पूर्वाधार विकास बैंकलाई साना परियोजनामा लगानी गर्न बाटो खुल्यो, प्रतिपरियोजना ३० करोडसम्म लगानी गर्न सक्ने

२०७५ फागुनमा पूर्वाधार विकास बैंकको उदघाट्न गर्दै अर्थमन्त्री युवराज खतिवडा (फाइल फोटो) ।

काठमाडौं २१, साउन । पूर्वाधार विकास बैंकले प्रति परियोजना ३० करोड रुपैयाँ सम्म लगानी गर्न पाउने भएको छ । राष्ट्र बैंकले सोमबार परिपत्र मार्फत उक्त निर्देशन दिएको हो ।

राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत पूर्वाधार विकास बैंकले लगानी गर्न सक्ने न्यूनतम सीमा घटाएको थियो । अहिले त्यही व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो ।

अब पूर्वाधार विकास बैंकले ३० करोड प्रति परियोजना भन्दा कम कर्जा स्वीकृत तथा प्रवाह गर्न सक्ने छैन । यसअघि यस्तो सीम प्रति परियोजना ५० करोड थियो

‘आफूले जारी गरेको मुद्दती निक्षेप रसिदको धितोमा ५० करोड भन्दा कम रकमको कर्जा प्रवाह गर्न यो व्यवस्थाले बाधा पारेको मानिने छैन,’ निर्देशनमा उल्लेख छ ।

पूर्वाधारमा मात्र लगानी गर्न स्थापना भएको यो बैंक ०७५ फागुन देखि सञ्चालनमा आएको हो । यो बैंकले राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रूपमा ०७५ माघ २८ मा राष्ट्र बैंकबाट अनुमति पाएको थियो । सरकारको १० प्रतिशत लगानी रहेको यो बैंकमा पब्लिक लिमिटेड कम्पनी (वाणिज्य बैंक, बिमा कम्पनी) को करिब ४० प्रतिशत लगानी छ ।

राष्ट्र बैंकले ‘पूर्वाधार विकास बैंकसम्बन्धी नीतिगत व्यवस्था २०७४’ मार्फत यो बैंकलाई सञ्चालन अनुमति दिएको हो । पूर्वाधार विकास बैंकको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था कानुनमा छ ।

निजी लगानीकर्ताको १० प्रतिशत र बाँकी ४० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको सेयर बैंकले पछि जारी गर्नेछ । ४० अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको यो बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ छ ।

स्थानीय लगानी मात्रै रहेर यस्तो बैंक स्थापना भएमा संस्थापक समूहले न्यूनतम ५१ प्रतिशतदेखि ७० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यस्तो अवस्था उक्त कम्पनीले सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत र आफ्ना कर्मचारीलाई न्यूनतम ०.२ प्रतिशतसम्म सेयर छुट्याउनुपर्ने व्यवस्था कानुनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here