फोन ह्याकिङ मुद्दामा राजकुमार ह्यारीको पक्षमा फैसला, १.४ मिलियन क्षतिपूर्ति तिर्नुपर्ने

एजेन्सी । बेलायतको एक उच्च अदालतले फोन ह्याकिङमा बेलायती पत्रिका प्रकाशक मिरर ग्रुप न्युजपेपर्सको संलग्नताका विषयमा राजकुमारी ह्यारीको पक्षमा फैसला दिएको छ।

यससँगै ह्यारीलाई १ लाख ४० हजार ६ सय पाउन्ड क्षतिपूर्ति भराउने फैसला पनि अदालतले गरेको छ। ह्यारीको विषयमा सो प्रकाशक अन्तर्गतका विभिन्न पत्रिकामा प्रकाशित १५ वटा आलेख ह्याकिङजस्ता अवैध सूचना संकलन विधिमा आधारित रहेको अदालतको ठहर छ। ह्यारीले ३३ वटा आलेख ह्याकिङमा आधारित भएको भन्दै मुद्दा हालेका थिए।

राजकुमार ह्यारी लामो समयदेखि कानुनी लडाइँ लडिरहेका थिए । अमेरिकामा बस्दै आएका प्रिन्स र उनकी श्रीमती मेगन मार्कल केही समयदेखि व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण चर्चामा छन् ।

राजकुमारलाई बेलायती राजगद्दीको पाँचौँ दाबेदार पनि मानिन्छ, तर राजपरिवारबाट उनको दूरी र अन्य केही मुद्दाका कारण निरन्तर चर्चामा आइरहेका छन् । लन्डन उच्च अदालतमा मुद्दा जितेका ३९ वर्षीय ह्यारीले मिरर ग्रुप न्युजपेपर्स (एमजिएन)का तीनवटा पत्रिका द मिरर, द सन्डे मिरर र द पिपलविरुद्ध गम्भीर आरोप लगाएका थिए ।

न्यायमूर्ति टिमोथी फ्यानकोर्टले आफ्नो फैसलामा ह्यारीको फोन सन् २००३ को अन्त्यदेखि अप्रिल २००९ सम्म सानो तरिकाले ह्याक भएको बताए ।

उच्च अदालतले ‘ड्युक अफ ससेक्स’ राजकुमार ह्यारीको आरोप ‘आंशिक रूपमा प्रमाणित भएको’ भनेको छ । फोन ह्याकिङसँगै सूचना संकलनका लागि गैरकानुनी तरिका अपनाएको पुष्टि भएको छ ।

जस्टिस फ्यानकोर्टले भने, प्रिन्ससँग सम्बन्धित लेखहरूबाट यो स्पष्ट हुन्छ कि फोन रेकर्डिङमा भएका कुराहरू ठ्याक्कै लेखिएका छन् । यसले ह्याकिङ वा फोन वार्तालापहरू अनाधिकृत सुनेको पुष्टि गर्छ । त्यतिबेला मिरर ग्रुपभित्र फोन ह्याकिङ चलिरहेको थियो । मुद्दा झण्डै २० वर्ष पुरानो भए पनि ‘फोन ह्याकिङ’लाई मात्र पत्रकारिताको औजार मान्न सकिँदैन ।

फैसला पछि एमजिएन ग्रुपका प्रवक्ताले फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिए । साथै उनले धेरै वर्षअघिका घटनाक्रमले अगाडि बढ्ने बाटो खुला गरेको साथै गल्तीहरुको लागि संस्थाले निःशर्त माफी मागेको पनि प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here