कर्जा लगानी सुस्त, ३७ प्रतिशतले लिए व्यक्तिगत ऋण

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा घरजग्गा धितो राखेर ऋण लिनेको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको १० महिनामै घरजग्गा धितोमा ऋण लिनेको संख्या ०.९ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार मसान्तसम्म ६६.४ प्रतिशतले घरजग्गा धितोमा ऋण लिएकोमा वैशाखसम्म आइपुग्दा बढेर ६७.३ प्रतिशत पुगेको छ ।

नेपालमा अन्य देशमा जस्तो बिजनेश प्लान धितो राखेर ऋण दिने चलन अत्यन्तै कम हुँदा अधिकांशले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा घरजग्गा धितो राख्ने गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ४८ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । ब्याजदर वृद्धि र अर्थतन्त्रमा आएको संकुचनका कारण ऋणको माग नहुँदा चालु वर्षमा बैंकहरूको कर्जा लगानी सुस्त भएको छ ।

वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । जबकि गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५ खर्ब ४८ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाकोअंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरूको ५.० प्रतिशतले र वित्त कम्पनीहरूको १.१ प्रतिशतले बढेको छ ।

चालु वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतलेबढेको छ भने अधिविकर्ष कर्जा ६६.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.९ प्रतिशतले र हायर पर्चेज कर्जा १२.१ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here