वन्यजन्तुबाट हुने मानवीय तथा पशुबाली धनको क्षतिपूर्ति रकम वृद्धि

काठमाडौं । वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार तथा वृद्धि भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

यो निर्देशिका १ साउनबाट कार्यान्वयनमा आएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यसअघि ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९’ खारेज गर्दै नयाँ निर्देशिका कार्यान्वयनमा आएको हो ।

वन्यजन्तुको आक्रमणबाट सामान्य घाइतेलाई स्वास्थ्य संस्थाको सिफारिसमा बिल अनुसार दिइने उपचार खर्च २० हजार यथावत राखिएको छ । गम्भीर घाइतेको हकमा भने राहत विस्तार गरिएको छ । यसअघि गम्भीर घाइतेको हकमा २ लाख रुपैयाँसम्म राहत दिने उल्लेख थियो ।

यसमा विस्तार गर्दै निर्देशिकाले २ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा इमर्जेन्सी उपचार गराउँदा लागेको खर्च र त्यसपछि सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च समेत अब अस्पतालका चिकित्सकको सिफारिसमा सरकारले उपलब्ध गराउने भएको छ ।

अङ्‍गभङ्‍ग भई जीवनभर शारीरिक रुपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई अब जिविकोपार्जनका लागि एकमुष्ट ६ लाख रुपैयाँ दिइने भएको छ । यसअघि यो प्रावधान थिएन ।

मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालाले १० लाख रुपैयाँ पाउने पुरानै व्यवस्थाले निरन्तरता पाएको छ । गम्भीर घाइते भई उपचाररत रहेको व्यक्ति अस्पतालबाट डिस्चार्ज भएपछि सोही कारणले ३५ दिनभित्र मृत्यु भएमा वा अस्पतालमा थलिएर मृत्यु भएमा अस्पतालको खर्चसहित मृत्यु हुने व्यक्तिका हकवालाले पाउने राहत रकम समेत पाउने भएको छ । यसअघि यो प्रावधान थिएन ।

सरकारले वन्यजन्तुबाट पशुधनमा हुने क्षतिपूर्ति रकमलाई भने दोब्बरसम्म वृद्धि गरेको छ । निर्देशिका अनुसार भैंसी वा राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौंरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्यांकनको आधारमा अधिकतम प्रतिपशु ६० हजार रुपैयाँसम्म दिइने भएको छ । यसअघि यो रकम अधिकतम ३० हजार रुपैयाँसम्म थियो ।

अन्य पशुको हकमा त्यसको प्रकार र मूल्यांकनका आधारमा प्रतिपशु १० हजार रुपैयाँसम्म दिने प्रावधानलाई निरन्तरता दिइएको छ । अब माछा र कुखुरा पालकले समेत वर्षको एक पटकका लागि क्षतिको राहतका लागि दाबी गर्न सक्ने भएका छन् । यस्ता कृषकलाई क्षतिको मूल्यांकनका आधारमा बढीमा १० हजार रुपैयाँसम्म उपलब्ध गराइने निर्देशिकाले उल्लेख गरेको छ ।

अब वन्यजन्तुका कारण घरगोठको क्षति भएमा मूल्यांकनमा आधारमा बढीमा २० हजार रुपैयाँसम्म राहत दिइने भएको छ । यसअघि यो रकम १० हजार थियो । भण्डारण गरिएको अन्नको क्षति भएमा मूल्यांकनका आधारमा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिइने प्रावधान यथावत राखिएको छ ।

बालिको क्षति भएको हकमा भने एक मौसममा लगाएको बालीको एक पटक र वर्षमा दुई बालीका लागि मूल्यांकनका आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हकदाबी गर्न सकिने भएको छ । यो पुरानै प्रावधान हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here