विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, एक वर्षभन्दा बढीको आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले विहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चारमहिनाको तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ ।

यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा सञ्चितिमा सुधार आएको हो ।

प्रतिवेदनअनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भई २०८० कात्तिक मसान्तमा रु.१६९६ अर्ब ७८ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु.१४९० अर्ब ८३ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई रु.२०५ अर्ब ९५ करोड कायम भएको छ । २०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः
२८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here