माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।
रानीपोखरी पुनर्निर्माण शुरुदेखि नै विवादित बन्दै आएको छ । पहिले महानगरले कंक्रिटको संरचना बनाएपछि मन्दिर निर्माणको जिम्मेवारी पुरातत्वलाई दिइएको थियो । तर त्यसैवीच स्थानीयवासी र पुरातत्वविदहरुले बालगोपालेश्वर मन्दिर प्रताप मल्लले बनाएको गुम्बज शैलीमा बनाउनु पर्ने अडान राखेपछि आधाआधी निर्माण भएको मन्दिरको काम फेरी रोकिएको थियो ।
प्रताप मल्ले पुत्रविगोमा छट्पटिएको रानीलाई सान्त्वना दिन रानीपोखरी र पोखरीको वीचमा बालगोपालेश्वर मन्दिरको निर्माण गराएका थिए । तर, त्यसपछिका भुकम्पमा मन्दिर भत्किएपछि त्यसको पुनर्निर्माण शिखर शैलीमा गरिएको थियो ।
यसैवीच विज्ञहरुले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौं महानगरपालिका लगायतसँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुटरशिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए । परम्परागत शैली र मौलिकतालाई विेशेष ध्यान दिई पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाइनेछ, उनले भने ।
प्राधिकरणले भूगर्भविद्हरुबाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञहरुले तीन सय फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन ।
ज्ञवालीका अनुसार रानीपोखरीको वरिपरीको भाग पनि प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here