संसदको हिँउदे अधिवेशन आजबाट

काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो ।

वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन प्रारम्भ हुन लागेको हो । हिउँदे अधिवेशनमा यस पटक विधायिकी कार्यसँगै बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने छ । पहिलो पटक कार्यतालिकामा आधारित भएर अधिवेशन चलाउने तयारी संसद्ले गरेको छ ।

संसद् सचिवालयले अधिवेशनको सबै तयारी पूरा भइसकेको जनाएको छ । अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची दुवै सदनले तय गरिसकेका छन् । कार्यव्यवस्था परामर्शको सुझावका आधारमा तयार सम्भावित कार्यसूची अन्तिम भने भइसकेको छैन ।

अधिवेशन प्रारम्भको दिन राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानको जानकारीको पत्र पढेर सुनाइने छ । यस्तै अध्यक्षमण्डलको मनोनयन पनि हुने छ । अधिवेशन नभएको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश दुवै सदनमा पेस हुने छ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यादेश सिफारिस गरेको थियो ।

अध्यादेश अधिवेशनको पहिलो बैठकमा पेस गर्ने व्यवस्था अनुसार सभामा पेस हुने छ । यस्तै सङ्घीय संसद्को कार्यवाहक महासचिव तोकिएको जानकारी पनि दुवै सदनमा दिइने छ । अधिवेशनमा विधायिकी कार्यतालिका व्यवस्थित गर्न खोजिएको छ ।

विचाराधीन विधेयकको छलफलको मिति प्रस्तावित छन् । हिउँदे अधिवेशनका लागि प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको एक प्रतिवेदन तयारी अवस्थामा छ । अन्य विधेयकमा छलफल भए पनि विषयगत समितिले प्रतिवेदन तयार पार्न सकेका छैनन् ।

राष्ट्रिय सभातर्फ पनि विधायन समितिमा दफावार छलफल जारी भए पनि प्रतिवेदन बन्ने चरणमा पुगेका छैनन् तर दुई विधेयक दफावार छलफलको अन्तिम चरणमा छन् ।

सङ्घीय संसद्मा अहिले विभिन्न चरणमा २४ विधेयक विचाराधीन छन् । जसमध्ये राष्ट्रिय सभामा तीन र प्रतिनिधि सभामा २१ विधेयक छन् । सरकारले प्राथमिकताका आधारमा हिउँदे अधिवेशनमा पहिलो प्राथमिकतामा राखेर पेस गर्ने विधेयकको सूची पनि तयारी गरिरहेको छ । पहिलो प्राथमिकताको सूचीमा सरकारले ३० भन्दा बढी विधेयकलाई राखेको छ ।

सङ्घीय संसद्मा अध्यागमन, विधायनसम्बन्धी विधेयक, बैङ्किङ कसुर तथा सजाय विधेयक, औषधी तथा स्वास्थ्य सामग्री ९नियमन तथा नियन्त्रण० विधेयक, विद्युत् विधेयक, विद्यालय शिक्षा विधेयकलगायत विचाराधीन छन् । यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि विचाराधीन छन् ।

यस्तै विद्युतीय व्यापार, नेपाल विश्वविद्यालय, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर, सुरक्षण मुद्रण विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण, अनुगमन तथा मूल्याङ्कन, भ्रष्टाचार निवारण तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पनि विचाराधीन छन् । यस्तै राजनीतिक दलसम्बन्धी विधेयक पनि हालै प्रतिनिधि सभामा दर्ता भएको छ ।

गैरसरकारी बिजनेसका रूपमा हिउँदे अधिवेशनमा विभिन्न प्रस्तावको छलफल, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर, शून्य र विशेष समयमा उठाइएका प्रश्नमा जवाफ, लिखित तथा मौखिक प्रश्नमा जवाफलगायतलाई पनि प्राथमिकता दिने तयारी सचिवालयले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here