कल्याण दुवाडी
गतवर्ष चैत २८ गतेका दिन वसुन्धरा स्थित एमबीए ह्यूमन रिसोर्स (MB Human Resorces) नामक वैदेशिक रोजगारदाता कम्पनीले दुबईको प्रतिष्ठित कम्पनी (West Zone Supermarket) मा Butcher (मासु काट्ने पेसा )को काममा कामदारको माग रहेको र उक्त कम्पनीमा जानको लागि जान चाहने ब्यक्तिले दुइ लाख रुपैयाँ मेनपावरमा बुझाउनु पर्ने भनेपछी राहदानी लिई मेरो ज्वाइलाई अन्तवार्तामा सामेल गरायो। सो कामका लागि मासिक न्यूनतम १२०० दिराम पारिश्रमिक दिने भनिएको थियो ।
अन्तवार्तामामा पास भइसकेपछि मेडिकल समेत गराई त्यस वापत ४५०० रुपैयाँ लिई यूएई स्थित कम्पनीबाट कार्य अनुमति वर्कपरमिट नपठाउन्जेल सम्मको लागि पर्खन अनुरोध गरियो। त्यसको करिव १ महिना पछि (United Arab Emirates Ministry Of Human Resorces & Emiratisation) हेडलाइन भएको पत्रमार्फत वर्क परमिट पनि आयो । तर, त्यो पत्रमा पहिले भनिएको जस्तो पारिश्रमिक १२०० न्यूनतम नभएर ५०० मात्रै तोकिएको थियो।
सुरुमा भनेजति तलव नहुने भएपछि मैले उहाँलाई उक्त कामको लागि त्यो कम्पनीमा नजान र राहदानी फिर्ता माग्न सल्लाह दिए । सोही अनुसार उक्त मेन पावरलाई अनुरोध गर्यौं, र कयौं पटक धायौँ पनि, तर जतिनै अनुरोध गर्दापनि उनीहरुले हाम्रो कुरा सुन्नै चाहेनन् ।
जवरजस्ती उनिहरुले जसरी पनि जानैपर्छ भन्ने आसय मात्रै सुन्न बाध्य बनाए। र हामिलेपनि त्यति तलबमा कुनै हालतमा नजाने र राहदानी जसरी पनि फिर्ता पाउनुपर्ने कुरा राख्यौँ।
त्यसपछि उनीहरुले राहदानी चाहिने नै भए ३५०/४०० दिराम मेनपावरलाई बुझाउनपर्ने नत्र राहदानी फिर्ता नगर्ने कुरा गरे।
यो कुरा चलिरहँदा मैले एक दुई ठाउँमा बुझेको पनि थिएँ यो बारेमा र राहदानी फिर्ता लिनको लागि कुनै रकम नलाग्ने र त्यो उक्त मेन पावरले अनावश्यक दुख दिनमात्रै खोजेको र पैसा असुल्न खोजेको कुरामा प्रष्ट भएँ।
ती कुराहरु थाहा पाईसकेपपछि मैले उक्त मेन पावरको मान्छे संग राहदानी फिर्ता लिनको लागि कुनै शुल्क नतिर्ने र आवश्यक परे कानूनी हिसाबले अघि बढ्ने कुरा समेत गरेँ, त्यो कुरा गर्दापनि ‘जुनसुकै निकायमा गएर जे सुकै गर’ भन्ने आसय प्रस्तुत गरे।
हामी त्यहाँबाट मलिन अनुहार लिएर र तिनीहरु प्रति आक्रोशित भाव लिँदै फर्कियौँ।
फर्किसकेपछी सोधपुछको लागि म नयाँबजारको प्रहरी चौकी पुगेर समस्या सुनाएँ,त्यसपछि त्यहाँको एकजना प्रहरीले यो समस्याको लागि बैदेशिक रोजगार विभाग ताहचल जानको लागि सुझाब दिनुभयो त्यसदिन ढिला भईसकेकोले म भोलि पल्ट बिहान करिब सवा दस बजेतिर बैदेशिक रोजगार विभाग पुगे।
त्यहाँ आफ्नो वेलिविस्तार सुनाईसकेपपछि निवेदन लेखेर बुझाउन भन्नुभयो मैले सोही अनुरुप आफ्ना सबै समस्याहरु समेटी विभाग प्रमुखलाई निवेदन लेखेर उताबाट आएको पाँचसय न्यूनतम भएको पत्रपनि संगै बुझाएँ मैले दिएको निवेदनमा उहाँले सही गर्दिनु भयो र अनुगमन शाखामा जान भन्नुभयो।
