हिले धान खेतमा ओर्लिएका हेलिकोप्टर कसरी ‘सुरक्षित अवतरण’ ?

काठमाडौं, १ असोज । मंगलबार लुक्लाबाट ११ वटा हेलिकोप्टर काठमाडौंका लागि उडे ।

त्यसमध्ये दुइ वटा काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न सफल भए भने नाै वटा हेलिकोप्टर भने सोलुखुम्बुदेखि काभ्रेकाे बीचमा पर्ने विभिन्न स्थानमा अलपत्र अवस्थामा अवतरण गरे ।

कुनै मैदानमा उत्रिए भने धेरैजसो हेलिकोप्टर काभ्रेको हिलाम्य धान खेतमा ओर्लिएर बसे । दिनभर यो समाचारलाई नेपाल तथा विदेशका संचरमाध्यमले प्राथमिकताका साथ प्रसारण प्रकाशन गरे ।

संचारमाध्यमले हेलिकोप्टरहरु आकस्मिक अवतरण गरी सुरक्षित अवस्थामा रहेको उल्लेख गरेका थिए । मंगलबार साँझ वायुसेवा संचालक संघ (आयोन)ले एक विज्ञप्ती प्रकाशन गर्दै भन्यो, हेलिकोप्टर ‘आकस्मिक’ होइन, ‘सुरक्षित’ अवतरण हो ।

उनीहरुको यो भाषालाई भने हवाई विज्ञहरु आँखामा छारो हाल्ने काम भन्छन् । जब एक गन्तब्यबाट उडेको वायुयान निर्धारित गन्तब्यमा नपुगी जमिनमा ओर्लनु पर्छ, त्यो आकस्मिक अवस्था नै हो ।

सुरक्षित अवस्थामा जहाज गन्तब्यमा पुगेर मात्र मैदानमा उत्रन्छ । त्यसकारण हवाई क्षेत्रमा आकस्मिक अवतरणको प्रावधान नै राखिएको हुन्छ ।

मंगलबार आकास सफा थिएन । लुक्लाबाट प्रतिकूल मौसमको वेवास्ता गर्दै एकै पटक १ दर्जन हेलिकोप्टर उडेका छन् ।

लुक्लामा जहाज नै उड्न नसकेर पर्यटक अलपत्र परेको अवस्थामा हेलिकोप्टर कसरी उडे ? नेपाल नागरिक उड्डयन प्राधिकरणले यसबारे छानविन त पक्कै गर्ला ।

हिलाम्य धान खेतमा अलपत्र गरी उत्रिएका हेलिकोप्टरको कसरी आकस्मिक नभई सुरक्षित अवतरण हो ? यसको पनि जवाफ प्राधिकरणले खोज्ने छ ।

पक्कै पनि मंगलबार हेलिकोप्टरहरुको अवतरण आपतकालिन थिएन । किनकी हेलिकोप्टरमा प्राविधिक समस्या थिएन ।

तर, मौसमको खराबीले आकासमा उड्न नसकि अकस्मात ग्राउण्डमा उत्रनु सामान्य अवस्था होइन, आकस्मिक अवस्थामा मात्र यसो गर्नुपर्ने हुन्छ ।

वायुसेवा कम्पनीहरुले डलरको लोभमा धेरै पटक वायुसेवा सम्बन्धि कानूनहरुको उल्लंघन गर्दै आएका छन् । कतै यो विषयमा पनि त्यस्तै लापरवाही त भएको छैन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here