निर्यातमा नगद फिर्ताको सीमा पाँच प्रतिशत पुग्यो, कुन वस्तुमा पाइन्छ अनुदान ? हेर्नुस सूची

स्रोत: जुजु ह्याण्डिक्राफ्ट

क्लाउडपत्रिका
काठमाडौं, २९ माघ । अब उद्योगी व्यवसायीले स्वदेशी सामान निर्यात गरेबापत पाँच प्रतिशत सम्म नगद फिर्ता अनुदान पाउने भएका छन् । यो व्यवस्था कार्यान्वयनका लागि सोमबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यसअघि भारत बाहेकका राष्ट्रमा सामान निर्यात गरेबापत सरकारले दुई प्रतिशतसम्म मात्र नगद अनुदान पाउने व्यवस्था थियो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा भए अनुसार सरकारले करिब डेढ महिना अघि नगद अनुदानको सीमा बढाएर पाँच प्रतिशत पुर्‍याएको  थियो । अहिले सोही व्यवस्था कार्यान्वयनमा आएको हो । गत वर्ष मात्र नगद फिर्ता अनुदनाबापत करिब ३० करोड रुपैयाँ खर्च भएको राष्ट्र बैंंकले बताएको छ ।

आयातको तुलनामा निर्यात वृद्धि धेरै कम रहेको समयमा सरकारले नगद अनुदानको सीमा बढाएको हो । यो व्यवस्थाले स्वदेशी उत्पादन बढने सरकारको दाबी छ । यसले नयाँ मुलुकमा नयाँ रोजगारीको अवसर सृजना गर्न पनि सहयोग पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले अनुदान दिने वस्तुको पनि बढाएको छ । निर्यातकर्ताले तोकिएका २६ प्रकारका वस्तु निर्यातमा तीनदेखि पाँच प्रतिशतसम्म नगद अनुदान पाउछन् । ती मध्ये १५ वटा औद्योगिक र ११ वटा अन्य उत्पादन गरी वर्गीकरण गरिएको छ ।
औद्योगिक उत्पादनको सूचीमा परेका १५ प्रकारका वस्तुको निर्यातमा सरकारले ५ प्रतिशत नगद अनुदान दिनेछ । यस्तै, अन्य उत्पादनको सूचीमा रहेका ११ प्रकारका वस्तु निर्यातमा तीन प्रतिशत अनुदान प्रदान गरिने छ ।

नयाँ कार्यविधि अनुसार भारतमा वस्तु निर्यात गरेबापत पनि अनुदान पाइने छ । यसअघि भारतबाहेकका तेस्रो मुलुकमा भएको निर्यातमा मात्र अनुदान दिने व्यवस्था थियो । दुवै प्रकारको अनुदानका लागि निर्यातको कारोबार बैंकिङ प्रणाली मार्फत (एलसी) हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

अनुदानका प्राप्त गर्ने प्रक्रिया पनि सजिलो छ । निर्यातका लागि आफुले कारोबार गरेको बैंकमा आवश्यक कागजात पेश गरेपछि सोही बैंकमार्फत नगद पिर्ता पाउने सकिने कार्यविधिमा उल्लेख छ ।

यी वस्तुमा पाइन्छ ५ प्रतिशत अनुदान
१) प्रशोधित चिया
२) प्रशोधित कफी
३) हस्तकाला तथा काष्ठकलाका वस्तु
४) प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू
५) हाते कागज तथा सोबाट उत्पादित सामान
६) प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना
७) अल्लोबाट उत्पादित सामानहरू,
८) मिनरल वाटर
९) प्रशोधित जडीबुटी तथा सारयुक्त तेल
१०) बेसार (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)
११) तरकारी (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा) ।
१२) पुष्प (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)
१३) प्रशोधित मह (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)
१४) प्रशोधित अलैंची (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)
१५) प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) ।
यी वस्तुमा पाइन्छ ३ प्रतिशत अनुदान
१) स्वदेशमा उत्पादित कपडा
२) तयारी पोसाक,
३) गलैंचा र ऊनीका सामान,
४) च्याङग्रा पस्मिना तथा सो बाट उत्पादित सामान,
५) स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन
६) सुनचाँदीका गरगहना,
७) अर्धस्वदेशी प्रशोधित छाला,
८) औषधि,
९) फेल्ट (ऊनीजन्य) का वस्तुहरु
१०) पोलिस्टर यार्न/फाइबर भिस्कोर्स यार्न/एक्रिलिक यार्न/कटन यार्न ।
११) तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here