मुलुकको वचत गर्ने क्षमता बढेको छ: अर्थमन्त्री

काठमाडौं, १३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको बताएका छन् ।

राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारण समेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको उनको भनाइ छ ।

‘यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान छ भने मुद्रास्फिति (महँगी)को दर ४.२ प्रतिहत रहेको छ,’ आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सोमवार संसदमा प्रस्तुत गर्दै उनले भने ।

उनका अनुसार आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको छ भने कुलगार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै मुलुकको बचत गर्ने क्षमतापनि बढेको छ। ‘विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ। यसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ’, अर्थमन्त्रीले भने ।

त्यसैगरी, उच्चआर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्धिका कारण गरीबी घट्दै गएको सरकारको भनाइ छ । निरपेक्ष गरीबीको रेखामुनी रहेका जनसंख्या १८.७ प्रतिशतमा झरेको अनुमान छ ।

आव २०७५/७६ मा प्रतिव्यक्ति आय रु. १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ भने प्रतिव्यक्ति खर्च योग्य आय रू. १ लाख ५५ हजार पुगेको छ । त्यस्तै, यो वर्ष कुल लगानी २९ प्रतिशतले वृद्धि भई रु. २१ खर्ब ५७ अर्ब हुने सरकारकाे अनुमान छ । ‘कुलगार्हस्थ बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ’, डा. खतिवडाले भने ।

यो वर्ष सरकारी खर्च गतवर्षको तुलनामा २.२ प्रतिशतले बढेर ५ खर्ब ४१ अर्ब पुगेको छ । अर्थमन्त्रीका अनुसार गतवर्षको तुलनामा संघीय विभाज्य कोष र संघीय संचित कोषमा ५ खर्ब रुपैयाँ राजश्व जम्मा भएको छ जुन गतवर्षको तुलनामा करीब २२ प्रतिशतले बढी हो ।

चालु वर्षको पहिलो आाठ महिनासम्ममा सरकारको ऋण ९ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ जसमा आन्तरिक ऋणको हिस्सा ५ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।

अर्थमन्त्री डा. खतिवडाले चालु आवमा वित्तीय क्षेत्र स्थायित्वका सूचकहरु सबल रहेको बताए । ‘२०७५ फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुको साथै बैक तथा वित्तीय संस्थाको कुलशाखा संख्या ४,७०१ पुगेको छ।

बीमा व्यवसाय गर्ने कम्पनीको संख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोवारमा विस्तार भएबाट चालु आवको फागुनसम्म करिब १८ प्रतिशत नागरिकमा बीमाको पहुँचपुगेको छ,’ उनले भने ।

चालु वर्षमा व्यापार घाटा भने झनै बढेको छ । निर्यातमा १४.६ प्रतिशत र आयातमा २३.८ प्रतिशतको वृद्धि हुनु र नेपालको निर्यात व्यापार यो वर्ष मा ६१ अर्ब रुपैयाँको हुनुले व्यापार घाटामा वृद्धि भएको हो ।

२०७५ फागुनमसान्त सम्मको कुलव्यापार घाटा ८ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, शोधानान्तर स्थिति ५९ अर्ब रुपैयाँ र चालु खाता १ खर्ब ९१ अर्ब रुपैयाँ घाटामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here