काठमाडौं, १५ साउन । सामाजिक सुरक्षा कोषमा १७ हजार २३० रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्।
सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ४९ हजार २५२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म २१ अर्ब ५४ करोड योगदान रकम संकलन भएको छ ।
विभिन्न चार योजनाअन्तर्गत ४८ हजार ५८६ योगदानकर्तालाई १ अर्ब ७६ करोड ३१ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । यो तथ्यांक साउन १२ गतेसम्मको हो ।
कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । २१ हजार ८०७ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत २३ करोड ७२ लाख ३७ हजार ९७२ रुपैयाँ भुक्तानी भएको छ ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ९२१ लाभग्राहीलाई २ करोड ५२ लाख ९२ हजार ४६९ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबाट ३७५९ लाभग्राहीलाई ३ करोड ७४ लाख ९८ हजार ५७५ रुपैयाँ भुक्तानी लिएका छन् ।
यही अवधिसम्ममा कोषमा रु २१ अर्ब ५४ करोड योगदान संकलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।
कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।
कोषले ल्याएका विभिन्न योजनाप्रति योगदानकर्ताको आकर्षण बढाउन केही योजनाको परिमार्जन गरिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता निकायले बचतकर्तालाई दिएका सुविधा सामाजिक सुरक्षा कोषले पनि कार्यान्वयनमा ल्याएको छ ।
सूचीकृत योगदानकर्ताले कोषबाट विशेष सापटी, शैक्षिक कर्जा, आवाश कर्जालगायत सुविधा पाउनेछन् । २०७५ मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा योजना सुरू गरिएको थियो ।
निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।
कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले ज्यान गुमाएकाहरुका परिवारलाई पेन्सनको व्यवस्था छ ।
सुरक्षा कोषले भदौ १ गतेदेखि चार किसिमका सापटी योजना कार्यान्वयनमा ल्याउने भएको छ । कोषमा योगदानकर्ता आवद्ध भएको ३६ महिना पुगेसँगै उक्त सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।
कोषले योगदानकर्ता घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।
सापटी योजनामा आवद्ध हुनका लागि योगदानकर्ताले नियमित ३६ महिनासम्म योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।
कोषले योगदानकर्ता घर सापटी योजनामा नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न सापटी प्रदान गर्नेछ । यस्तो सापटी अधिकतम ७५ लाख रूपैयाँसम्म लिन पाइने छ । तर, योगदानकर्ताको १५ वर्षको तलब र ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब पनि हिसाब गरेर सापटी उपलब्ध गराइने जनाइएको छ ।