सेबोनको अनावश्यक प्रचारबाजी

गत ७ गते संसदको अर्थसमितिमा अर्थसमितिद्धारा आयोजित छलफल कार्यक्रममा अध्यक्ष कार्कीले धितोपत्र दलाल व्यवसायी सुशासित, सक्षम तथा प्रतिस्पर्धी नभएको भन्ने कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण आरोप लगाएका छन् । हामी सम्पूर्ण धितोपत्र दलाल व्यवसायी उनको त्यस्तो कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दछौं ।

धितोपत्र बोर्डले बनाएका नीति–नियम बमोजिम धितोपत्र दलाल व्यवसायीले हालसम्म पनि ग्राहकको लागि धितोपत्रको खरिद–बिक्री गरिदिने र सोको राफसाफ गरिदिनेभन्दा बाहेकका अन्य कार्यहरु गर्न नपाईने व्यवस्था छ ।

धितोपत्र दलाल व्यवसायीले सेवाग्राहीलाई सेवा प्रदान गर्दा धितोपत्र बोर्डले नै बनाएका विद्यमान व्यवस्थाको अधिनमा रही काम गरिरहेका हालको परिप्रेक्ष्यमा धितोपत्र दलाल व्यवसायी प्रतिस्पर्धी हुन सकेनन् भनेर कार्कीले संसदको अर्थसमितिमा समेत किन झुठो तथा भ्रमित ब्रिफिङ गर्नु भयो, हामी दुःखी तथा आश्चर्यचकित भएका छौं ।

धितोपत्रको दोश्रो बजारमा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायी नै हुन्छन् । कामका आधारमा पूँजी, प्रविधि र जनशक्ति सहित धितोपत्र दलाल व्यवसायीको क्षमता विकास गरी धितोपत्रको दोश्रो बजारलाई गतिशिल बनाउन तथा पहुँच विस्तारलाई प्रभावकारी बनाउन धितोपत्र दलाल व्यवसायीबाट दिईएका वस्तुपरक सुझावलाई वेवास्ता गरिएको छ ।

धितोपत्र बोर्ड आफैमा अर्धन्यायिक निकाय भएको, धितोपत्र बजार तथा धितोपत्र व्यवसायका सम्बन्धमा व्यवसायीहरुलाई परेको मर्का तथा गुनासोको सुनुवाई गर्ने निकाय हो । बजारलाई थप सुदृढ र भरोसायोग्य बनाउदै नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन गरिनु पर्ने अनेकौं कार्यमा नलागि झुटो प्रचारबाजी तथा आधारहिन आरोपमा मात्र रमाई रहेको हामीले महसुश गरेका छौं ।

धितोपत्र बोर्डका अध्यक्षको हैसियतमा नेपाल सरकारले लागू गरेका नीतिनियम र सुधारका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनेकौं काम गर्नुपर्ने छ । तर, काममा आलटाल गर्दै बजारमा अन्यौल सिर्जना गर्न दत्तचित्त भएर लागेकोमा हामी मात्र नभई सरोकारवाला सबै दुःखी भएको सर्वविदितै छ ।

अनावश्यक प्रचारबाजी र विवाद सृजना गर्नुपूर्व दोश्रो बजारको वास्तविक आकार, सूचीकृत कम्पनीको संख्या तथा तिनले प्रतिनिधित्व गर्ने क्षेत्र, दोश्रो बजारमा हुने जोखिम, कारोबार गर्ने प्रकृया र प्रणालीको वस्तुपरक अध्ययन गरी दोश्रो बजारलाई वास्तविक रुपमा नै कति धितोपत्र दलाल व्यवसायीहरु चाहिने हो ? यसको विस्तृत अध्ययन गरी अध्ययनको आधारमा हामी यो बिषयका मुख्य सरोकारवाला लगायत सबैलाई चित्त बुझ्दो जवाफ दिनुपर्ने हो ।

अन्तराष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, ब्रोकर एजेन्टको माध्यमबाट धितोपत्रको दोश्रोबजारको पहुँच विस्तार नगरी ब्यवसायीको संख्या बृद्धि गर्नमात्रै एकोहोरो रुपमा लाग्नु पछाडिको कारण के हो ?

