रक्षा रेग्मी
काठमाडौं । भोजपुरी बुझिन्छ नि ? सिनामंगलस्थित ‘पुरानो घर’ थिएटर पस्नासाथ निर्देशक रोशन सुबेदीको प्रश्नले म एकछिन अक्कमकिएँ । अनि मुस्कुराउँदै उत्तर दिएँ, हिन्दी बुझ्छु । वरिपरिका दर्शक हाँसे ।
‘ए त्यत्ति भए त भै गो नि, हिन्दी र भोजपुरी उस्तै उस्तै हुन्छ,’ नाटक हेर्न आएका एक मधेशी युवकले भने ।
तर नाटक हल भित्र नपस्दासम्म मनमा नाटक नबुझिने पो हो की भन्ने एउटा चिन्ता रहिरह्यो ।
हामी पुरानो घरभित्र पस्दा स्टेज खाली थियो दर्शक दीर्घानजिकको एक छेउमा हारमोनियम, तबला, बाँसुरी, मादल, गितार लगायतमा सुर भर्दै थियो एक टोली ।
त्यो टोलीको संगीतमा गुञ्जिएको भोजपुरी गीतले ध्यान तानिहाल्यो । धेरै त बुझिएन तर तराईमा किसानको आपविति र समस्यामाथि बनेको गीत हो भन्ने छनक पाइयो ।
स्वर र संगीत भने ज्यादै सुमधुर थियो । त्यो भोजपुरी गीतले एकै छिनमा करिव तीन दशकअघिको तराईको कुनै एक बस्तीमा पुर्याएको आभाष गराउँछ । त्यसपछि दर्शक मधेशको त्यही बस्तीमा पुग्छ जहाँ सरकारी अनुदानमा ट्युवेल ल्याउनका लागि लागि परेको हरियाको घर छ ।
किन हेर्ने ट्युवेल
तपाईं मधेश मुलको हुनुहुन्छ वा मधेश बुझ्नु भएको छ भने यो नाटक हेर्नुस्, बुझ्नु भएको छैन भने त झनै हेर्नुस् । किनकी १ घण्टा २५ मिनेटमा नाटकका हरिया, मुन्नी, नन्दनलगायतले मधेशसँग परिचित गराइदिन्छन् ।
रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकको प्रत्येक कलाकारको प्रस्तुती प्रसंशनीय छ । चलचित्रकै शैलीमा बुनिएको कथामा मधेशमा साहुको ज्यादती र निमुखा जनताले पाएको सास्तीले भावुक बनाउँछ ।
त्यसो त मज्जाले पेट मिचीमिची हास्ने दृष्य पनि नाटकमा प्रसस्तै छन् । संवाद र प्रस्तुति यथार्थ नजिक छ, जसले दर्शकलाई आफू थिएटरमा नभइ तराईको कुनै गाउँ सभामा रहेको वा कसैको घरमा पाहुना बनेको जस्तो अनुभुति दिन्छ ।
नाटकको एउटा सशक्त पक्ष भनेको प्लेब्याक संगीत पनि हो । नेपथ्यमा गुन्जिने जानुका नेपालको गायनलाई शरद राई, दिपेश राई र राजकमल फकिरको बाद्यबादनले मिठास भरेको छ । शरदको बाँसुरी सुन्न तपाईं फेरी पुरानो घर जाने संभावना नरहला भन्न सकिन्न ।
नाटकमा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजिव चौधरी, कुन्दन थारु, रोहित रजकलगायत कलाकारको अभिनय छ ।
नाटकमा पर्साको एक गाउँमा एक जोडी दम्पती हरिया र मुन्नी तथा भतिज मंगला बस्छन् । हरियाको जिविकोपार्जनका लागि एक जोडी गोरु र केही खसीबाख्रा र सानो खेत छ । श्रीमती मुन्नी घरायसी कामैमा व्यस्त हुन्छे । भतिज मंगला माछा मारेर जीवीका चलाउछन् । यस्तै हरियाको साथी हो नन्दन ।
नाटकमा लालबहादुर खड्काको भूमिकामा छन् भुवन लुहार । सरकारी कर्मचारी लालबहादुर खड्काले ट्युवेल बनाउनको लागि हरियाको खेत सबैभन्दा उपयुक्त भएको बताउछन् । त्यसमा हरिया नन्दन र मंगला खुशी भए पनि चित्तरञ्जन खुशी हुँदैन ।
ट्युवेलबाट पानी ल्याएर सिंचाई गर्ने सपनामा विभिन्न उतारचढाव आइरहन्छ । मुखिया र उसको मतियारले सरकारी कर्मचारीको समेत मिलेमतो र षडयन्त्रमा कसरी अनपढ गाउँलेलाई सास्ती भोग्न बाध्य पार्छन् भन्ने कथा नाटकले बोलेको छ ।
ट्युबेल तराईको प्रतिनिधि कथा हो । अझ अहिले मिटरब्याजीहरुबाट पीडित जनताको मुद्दा सतहमा आइरहेका बेलामा यो नाटक झनै सान्दर्भिक भएको छ ।
मुख्य कुराः यो नाटक बुझ्नका लागि भोजपुरी भाषा बुझ्नु पर्दैन, कथाले तपाईंलाई त्यसैमा बगाइदिन्छ । नाटक बुधवार बाहेक शनिवार १ बजे र अन्य बार हरेक साँझ ५ :१५ मा शुरु हन्छ ।