वर्षायाममा अनेकौं संक्रमणबाट यसरी जोगिनुहोस्, के खाने के नखाने ?

काठमाडौं । अहिले वर्षायाम सुरु भएको छ । अत्यासलाग्दो गर्मी लगत्तै आउने वर्षायामको मौसम त रमाइलो नै हुन्छ । तर वर्षायामले सुन्दर र रमाइलो मौसम मात्रै लिएर आउँदैन ।

वर्षायाममा तपाईले नचाहेको स्वास्थ्य समस्याले तपाईलाई सताउन पनि सक्छ । यस ऋतुमा खासगरि रुघाखोकी, चिसो, पखाला र फ्लु जस्ता समस्याले तपाईलाई सताउन सक्छन् ।

वर्षायाममा अविरल वर्षाका कारण जनजीवन प्रभावित हुनुको साथै बाढीपहिरोले देशको विभिन्न ठाँउमा धनजनको क्षति पुर्याउने गरेको छ ।

हरेक वर्षायाममा अनेक रोग फैलिएको सुन्नमा आउँछ । अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि त्यतिकै बढेको विभिन्न तथ्यांकले देखाउँछन् ।

वर्षायाममा जताततै पानी नै पानी हुन्छ, किटाणुको प्रश्रय स्थल । जसले डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ ।

खानेपानी प्रदूषित हुन्छ । र, पानी स्वस्थ नभए आधा भन्दा बढी रोग लाग्ने गर्छन् ।

यस्तै गरी लामखुट्टेको बिगबिगी अर्काे ठूलो समस्याको रुपमा यस समयमा हामीले भोग्नुपर्ने हुन्छ । अझ अर्काे विकराल चुनौतीको रुपमा सर्पको चहलपहल बढ्ने हुँदा सर्पदंशको पनि उस्तै चिन्ताको विषय हुन्छ वर्षायाममा ।

वर्षायाममा हुने उच्च आर्द्रताले शरीरको रोगसँग लड्ने र पाचन क्षमता स्वात्तै घटाउने गर्छ । शरीर शत प्रतिशत तन्दरुस्त हुँदैन । त्यसैले रोगले सजिलै डेरा जमाउँछन् । त्यसैले खानपिन र जीवनशैलीमा थप ध्यान दिनुपर्छ ।

वर्षा याममा अचानक हामी पानीमा भिज्दा शरीरको सन्तुलन गुम्छ र आफूलाई अनुकूल बनाउन कठिन हुन्छ । शरीरको तापक्रममा परिवर्तन आउँछ र ज्वरो, रुघाखोकी लाग्ने समस्या सिर्जना हुन्छ । त्यसैले बाहिर निस्कँदा छाता वा रैनकोट लिएर हिड्नु उपयुक्त हुन्छ ।

त्यस्तै वर्षायाममा पानी जमेका ठाउँहरु हुन्छन् । हामीले समात्ने विभिन्न वस्तुहरुबाट पनि किटाण तथा जीवाणुहरु हाम्रो शरीरमा फैलन गइ हामीलाई स्वास्थ्य सम्बन्धी समस्याहरु पैदा हुन सक्छ । खाना खानु अघि वा बाहिरबाट फर्केपछि साबुन पानीले हातगोडा धुने गर्नुले हामीलाई रोगबाट बचाउन मद्दत गर्दछ ।

यतिबेला मनसुन सक्रिय भएकोले देशैभरका ठाउँ ठाउँमा भारी वर्षा भइरहेको अवस्था छ । यस्तो बेलामा जहाँ कहीँ बाढीपहिरोको खतरा हुने गर्छ र बाटोमा समस्या खडा हुन सक्छ । यदि कतै जानैपर्ने जरुरी भए पनि कम्तिमा न्युनतम आवश्यक सामाग्रीहरु बोकेर हिड्नु नै राम्रो हुन्छ ।

वर्षायाममा के नखाने

बासी तथा मसलेदार खाना यो मौसममा नखानुहोस् । वर्षा मौसममा मानिसको पाचन प्रक्रिया सुस्त हुन्छ । खाना पच्न लामो समय लाग्छ ।

बासी र मसलेदार खानाले पेटमा खराबी गर्छ । यो समयमा काँचो खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरिया हुनसक्छ । यस्ता खानामा हुने रोगको संक्रमणले मानिसलाई चाँडै रोग सार्छ । हुन त सागसब्जी खानु स्वास्थ्यका लागि राम्रो हो ।

तर, पात हुने सब्जीमा पानी परेलगत्तै धुलो, माटो र किटाणु सहज रूपमा बस्न सक्छन् । यसकारण वर्षायामको सागसब्जी राम्ररी धुने र पकाएर खानुपर्छ ।

सडक किनारमा बेच्न राखिएका फलफूल या खानेकुरा खानु हुँदैन । यस्ता खानेकुरामा धुवाँ–धुलो टाँसिने र शरीरलाई खराब गर्ने गर्छ ।

यो गर्मी मौसम पनि भएको हुँदा घरमा फलफूल काटेर राख्ने तथा खाने गर्नु हुँदैन । माछाको सौखिन हुनुहुन्छ भने यो मौसममा ख्याल गर्नुहोस् ।

वर्षायाम माछाको प्रजनन समय हो । यो वेला माछा नखाँदा राम्रो हुन्छ । खानु नै छ भने राम्रोसँग सफा गरेर र पकाएर खानुपर्छ ।

वर्षायाममा कस्तो खाना खाने ?

१. नास्पाती, अनार, आँप, अम्बा, स्याउ जस्ता फलफूल धेरै खानुहोस् ।

२. सोडियम कम हुने खानाहरु खानुहोस जसले तनाव र शरीरमा पानीको मात्रा कम हुने समस्या घटाउँछ ।

३. आफ्नो खानामा जौ, गहुँ र ओट्सहरु समावेश गर्नुहोस् ।

४. पानी धेरै हुने खाना भन्दा सुख्खा खानाहरु आफ्नो खानामा समावेश गर्नुहोस् ।

५. दहि, दुध र बटर धेरै खानुहोस्

६. खानामा तितो सागसब्जी र जडिबुटी जस्तै करेला, निम समावेश गर्नुहोस् ।

७. माछामासु र गोलभेडा कम खानुहोस्

८. चिया पिउँदा जडिबुटी युक्त चियाहरु पिउनुहोस् । अदुवा, ल्वाङ, मरिच जस्ता चिजहरु चियामा मिसाउन सक्नुहुन्छ ।

९. हरियो पात हुने सागसब्जी कम खानुहोस् ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here