दोश्रो बजारको विकास र विस्तारको लागि नीतिनियममा सामान्य परिमार्जन गरी तत्काल कार्यान्वयनमा ल्याउन सकिने ब्रोकरबाट दिइएका वस्तुपरक र औचित्यपूर्ण सुझावलाई पुरै वेवास्ता गरेर पहुँच विस्तारको नाममा एकोहोरो बैंकलाई ब्रोकर लाइसेन्सको पछि मात्र लाग्नु कत्ति उचित हो ?

एकातिर ब्रोकरको लाइसेन्स बैंकलाई दिएमा पूँजीबजारको पहुँच देशभरी नै पुग्ने भ्रम फैलाउँदै हिड्ने, अर्कोतिर ब्रोकरको लाइसेन्स बैंकलाई दिने नभई बैंकले स्थापना गरेको सहायक कम्पनीलाई दिने भएकाले अनावश्यक शंका नगर्न सुझाव दिंदै हिड्ने गर्दा दोहोरो चरित्र देखिएन र ? बैंकले स्थापना गरेको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिंदा कसरी पहँुच विस्तार हुन्छ ?

हाल सञ्चालनमा रहेका धितोपत्र ब्रोकरहरुको क्षमता नभएकै कारण बैंकलाई ब्रोकर लाइसेन्स दिनुपरेको पूर्वाग्रही र भ्रमपूर्ण अभिव्यक्तिको आधार के हो ? न्यूनतम चुक्ता पूँजी २० लाखबाट छोटो अवधिमा नै १० गुणा पूँजी बृद्धि गर्न लगाई अनिवार्य रु. २ करोड रुपैयाँ कायम गरिएको छ । ब्यवसाय विस्तारको लालसा देखाई रु. ५ करोड भन्दा माथि बृद्धि गराईएको पूँजी कोषको उचित प्रतिफल प्राप्त हुने वातावरण बनाउने नीति, प्रोडक्ट ल्याउनु पर्ने होइन र ?

धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार नगरिंदा व्यवसायीसँग भएको हालको पूँजी, जनशक्तिको प्रयोग हुन सकेको छैन् । ग्राहकको लागि धितोपत्र खरीद गरिदिने र ग्राहकसँगै रकम र धितोपत्र लिएर कारोबारको राफसाफ गर्ने कार्य गर्दा व्यवसायीलाई कार्यालय सञ्चालनको लागि चाहिने रकमभन्दा बढी पूँजी व्यवस्था गर्न लगाएका औचित्य पुष्टी गर्नुपर्छ ।

पूँजीको लागत हुने भएकाले व्यवसायीक सम्भावनाको आधारमा व्यवस्था गर्न लगाउने र सोहि बमोजिमका कार्य क्षेत्र खुल्ला गरिनु पर्दछ नत्र विकृति सृजना हुन सक्छ भन्ने सामान्य कुराको चेत नियामक निकायका प्रमुखसँग हुनु पर्ने होइन र ?
धितोपत्रको दोश्रो बजारमा धितोपत्र दलाल व्यवसायीहरुमार्फत् धितोपत्रको खरीद–बिक्री कारोबार शुरु भएदेखि आजका दिनसम्म (२५ बर्षसम्म) पनि नियामक निकाय तथा बजार सञ्चालकले दोश्रो बजारको अति आवश्यक मानिने राफसाफ प्रत्याभूति कोष तथा अक्सन मार्केट जस्ता पूर्वाधारहरुको व्यवस्था गर्नु नपर्ने नै हो र ?

राफसाफ प्रत्याभूति कोष तथा अक्सन मार्केट जस्ता पूर्वाधारहरु नभएको अवस्थामा समेत धितोपत्र दलाल व्यवसायीहरुको उच्च सुशासन तथा नैतिक व्यावसायिक कार्यकुशलताले गर्दा खरीदकर्ताले शेयर प्राप्त नगरेको तथा बिक्रीकर्ताले रकम प्राप्त नगरेको एउटा पनि उदाहरण २५ बर्षे इतिहासमा हालसम्म नभएको अवस्थामा अध्यक्ष कार्कीले वदनियतपूर्वक धितोपत्र दलाल व्यवसायीमा सुशासन नभएको भनेर आरोप लगाउनु समग्र पूँजीबजार कै लागि दुर्भाग्य होइन र ?

