घरेलु, साना उद्योगलाई निश्चित समय सबै करबाट मुक्त गरिने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्भावनायुक्त लघु घरेलु तथा साना उद्योगलाई निश्चित समयका लागि सबैखाले करबाट मुक्त गर्ने बताएका छन् ।

स्वदेशी उत्पादनको अभिवृद्धि गर्न त्यस्ता उद्योगलाई पूँजी, प्रविधि र पहुँचका लागि विशेष कार्यक्रम अगाडि सारिने पनि उनको भनाइ छ ।

राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट शुरु भएको १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ को उद्घाटन समारोहमा बोल्दै प्रम प्रचण्डले स्थानीय तहमा उद्योग ग्राम सञ्चालन गर्न संघीय सरकारले उनीहरुलाई अनुदान दिने पनि बताए ।
मेला फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।

अहिले स्थानीय तहमा लघु उद्योगग्राम, घरेलु तथा साना उद्योगग्राम बनाउने पूर्व कार्यक्रमको व्यवस्थित हुन नसकेको हुँदा त्यस्ता उद्योग स्थापना र सञ्चालनका लागि संघीय सरकारले स्थानीय तहलाई सिधै अनुदान दिने व्यवस्था मिलाइनेछ, उनले भने ।

प्रधानमन्त्रीका अनुसार मुलुकमा सकारात्मक औद्योगिक वातावरण निर्माणका लागि तीनवटा तहका नीति कार्यक्रमहरू एक अर्काको पूरक हुन नसकेको हुँदा अब तीनै तहको सरकारको सहभागितामा प्रगतिशील औद्योगिक नीति बनाई तीनवटै तहमा लागू गरिनेछ ।
त्यस्तै, महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई अझै प्रभावकारी बनाइनेछ । कृषिलाई व्यवसायिक र औद्योकिरण गरी देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले विशेष प्राथमिकता दिनेछ ।

स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिबृद्धिका लागि सरकारद्धारा सञ्चालित प्रधानमन्त्री स्वदेशी वस्तु उत्पादन तथा उपभोग अभिबृद्धि कार्यक्रम लगायत उद्योग प्रवर्धनका विभिन्न कार्यक्रम र सोसँग विभिन्न कोषहरु लामो समयदेखि कागजमामात्रै सीमित रही निष्कृय रहेको हुँदा यसको द्रूततर कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयले निजी क्षेत्रको सहभागितामा कार्यदल बनाई तत्काल लागू गर्ने बताइएको छ ।

यसका साथै लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रधानमन्त्री पचण्डको भनाइ छ ।

वित्तीय अस्थिरताका कारण लघु घरेलु र साना उद्योगीले उपभोग गरेको कर्जामा अत्यधिक ब्याज बृद्धि हुन गई उद्योगीहरूमा परेको समस्या तत्काल समाधान गर्न सरकारले पहल गर्नेछ । लघु घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुनकर्जा प्राप्त गर्ने वातावरण बनाइनेछ ।

‘लघु घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्टार समेतमा कागजात र राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेकोप्रति सरकारले ध्यानकृष्ट गरेको छ । त्यसलाई उचित समाधान खोजिनेछ,’ प्रधानमन्त्री पचण्डले भने ।

उनका अनुसार उत्पादनमूलक लघु घरेलु तथा साना उद्योगका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाहरूलाई पुनःपरिभाषित गर्दै सम्भावनायुक्त उद्योगहरूको प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याइनेछ ।

स्वरोजगारी र रोजगारी सिर्जनाका लागि स्वदेशी कच्चा पदार्थमा आधारीत स्वदेशी उत्पादनमूलक र उद्योगहरूलाई दक्ष जनशक्ति उत्पादनको लागि कार्यस्थलमा तालिमको व्यवस्था मिलाउने सरकारको योजना छ ।

पूँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगीहरू ठूलो मारमा परेको र त्यसका लागि राज्यले विशेष आर्थिक प्याकेज सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना हुँदैछ ।

मुलुकभरिका झण्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरू प्रतिविम्वित गर्ने यस प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहनेत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here