उक्त पत्र लिएर म अनुगमन शाखा पुगे।त्यहाँ पुग्दा दुई जना पुरुष र एक जना महिला कर्मचारी त्यहाँ हुनुहुन्थ्यो र म पुग्दा उहाँहरु आफ्नै ब्यक्तिगत कुराहरु गरिरहनु भएको थियो त्यहाँ हेर्दा लाग्थ्यो एकजना महिला र अर्को पुरुष अरु कुनै शाखाको हुनुहुन्थ्यो र उनिहरु त्यहाँ गफ गर्नको लागि मात्रै जानू भएको प्रष्ट बुझिन्थ्यो।
उहाँहरु कुरामा ब्यस्त भईरहँदा मैले झ्याल नजिकैको एक जना कर्मचारी लाई मेरो निवेदन हेर्न अनुरोध गरे, उहाँको ध्यान सेवाग्राही भन्दा पनि उतैतिर नै धेरै थियो। न्यायको खोजीमा त्यहाँ पुगेको म त्यहाँको कर्मचारीको सेवाग्राही प्रतिको जिम्मेवारी निकै कम महसुस गरिरहेको थिएँ।
त्यसपछि उहाँले उक्त निवेदन पत्र लिईसकेपछि आधा ध्यान म तिर दिँदै कम्प्युटरमा उक्त मेन पावरको विवरण खोज्नु भयो र उक्त मेन पावरको मालिकलाई फोन गरेको र फोन नउठेको कुरा गर्नुभयो र फेरि मेन पावरको अफिसको नम्बरमा फोन गर्नुभयो त्यो फोनमा उक्त ब्यक्तिको राहदानी फिर्ता गरिदिनुस् भनेको पनि सुनिरहेको थिएँ मैले र त्यो निवेदन पत्र समेत लिएर त्यहाँको कर्मचारी उक्त मेन पावरमा जाने भन्ने कुरा पनि बीचबीचमा गरेको सुनिरहेको थिएँ। झ्याल नजिकैको कर्मचारीले मलाइ तपाईं जानोस् एक दुई दिनमा तपाइको काम भईहाल्छ भनेर मलाइ त्यहाँ बस्नु नपर्ने कुरा गर्नु भयो।
मैले खुशी हुँदै हुन्छ सर बरु मिल्छ भने तपाइँको फोन नम्बरदिनुस् पछि आवश्यक पर्यो भने फोन गर्छु भनेर फोन नम्बर लिएर त्यहाँबाट निस्केँ। भोलिपल्ट त शनिबार नै थियो आइतबार केही होला भनेर कुरेँ तर केही नभएपछि मैले सोमबार अघिल्लो दिन नम्बर लिएको अनुगमनको कर्मचारीलाई फोन गरेर भने सर के हुँदैछ प्रक्रिया उताबाट फोन पनि आएन के गर्ने,तपाइँहरू बाट काम हुन्छ कि हुँदैन भनेर सोधेँ त्यसपछि मलाइ उहाँले ‘आफ्नो पारिवारिक समस्या या आर्थिक अभावको कारण उक्त कामको लागि बाहिर जान नसक्ने’ कुरा उल्लेख गर्दै उक्त मेन पावरको लागि एउटा निवेदन लेख्न भन्नुभयो ,यो सबै समस्याको कारक मेनपावर नै थयो ।
मैले यसमा आफ्नो समस्या देखाउन सक्दिन बरु अरु के कदम चाल्नुपर्छ यो काम म गर्न नसक्ने बताएँ। ‘त्यसपछि तपाँईलाई राहदानी फिर्ता नै चाहिएकोहो भने मैले भनेजस्तो गर्नुस’ भने। मेनपावरको झुठले,अत्याचारले न्याय खोज्दै त्यहाँ सम्म पुगेको म किन झुट बोलौँ त्यो पनि त्यही मेन पावरको बचाउको लागि।
मैले त्यसरी पत्र नलेख्ने बुझेपछी उहाँले आफू बिदामा रहेकोले ४/५ दिनपछि अफिसमा आउनुस् भन्नुभयो । उहाँको अर्कै नियत देखेर शाखामा अरु कर्मचारी नहुने हो र भनेर प्रश्न गरेँ त्यसपछि अरुपनि हुन्छन् भोलि जानुस् भन्नुभयो।