दोश्रोबजारमा पूर्वाधार, औजार र सेवा प्रदायकलाई कार्यक्षेत्र विस्तार गरी क्षमतावान बनाई बजारलाई पारदर्शी, थप चुस्त र गतिशील बनाउन सकेमात्र प्राथमिक बजारको आकर्षण बढ्न गई देशमा पूँजी परिचालन भई उद्योग व्यवसाय खुल्ने, रोजगारी सृजना हुने, उत्पादकत्व बढ्ने आदी भई समग्रमा राज्यले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य हासिल गर्न धितोपत्र बोर्डले सही भूमिका खेल्नुपर्ने हो ।

बजारको समुचित विकास, विस्तार र पारदर्शिता ल्याउने काममा बोर्ड अध्यक्षले ध्यान नदिंदा बिद्यमान अवस्थामा बर्षौंदेखी सञ्चालनमा आएका उद्योग प्रतिष्ठान र परियोजनाहरुका शेयरहरु समेत प्राथमिक बजारमा बिक्री गर्न नै हम्मेहम्मे भएको अवस्था सबैको सामू छर्लङ्ग छैन र ?

मार्जिन लेन्डिङ कारोबार सुविधा प्रदान गर्न उत्पे्ररित गर्नुको सट्टा धितोपत्र दलाल व्यवसायीहरुसँग नीतिगत पूर्वाधारहरु उपलब्ध नगराई अनावश्यक रुपमा प्रचारबाजी गरिएको छ । पूँजीयोजना माग गर्ने, अनलाईन कारोबार प्रणालीको अनुसन्धानको नाममा धितोपत्र दलाल व्यवसायीहरुसँग अर्को नियामकको सम्बन्धमा रेकर्डेड अन्र्तवार्ता लिंदै हिड्न लगाउने लगायतका धितोपत्र बोर्डले गरेको देखिन्छ । यस्ता गैरजिम्मेवारपूर्ण गतिविधिले समग्र धितोपत्र बोर्डको नै गरिमा, प्रतिष्ठा र उचाईमा आँच आउन सक्ने कुरामा हामी अत्यन्त चिन्तित छौं ।

नीतिनियममा स्पष्टता ल्याई तद्अनुकूल कार्य नभएमारनगरेमा मात्र गल्ती, कमजोरीको आधारमा बिषयवस्तुको गाम्भिर्यता हेरी सुधारात्मक प्रक्रिया अपनाई अन्तिम अवस्थामा मात्र दण्ड, जरिवाना जस्ता कारवाहीहरु गर्नुपर्नेमा व्यवसायीलाई आतङ्कित पार्ने, अनावश्यक रुपमा दण्ड, जरिवाना गरी आफूले नियमन गर्ने संस्थामाथि गरिएको अनावश्यक कारवाहीलाई समेत ठूलो उपलब्धीको रुपमा निरन्तर एकोहोरो प्रचारप्रसार गरिरहने, व्यवसायीहरुको तेजोवद गर्ने, हतोत्साही गर्ने जस्ता कार्यहरु गर्दै हिड्ने प्रवृतीले गर्दा अध्यक्षको व्यक्तिगत कारणले समग्र पूँजीबजार तथा धितोपत्र बोर्ड स्वयम्को पनि गरिमा घट्दै गईरहेको प्रती हामी अत्यन्त चिन्तित छौं ।

उपरोक्त बमोजिमका यावत समस्याका बाबजुद नीतिनियमको परिधिभित्र रहि नेपाल धितोपत्र बोर्डले दिएका निर्देशनहरुको अक्षरस पालना गर्दै पूँजीबजारको बिकास र विस्तारका लागि आवश्यक पर्ने क्षमता तयार गरी बसेको र नियामक तथा बजारले भविष्यमा ल्याउने नयाँ औजारहरुको सफल कार्यान्यनको को लागि आवश्यक पर्ने थप पूर्वाधार तथा क्षमताको पूर्वानुमान गरी अभिवृद्धि गर्न हामी सधैं तत्पर छौं ।

(स्टक ब्रोकर एशोसिएशन अफ नेपालले जारी गरेको ज्ञापनपत्रको सम्पादित अंश)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here