ठूलो संख्यामा ब्रोकर लाइसेन्स बाँँडिदै, बैंकलाई नदिइने

काठमाडौं, ६ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ठूलो संख्यामा ब्रोकर लाइसेन्स वितरण गर्ने तयारी गरेको छ ।

वाणिज्य बैंकको सहायक कम्पनीलाई लाइसेन्स दिनुपर्ने चौतर्फी दबाब रुपमा उठिरहेको बेला नेप्सेले ठूलो संख्यामा प्राकृतिक व्यक्तिलाई नै मनपरी वितरण गर्न लागेको छ । यसका लागि नेप्सेले ब्रोकर छनौट कार्यविधि बनाइसकेको छ ।

दोस्रो बजारको कारोबारलाई पूर्ण स्वचालित (अनलाइन) बनाएर ब्रोकरको संख्या घटाउने उद्देश्यविपरीत नेप्सेले ठूलो संख्यामा ब्रोकर थप्न थालेको हो ।

हाल सञ्चालनमा रहेका प्राय: ब्रोकर व्यक्तिगत लगानीका छन् । यसकारण अपेक्षित रुपमा संस्थागत क्षमता अभिवृद्धि हुन नसकेको, पूँजीगत क्षमता, सेवाको गुणस्तर, सुशासनलगायतमा अपेक्षित सुधार हुन नसकेको आरोप ब्रोकरहरुलाई लाग्दै आएको छ ।

यहीकारण संस्थागत लगानीकर्ताको रुपमा वाणिज्य बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनुपर्ने माग उठिरहेको छ ।

बैंकको सहायक कम्पनीलाई लाइसेन्स वितरण गर्नकै लागि यसअघि नेप्सेले आवेदन आह्वानसमेत गरिसकेको छ । यसमा एक दर्जन वाणिज्य बैंकका सहायक कम्पनीले आवेदन दिएका छन् ।

त्यतिबेला छनोट प्रक्रिया सुरु नहुँदै संसद्को अर्थ समितिको निर्देशनमा लाइसेन्स वितरण प्रक्रिया रोकिएको थियो, जुन अझै सुरु भएको छैन ।

नेप्सेले लिखित परिक्षाबिनै अन्तर्वार्ताका आधारमा ब्रोकर थप्ने तयारी गरेको स्रोतले बताएको छ । यसअघि लिखित परीक्षा र अन्तर्वार्ता पास भएपछि मात्र ब्रोकर लाइसेन्स प्रदान गरिदै आएको थियो । यसअघि ब्रोकर लाइसेन्स वितरण गर्दा वस्तुगत परीक्षा पास गरेकालाई मात्र अन्तर्वार्तामा समावेश गर्ने गर्ने व्यवस्था थियो ।

विज्ञमार्फत बजारको वस्तुस्थिति अध्ययन गर्दा बजारमा सेयर ब्रोकर थप्नु पर्ने देखिएकाले सोही अनुसार कार्यविधि तयार गरिएको नेप्सेका अधिकारीहरु दाबी गर्छन ।

उक्त अध्ययन प्रतिवेदनमा नेपालभर (सात वटै प्रदेशमा) १ सय ७८ ब्रोकर थप्न सकिने सम्भावना रहेको देखाइएको छ । जसअनुसार प्रदेश १ मा ३०, मधेस प्रदेशमा ३३, वाग्मतीमा ४५, गण्डकीमा २०, लुम्बिनीमा २५ कर्णालीमा १० र सूदुरपश्चिममा १५ गरी १ सय ७८ वटा ब्रोकर संख्या थप्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

‘अहिले धितोपत्र ब्रोकरले प्रतिव्यवसायी औसतमा करिब २५ हजार ग्राहकको कारोबार खाता खोली सञ्चालन गरेको देखिन्छ । उक्त संख्या बढेर अबको एक दशकमा प्रतिव्यवसायी ५० हजार हुने देखिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘यसरी हेर्दा करिब १ सय ७८ ब्रोकर आवश्यक पर्ने देखिन्छ ।

अहिले ५० वटा सञ्चालनमा रहेको आधारमा थप १ सय २८ जति धितोपत्र दलाल तथा डिलरको आवश्यकता छ । प्रत्येक प्रदेशमा न्यूनतम १० र अधिकम ४५ वटा धितोपत्र दलाल व्यवसायी आवश्यक पर्ने देखिन्छ ।’

अहिले संघ र प्रदेशमा छुट्टाछुट्टै ब्रोकर थप्ने तयारी नेप्सेको छ । यसअनुसार राष्ट्रिय स्तरको ब्रोकरका लागि न्यूनतम ७ करोड रुपैयाँ र प्रदेशका स्तरको ब्रोकरका लागि न्यूनतम ३ करोड रुपैयाँ चुक्ता पूँजी तोकिएको छ । हाल ब्रोकरको पूँजी न्यूनतम २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

नेपाल धितोपत्र बोर्डले करिब ४ वर्षअघि नै सेयर ब्रोकरबीच मर्जर तथा एक्विजिसन (प्राप्ति) का लागि बाटो खोलिदिएको छ । 

ब्रोकर संख्या घटाउनकै लागि बोर्डले धितोपत्र व्यवसायीसम्बन्धी नियमावली संशोधन गरेर उक्त व्यवस्था व्यवस्था गरेको हो । उक्त नीतिविपरीत हाल ठूलो संख्यामा ब्रोकर थप्न लागिएको छ ।

धितोपत्र कारोबारलाई दोस्रो बजारमार्फत सञ्चालन गर्न २०५० सालमा पहिलो पटक २५ वटा धितोपत्र दलाल र ६ वटा बजार निर्मातालाई लाइसेन्स प्रदान गरिएको थियो । ५५ वटा आवेदन प्राप्त भएकामा लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा २५ वटा छनोट गरी लाइसेन्स दिइएको थियो ।

त्यसपछि नेप्सेले थप ७ वटा ब्रोकरलाई लाइसेन्स दिएर ब्रोकर संख्या ३२ पुगेको थियो । विविध कारणले केही संस्था बन्द भएपछि ब्रोकर संख्या घटेर २३ मा झरेको थियो । ०६४ सालमा थप २७ वटा ब्रोकर थप गरी ब्रोकर संख्या ५० पुर्‍याइएको छ । हाल ५० वटै ब्रोकर सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here