कसरी बन्यो अमेरिकी डलर दुई दशक यताकै शक्तिशाली, जापनिज येन २४ वर्षयताकै सस्तो ?

काठमाडौं । अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली स्थानमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सोमवार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ २ पैसा रहेको छ ।

यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ । केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

अमेरिकी केन्द्रीय ब्याङ्कले यो वर्ष बढ्दो मूल्यवृद्धिसँग जुध्न पटकपटक ब्याजदर वृद्धि गरिरहेको छ।त्यसले कर्जा लिन झन् महँगो पारेको छ।

यसको अर्थ अमेरिकी सरकारी ‘बन्ड’ जस्ता आर्थिक औजारबाट थप नाफा कमाउने अवस्था छ जसले त्यसतर्फ लगानीकर्ताहरूलाई आकर्षित गरिरहेको छ।

बन्ड सरकारले कर्जा सङ्कलन गर्ने एक किसिमको ऋणपत्र हो जसमा भविष्यमा ब्याज दिने प्रतिबद्धता जनाइएको हुन्छ।

उक्त लगानीलाई ज्यादै सुरक्षित ठानिन्छ।सन् २०२२ को जुलाईमा मात्रै विदेशी लगानीकर्ताहरूले १०.२ अर्ब अमेरिकी सरकारी बन्ड खरिद गरेका थिए। अहिले ७५ खर्ब डलर बराबरको बन्डमा उनीहरूको स्वामित्व छ।

लगानीकर्ताहरूले यी बन्ड किन्न डलर खरिद गर्नुपर्ने हुन्छ र त्यसको मागले डलरको मूल्य समेत बढाउँछ। जब लगानीकर्ताहरूले अरू मुद्रा बेचेर डलर किन्छन् तब ती मुद्राको मूल्य घट्छ।

यूकेको सरकारले ठूलो कर कटौतीको घोषणा गरेपछि डलरको तुलनामा पाउन्डको मूल्य घटेको छ।

लगानीकर्ताहरू विश्वव्यापी अर्थतन्त्र दबावमा रहँदा डलर किन्न चाहन्छन् किनभने अमेरिकाको आकारका कारण डलरमा गरिएको ‘सुरक्षित लगानी’ हुने ठानिन्छ। त्यसले पनि मूल्यलाई बढाउँछ।

युरोप र एशियाका कैयौँ देशका अर्थतन्त्रहरू युक्रेनमा जारी युद्धका कारण अकासिएको ग्यासको मूल्यका कारण अप्ठेरोमा परेका छन्। बढ्दो ऊर्जाको मूल्यले अमेरिकामा त्यो स्तरमा असर परेको छैन।

डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै अमेरिकी डलरको बलियो बन्दै गइरहेको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

त्यस्तै जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने छ।

१० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ।त्यस्तै, एक डलरको लागि नेपालीले एक सय ३२ रूपैयाँ पाँच पैसा तिनुपर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here