नवलपरासी पश्चिम-१ मा चौधरीलाई त्रिपाठीको चुनौती कति?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा रोचक प्रतिस्पर्धा हुँदैछ। यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो।

पहिलोपटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार भएका चौधरी ६ पटक चुनाव लडेका त्रिपाठीसँग भिड्दै गर्दा जित निकाल्ने आत्मविश्वासमा देखिन्छन्।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा चौधरी बलिया देखिन्छन्।

यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका वडामा कांग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो। एमालेले २६ हजार ७७९ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जनता प्रगतिशील पार्टीले ४ हजार ६९० मत पाएको थियो। जसपाले ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीले १ हजार १४१ र लोसपाले १०० मत प्राप्त गरेको थियो।

यहाँ सत्ता गठबन्धनका दलको मत ३६ हजार ९३० छ। हृदयेशको पक्षमा एमालेको २६ हजार ७७९, जसपाको ३ हजार ५५९ र जनता प्रगतिशील पार्टीको गरी ३५ हजार ६८ मत छ।

२०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावमा उत्रिएका त्रिपाठीसँग यसपटक आफ्नै चुनाव चिह्न छ।

यसअघि विभिन्न दलमा पुगिसकेका त्रिपाठी अहिले नयाँ दल लिएर चुनावी मैदानमा होमिएका हुन्। यसपटक त्रिपाठीले सूर्य चिह्नमा चुनाव लड्न नमानेपछि मनोनयन दर्ता गराउने दिनको अन्तिम समयमा एमालले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो।

उम्मेदवारी फिर्ताको अन्तिम दिनसम्म त्रिपाठीले एमालेका शीर्ष नेतामार्फत बुढाथोकीको उम्मेदवारी फिर्ता गराउन सफल भएका छन्। तर अघिल्लो पटक सूर्य चिह्नमा मतदान गरेका एमाले मतदाताले यसपटक फेरि मत हाल्नेमा त्रिपाठी नै विश्वस्त छैनन्। अर्कोतर्फ सूर्य चुनाव चिह्न लिन नचाहेको चर्चाले पनि त्रिपाठीलाई ‘ब्याक फायर’ को त्रास छ।

त्यसैले एमालेको साथ पाउँदा पनि स्थिति जटिल बनिरहेको उनको विश्लेषण छ।

२०४८, २०५१ र २०५६ मा भएको संसदीय निर्वाचनमा नेपाल सद्भावना पार्टीको चुनाव चिह्नबाट विजयी भएका उनी २०६४ सालको पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने तराई मधेस लोकतान्त्रिक पार्टीबाट लडेका थिए।

त्रिपाठी अहिलेसम्म ६ पटक मन्त्री भइसकेका छन्। उनी २०६४ सालमा वन मन्त्री, २०६३ सालमा उद्योग वाणिज्य तथा आपूर्ति, २०६८ मा भौतिक योजना तथा सडक यातायात, २०७६ मा संघीय मामिला तथा सामान्य प्रशासन र २०७७ मा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका बनिसकेका छन्।

यता दुईपटक समानुपातिक सांसद बनेका चौधरी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन्। उनी निर्वाचन क्षेत्रको विकास आफ्ना लागि प्रतिष्ठाको विषय भएको बताउँछन्।

नाम र पैसाका लागि आफूले राजनीति नगरेको चौधरीको दाबी छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित भइसकेको व्यक्ति भएकाले आफू पैसाका लागि राजनीतिमा नआएको उनी बताउँछन्। क्षेत्र परिर्वतन भए पनि नवलपरासी पश्चिम-१ को समस्याबारेमा आफू जानकार रहेको र समधान गर्न सक्ने दाबी उनको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here