मेलम्ची खानेपानीकाे हेडवर्क्सका १ किमी सारिँदै, साढे ४ अर्ब खर्च हुने

फाइलफोटो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु)मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ ।

हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा विपत्को जोखिम बढी भएको भन्दै र लागत बढी लाग्ने भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो ।

खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना नै उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी उपलब्ध गराउनका लागि आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो । आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ ।

हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरुपमा सुरक्षित रहेको रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले नयाँ हेडवर्क्स निर्माणका पहिचान गरिएको स्थान हाल हेडवर्क्स भएको स्थानबाट एक किलोमिटरको दूरीमा रहेको बताए । उनले उक्त स्थानमा एक किलोमिटरभन्दा कम लम्बाइको सुरुङ निर्माण गरे पुग्ने देखिएकाले सार्कस्थलीमै नयाँ हेडवर्क्सका लागि उपयुक्त रहेको जिकिर गरे ।

‘प्रस्तावित नयाँ स्थान हाल हेडवर्क्स रहेको स्थानभन्दा करिब एक सय मिटर उचाइमा छ । ‘फ्लसिङ’ प्रणालीबाट निर्माण गर्न सहज हुने तथा विगतमा जस्तै प्राकृतिक विपत् आएमा कम प्रभाव पर्ने अध्ययनले देखाएको छ,’ उनले भने, ‘प्रस्तावित स्थानको दायाँ, बायाँ र पिँधमा समेत चट्टान अवस्थित रहेकाले दिगो हुने देखिएकाले प्रस्तावित नयाँ स्थान सुरक्षित छ ।‘

उनले हरेक मनसुनको औसत बाढी र यस्तै किसिमको बाढीबाट संरचनामा कम प्रभाव पर्ने, हरेक वर्ष बर्सातको समयमा जम्मा हुनसक्ने ढुङ्गा, माटो र गेग्रानबाट पानी पथान्तरणमा प्रतिकूल असर नपर्ने देखिएको बताए ।

मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानका लागि प्रारम्भिक अनुमानित खर्च रु ४ अर्ब ५० करोड लाग्न सक्ने भन्दै उनले लागत व्यवस्थापनका लागि दातृ निकायसँग पनि अनुरोध गर्ने बताए । उनका अनुसार नयाँ हेडवर्क्स निर्माणका लागि पाँच वर्ष लाग्नेछ ।

अन्सारीले ग्राभेल र सेडिमेन्ट हटाउने प्रणाली सुरुङभित्रै निर्माण गर्ने, बाढीको कारणले निर्मित संरचनामा कुनै असर नपर्ने, प्रस्तावित नयाँ इन्टेकसम्म पुग्नो लागि सुरुङभित्रै मार्ग निर्माण गर्ने बताए । बर्सातको समयमा पनि रेखदेख, मर्मत र सम्भारमा समस्या नपर्ने, याङ्ग्रीबाट आउने सुरुङलाई पनि हालको मेलम्ची सुरुङमा सिधै जोडिने भएकाले कुनै एक नदीमा समस्या भएमा पनि अरू दुईवटा नदीबाट निरन्तररुपमा काठमाडौँ उपत्यकामा पानी प्रवाह गर्न सकिने उनको भनाइ छ ।

‘एसियाली विकास बैङ्कको प्राविधिक सहयोगमा बाढी आउनुको सम्भावित कारण र दिगो समाधानको उपायको सम्बन्धमा अध्ययन गरिएको छ,’ उनले भने, ‘नयाँ हेडवर्क्सका लागि डिजाइन अवधारणा तयार गरी हेडवर्क्स निर्माणका लागि स्थान पहिचान गरिएको छ । विद्यमान हेडवर्क्सको दिगो उपयोगको सम्बन्धमा अध्ययन गर्ने र दिगो समाधानको अवधारणा अध्ययन गरी सोबारे राय दिने काम भइरहेको छ ।‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here