दुई डिग्री तापक्रम बढेमा हिन्दुकुशका आधा हिमनदी पग्लिने

Photo Source: ICIMOD

क्लाउडपत्रिका
काठमाडौं, २२ माघ । विश्वव्यापी तापमानमा दुई डिग्री मात्र वृद्धि भएमा हिन्दुकुश हिमालय क्षेत्रका आधा हिमनदी पग्लिने र त्यसले सम्पूर्ण एशियाका नदीहरुलाई अस्थीर बनाउने पछिल्लो एक अध्ययनले देखाएको छ ।

पेरिस सम्झौताले भनेजस्तो यो शताब्दीको अन्त्यसम्ममा विश्व तापमानलाई १.५ डिग्रीले घटाउन सफल भए पनि अहिलेको तुलनामा विश्वको तापीय अवस्थामा २.१ डिग्रीको वृद्धि हुने, त्यसले हिन्दुकुश क्षेत्रका एक तिहाइ हिमनदी पग्लिने र एशियाका पहाडी क्षेत्रमा बस्ने करीब २५ करोड जनसंख्या र मैदानीक्षेत्रमा बस्ने १ अर्ब ६५ करोड जनताहरु पानीको अभावमा पिल्सिन सक्ने निश्कर्ष अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हालै गरेको एक अध्ययनले निकालेको छ ।

तेस्रो ध्रुवको उपनामले चिनिने हिन्दुकुश हिमालय क्षेत्रमा सगरमाथा, केटु, कञ्चनजंघा जस्ता विश्वका अग्ला हिमशिखरहरु रहेका छन् । यदि जलवायु परिवर्तनमा भएको हालको तिब्र वृद्धिलाई बेलैमा सम्बोधन गर्न नसक्ने हो भने सन् २१०० सम्ममा तापमान ५ डिग्रीले बढ्ने र यस क्षेत्रका दुई तिहाई हिमनदी पग्लिने इसिमोडले बताएको छ ।

यसरी हिमनदी पग्लिंदा यसक्षेत्रा ठूला नदीहरु अस्थीर हुने छन् भने कतिपय स्थानमा पानीको चरम अभाव हुने छ । नदीमा निर्माण गरिएका जलविद्युत परियोजनाहरु त्यसबाट सबैभन्दा प्रभावित हुने छन् । त्यस अवस्थामा यस क्षेत्रका उद्योगधन्धामा पनि नकारात्मक असर पर्ने छ भने तल्लो तटीय क्षेत्रका जनता बाढीले प्रभावित हुने छन् । नेपाल र भुटान जस्ता साना अर्थतन्त्रहरुको स्थिति झनै कहाली लाग्ने हुन सक्छ । अर्कातर्फ बंगलादेशजस्ता खाडी मुलुकमा बाढीको ठूलो समस्या निम्तिने छ । माल्दिभ्सको नामोनिसान रहने छैन । विश्व तापीय अवस्थामा वृद्धि भइ हिमनदी पग्लिंदा समुद्रको सतह बढ्ने छ जस्ले माल्दिभ्सलाई डुबाउने छ । त्यहाँ सबैभन्दा अग्लो स्थान नै समुद्रस तहबाट २ मिटर माथि छ ।

इसिमोडका विज्ञ तथा अनुसन्धानका टोलीनेटा फिलिप्पस वेस्टर भन्छन्, ‘यो अहिलेसम्म नसुनिएको विकरात जलवायु समस्या हो । जलवायु परिवर्तनले एशियाका आठ मुलुकमा फैलिएको हिन्दुकुश हिमालयमा चर्को प्रभाव पार्ने छ जसले हिमालयक्षेत्रलाई नै कालो चट्टानको पहाडमा परिवर्तन गरिदिने छ । त्यसले मानिस तथा जीवजन्तुमा पार्ने असर ज्यादै ठूलो हुने छ ।’

उनका अनुसार विश्व तापमानमा वृद्धि हुँदै जाँद यहाँका मानिसहरु अझ खराब प्रदुशण, अतिवृष्टि तथा खण्डवृष्टि, बाढीलगायत प्रकोप भोग्न बाध्य हुनेछन् ।

इसिमोडले हालसम्मकै आधिकारिक तथा वैज्ञानिक मानेको सो अध्ययन पाँच वर्षको अवधिमा पूरा गरिएको हो जसमा ३५० भन्दा बढी अनुसन्धानकर्ता, २२ मुलुकका विज्ञ र १८५ संघसंस्था संलग्न थिए ।

हिन्दुकुश हिमालय क्षेत्र अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानको ३,५०० बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यसक्षेत्रमा विश्वका १० महत्वपूर्ण नदीप्रणाली रहेका छन् जसमा गंगा, इन्दुस, यलो, मेकङ र इरावाडी प्रमुुख छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here