पश्चिम सेती र सेती नदी ६ भारतलाई जिम्मा लगाउने अन्तिम तयारीमा सरकार

चार ठूला जलविद्युत परियोजनामा लगानी बोर्डको निर्णय

काठमाडौं, २३ साउन । लगानी बोर्डले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ आगामी सेप्टेम्बर दोस्रो साता दीगो पूर्वाधार लगानी मञ्च २०२२ (सस्टेनेबल इन्फ्राष्ट्रक्चर इन्भेष्टमेण्ट फोरम) आयोजना गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको ५२औं बैठकले पूर्वाधारमा लगानी आकर्षित तथा प्रवद्र्धन गर्नका लागि सो सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसको सो बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी –६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता भारत सरकारको कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ ।

त्यस्तै ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल जलविद्युत कम्पनी प्रा. लि.लाई सर्बेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा बोलदै प्रधानमन्त्री देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण–३, तल्लो अरुण जस्ता राष्ट्रिय प्राथमिकताका परियोजनाहरुलाई तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका छन् ।

यसमा अर्थ, उर्जा, भूमिसुधार तथा वन मन्त्रालय एवं अन्य सरोकारवाला निकायलाई प्रभावकारी रुपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न निर्देशन दिंदै उनले सिमन्ट उद्योग परियोजनाहरु विकास गर्दा वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने प्रविधिहरुको अवलम्बन गर्न पनि भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here