हरिबोधिनी एकादशी लक्षित सखरखण्ड र पिँडालुमा व्यापारीको आफूखुसी मूल्य, खुद्रामा दोब्बर महङ्गो

काठमाडौं, १८ कात्तिक । हरिबोधिनी एकादशी, हिन्दुधर्मालम्वीहरुले भगवान विष्णुको पूजा अर्चना गरेर मनाउँछन् ।

त्यस दिनको मूख्य खानाको रुपमा सखरखण्ड, पिँडालु लगायतका फलाहार खाने प्रचलन रहेको छ । अन्न खान नहुने भन्ने धार्मिक विश्वास रहेकाले सखरखण्ड, पिँडालु,तरुल लगायत उसिनेर फलाहार गरिन्छ ।

यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहँदे आएको छ । असारमा हरिशयनी एकादशीको दिन भगवान् विष्णु क्षीरसागरमा सुत्न गएको चार महिनापछि अर्थात् कार्तिक शुक्ल पूर्णिमाको दिन जाग्नुहुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

पर्व लक्षित सखरखण्ड र पिँडालुको आ-आफ्नै बजार भाउ

कालिमाटी तरकारी तथा फलफूल बजार लगायत अन्य बजारहरुमा हरिबोधिनी एकादशीलाई लक्षित गरि सखरखण्ड र पिँडालु किन्ने र बेच्नेहरुको भिड लागेको छ । कुनै पर्व लक्षित पाईने हुनाले खुद्रा पसलहरुमा आ-आफ्नो हिसाबले भाउ तोकेर बिक्री गरिरहेको पाईन्छ ।

पौष्टिकताका हिसाबले निकै महत्वपूर्ण मानिने सखरखण्ड बजारमा अघिपछि छिटपुट भेटिन्छन् । यसको लागि विशेष रुपमा ठूलो एकादशी, माघे संक्रान्ति लिईन्छ । अघिपछि भने थोरै मात्रमा भेटिने गरेको छ ।

सखरखण्ड र पिँडालु पनि विभिन्न ठाउँ तथा प्रजातिका भएका कारण फरक(फरक मूल्य छ ।

कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा सखरखण्ड भाउ प्रतिकेजी ४० देखि ४५ रुपैयाँ र पिंडालूको भाउ प्रतिकेजी ५० देखि ६० रुपैयाँ तोकेको छ ।

बाहिर खुद्रा पसलमा भने सखरखण्ड र पिँडालु किलोको ८० देखि १३० रुपैयाँसम्ममा बिक्री भईरहेको छ । सखरखण्ड ८० देखि १०० रुपैयाँ सम्ममा बिक्री भैरहेको छ ।

माछा पोखरीमा गाडामा समान बेच्दै आईरहेको लक्ष्मी तमाङले सामान कम पाएकोले महङगो भएको क्लाउड पत्रिकालाई बताईन् । गाँउघर वाट सिधै आउने भएपनि थोरै मात्रामा आएकोले माघे संक्रान्ति भन्दा ठूलो एकादशीमा महङगो नै हुने गरेको उनको भनाई छ ।

सखरखण्ड खानुको फाइदा

सखरखण्ड पौष्टिकताले भरिपूर्ण एक खाद्य बाली हो । सखरखण्डमा कार्बोहाइड्रेट, बोसो, चिनी, भिटामिन ए, बी, सी र ई तथा विभिन्न खाद्य तत्व पाइन्छन् । यो बालीलाई खाद्य रेसा, पोटासियम र फलामको राम्रो स्रोत मानिन्छ ।

सुन्तला र रातो रङको गुदी भएका सखरखण्ड बिटा–क्यारोटिन (भिटामिन ए) युक्त हुन्छ । यसमा आलुमा भन्दा बढी स्टार्च पाइन्छ ।

यसका कलिला पातहरूमा प्रोटिन, क्यारोटिन, भिटामिन सी, क्याल्सियम, फस्फोरस र फलाम प्रशस्त पाइन्छ । हुर्कंदो बच्चाका लागि प्रतिदिन एक सय २५ ग्राम सुन्तले रंगको गुदी भएको सखरखण्डको उपयोगले भिटामिन एको आवश्यकता परिपूर्ति हुन्छ ।

यसको उपयोगले कुपोषण तथा खाद्य तत्व कमी भएका बच्चाहरू, गर्भवती महिला र बच्चालाई दूध खुवाउनुपर्ने महिलाका राम्रो काम गर्छ । पौष्टिकताका साथसाथै यस बालीलाई विभिन्न तरिकाले उपयोग गर्न सकिन्छ ।

सखरखण्डको प्रयोगवाट चिप्स, पिठो, बेबी फुड्स र पुरी आदि बनाउन सकिन्छ । यसमा पाइने स्टार्चलाई टेक्सटाइल, कागज, शृंगारजन्य वस्तु तथा खाद्य उद्योगहरूमा पनि प्रयोग गर्न सकिन्छ । यो बालीका कलिला पात तथा मुन्टाहरू पनि खान योग्य हुन्छन् ।

पिँडालु खानुको फाइदा

पिँडालु एक कन्दमूल हो । यो रेसेदार खानेकुरा हो, जसलाई भान्सामा विशेषगरी तरकारी र खाजाको रूपमा प्रयोग गरिन्छ ।
पिँडालु खानु स्वास्थ्यका दृष्टिकोणले समेत निकै फाइदाजनक छ ।

यसमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ । यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लूकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ । यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ ।

यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ । कब्जियत, अपच, पाइल्स, शारीरिक कमजोरी, गर्मीको समस्या आदिजस्ता समस्याका लागि यो लाभदायी छ ।

यस्तो छ हरिबोधनी एकादशीको शास्त्रीय महत्व

कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । शास्त्रीय मान्यता अनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुन्छन् । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमा धर्मावलम्बीले घरघर रोपेको तुलसीको विवाह गराई हरिबोधनी एकादशी मनाईन्छ ।

‘ठूलो एकादशी’ समेत भनिने हरिबोधनी एकादशीको दिन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् ।

यस पर्वको दिन काठमाडौं उपत्यकाका चार नारायण मन्दिर भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशंखुनारायण, काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचंगुनारायणमा विशेष मेला लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here