काठमाडौं । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने भएको छ।
जसका कारण दिन सबैभन्दा लामो र अत्यधिक गर्मीको दिन हुने बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जानकारी दिएको छ।
समितिका निमित्त कार्यकारी निर्देशक डा सनत कुमार शर्माका अनुसार पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गर्छ। सूर्यको वरिपरी घुम्ने पृथ्वीको परिभ्रमण पथ अण्डाकार छ। जसले गर्दा पृथ्वी वर्षमा एकपटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्छ।
पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुन्छ। पृथ्वी र सूर्यबीचको दुरी करिब १५ करोड किलोमिटर छ। आज सूर्य र पृथ्वीबीचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुनेछ।
पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ। सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जाने निर्देशक शर्माले बताएका छन्। सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ।
समितिका निर्देशक डा शर्माका अनुसार पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ। आज पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ।
उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन्। यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुव (अस्ट्रेलिया, न्यूजिल्याण्ड आदि)मा दिन छोटो, रात लामो र चिसो हुन जान्छ।