भक्तपुर २: महेश बस्नेत र दुर्लभ थापाबीच रोचक प्रतिस्पर्धा, यस्तो छ चुनावी गणित

भक्तपुर । भक्तपुर २ मा निवर्तमान सांसद एमालेका महेश बस्नेत र सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दुर्लभ थापा चुनावी मैदानमा छन् ।

बस्नेत एमालेका विवादस्पद छवी भएका नेता हुन् भने कांग्रेसका थापा जिल्लामा लोकप्रिय छन् । जसका कारण ४ मंसिरको चुनावमा यहाँ यी दुई उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

निर्वाचन प्रचारप्रसार सुरु भएसँगै थापाको पक्षमा जनमत खुल्दै गएको छ । भक्तपुर २ यसअघि नेकपा एमालेका उम्मेद्वार महेश बस्नेत विजयी भएको क्षेत्र हो ।

बस्नेत २०७४ को निर्वाचनमा झण्डै दोब्बर मत ल्याएर विजयी भएका थिए । तर, यसपटक उनलाई सहज छैन । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा कांग्रेसकै पक्षमा जनमत छ ।

भक्तपुरमा नेमकिपाको राम्रो पकड भए पनि मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच हुने देखिएको छ ।
थापाको बलियो आधार स्थानीय तह निर्वाचनको मत परिणामले नै स्पष्ट पार्छ ।

भक्तपुर २ मा मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिका पर्छन् । यहाँका नौ वडाका कांग्रेसका वडाध्यक्षले १४ हजार एक सय ९२ मत ल्याएका थिए भने एमालेका वडाध्यक्षहरूको नौ हजार सात सय ७२ मत मात्र पाएका थिए ।

पालिका प्रमुखतर्फ ठिमी नगरपालिकामा स्थानीय निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत ल्याएका थिए भने एमालेका मदनसुन्दर जगुलु श्रेष्ठले ११ हजार ३५ मत ल्याएर पराजित बनेका थिए । सूर्यविनायकमा एमालेले झिनोे मतान्तरले मेयरमा जित हासिल गरेको थियो ।

थापा यस क्षेत्रमा हक्की नेताका र स्थानीयमाझ परिचित छन् । थापालाई सिंगो सत्ता गठबन्धनको साथ अर्को बलियो आधार हो । थापा यसअसघि दुईपटक कांग्रेसको भक्तपुर जिल्ला सभापति बनिसकेका छन् ।

थापा गठबन्धनको मात्रै नभई आफू भक्तपुरको साझा व्यक्तिका रुपमा सबैले चिन्ने र जित सुनिश्चित रहेको निर्धक्क सुनाँउछन्। त्यस्तै भक्तपुर कांग्रेसमा कुनै गुटबन्दी समेत छैन् । कांग्रेसमा गुटबन्दी नरहेकाले सिंगो जिल्लाका कार्यकर्ता साथमा रहनु अर्को बलियो आधारको रुपमा लिन्छन् उनी ।

उनी कांग्रेस घोषणापत्रकोे एजेण्डासहित स्थानीय मुद्दालाई बोकेर आफू निर्वाचनमा होमिएको बताँउछन् । ‘स्थायित्व र विकासको एजेण्डा सहित जनतामाँझ गएका छौँ ।

स्थानीय र प्रदेश सरकारसँग विकास निर्माणका काममा समन्वय गर्ने हाम्रो प्रतिबद्धता छ । संविधानमा रहेका त्रुटिहरू संशोधन गर्ने, संघीयता कार्यान्वयन लगायतका एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छौँ,’ उनले भने,‘ गठबन्धनको साथ र सहयोगमा साझा उम्मेद्वारको रुपमा म मैदानमा छु ।

स्थानीय निर्वाचनको परिणामले पनि यसलाई कांग्रेसको पक्षमा मत रहेको स्पष्ट छ । भक्तपुरमा पार्टीभित्र पनि कुनै विवाद छैन ।’

एमाले उम्मेदवार बस्नेतले भने यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको दाबी गर्दै त्यसैलाई मात्रै चुनावी एजेन्डाका रुपमा अगाडि सारेका छन् । यसपटक बस्नेतलाई अघिल्लोपटक काम गरेको दावी र सोही आधारमा यसपटक पनि जित्ने दाबी पर्याप्त देखिँदैन ।

कोरोना महामारीको समयमा चर्चित ‘सांसद अपहरण’ प्रकरण लगायतमा समेत उनको नाम मुछिएको थियो । यसबाहेक बिभिन्न बिषयमा अभिव्यक्तिका कारण पनि बस्नेत ववादित बन्दै आएका छन् ।

यस क्षेत्रमा थापा र बस्नेतसँगै २६ जना प्रतिस्पर्धामा छन् । २०७४ को निर्वाचनमा एमालेका बस्नेतले ३६,४१२ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका दमननाथ ढुंगानाले १८,६८७ मत प्राप्त गरेका थिए । तत्कालिन समयमा वाम गठबन्धनका कारण बस्नेतको जीत सहज थियो ।

तर, यसपटक माओवादीको साथ थापालाई छ । त्यस्तै एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल भएर एमालेलाई पराजित गर्न लागेको अबस्था छ ।

उसो त भक्तपुर २ कांग्रेसकै प्रभाव क्षेत्र मानिन्छ । यो क्षेत्रमा २०४८, २०५६ र २०७० मा कांग्रेसले नै जित हासिल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here