त्यसको भोलिपल्ट मंगलबार बिहान सवा दस बजेतिर म अनुगमन शाखा पुगेर झ्याल बाहिर कर्मचारी कुरेर बसिरहेँ एघार बज्दासम्म पनि कोहीपनि नआएपछि म अर्कोपट्टी शाखा पुगेर सोधपुछ गरे। अर्को कुनै कर्मचारी रहेको र त्यहाँ जानुस आउनुहुन्छ भनेर भन्नुभयो अनि उक्त शाखाको झ्यालपट्टी गएर सबै विवरण सुनाएँ। त्यो दिनपनि त्यहाँ भएको कर्मचारीले एउटा निवेदन लेखेर मेन पावरलाई दिनुस् न त तपाइँको राहदानी फिर्ता आईहाल्छ भन्नुभयो यति भन्दा मेरो रिस उठिसकेको थियो थोरै चर्को स्वरमा ‘मेनपावरको अन्यायले गुहार माग्न आएको म फेरि उक्त माफिया,दलालहरुको बचाउको लागि किन आफ्नो समस्या देखाएर अर्को निवेदन लेखौँ’भने ‘बरु यहाँबाट समाधान हुन सक्दैन भने कहाँ जानुपर्ने हो म जान तयार छु तर गलत काम गरेर माफियाहरुको संरक्षण गर्न सकिदैन ।’
चर्को आवाज सुनेर एकजना महिला कर्मचारी फोनमा बोल्दै आएर तपाइँको काम भईसक्यो सम्बन्धित मान्छेलाई राहदानी लिन मेनपावर पठाइदिनुस् भन्दै झ्याल नजिकै आएर मलाइ बोल्न दिनुभयो र उहाँ मेनपावर संचालक रहेको र तुरुन्तै राहदानी फिर्ता गर्ने कुरा गर्नुभयो र मलाइ उक्त संचालकको फोन नम्बर नोट गर्न लगाउनु भयो । मैले नम्बर नोट गरेँ र त्यहाँबाट ज्वाँइ लाई फोन गरेर राहदानी लिनको लागि गइहाल्न भने।
त्यसपछि उहाँ उक्त मेन पावर पुग्नुभयो र कुरा गर्नुभयो अनि २ बजेपछि मात्रै फिर्ता गर्ने कुरा भयो तर साँढे दुई बज्दा पनि एकछिन/एकछिन भन्दै फेरि आलटाल गर्न खोजियो यो बीचमा मैले अघि लिएको संचालकको भनिएको नम्बरमा फोन गरेँ तर त्यो फोन नम्बर मेन पावर संचालकको नभएर अघि रोजगार विभागको अनुगमन शाखामा फोनमा तपाइको काम भईसक्यो भन्दै आउने महिला कर्मचारीकै रहेछ त्यसपछि मैले उहाँलाइ अलि चर्को स्वरमा तपाइँहरू हामीलाइ सहयोग गर्न बस्नु भएको की दुख दिन भनेर प्रश्न गरेँ ।’अब म मेनपावरबाट मात्रै नभएर तपाईहरुबाटपनि अन्यायमा परेँ अब म कहाँ जानुपर्ने हो भनिदिनुस म जान्छु’ भने त्यसपछि उहाँले अलि अपमानजनक ढंगले कुराहरु गर्नुभयो र फेरि रोजगार विभागमा आउन भन्नुभयो र फोन काट्नुभयो।
एकछिन पछि उता राहदानी लिन जानुभएको ज्वाइँले मलाइ फोन गर्नुभयो र अनावश्यक कुराहरु गर्दै राहदानी नै खारेज गर्दिन्छु भनेर धम्क्याउँदै राहदानी फिर्ता गरेको कुरा गर्नुभयो।
मेनपावर संचालक र तिनका मतियारहरुबाट सहनै नसकिने व्यवहार,जसरीपनि पैसा असुली अनावश्यक दुख दिने र अराजक शैलीमा आफ्नो स्वार्थको लागि जे पनि गर्न खोज्ने कु प्रवृत्ति त देखिरहेकै कुरा हो तर,नागरिकको सहजता र सुरक्षाको लागि तिनै नागरिकहरुको रगत र पसिनाले तिरेको करबाट आफ्नो तलब,भत्ता खाएर कुर्चिमा बसेको रोजगार विभागका कर्मचारीहरुको पनि मेनपावर संचालकहरुसँग मिलेको कुरा प्रस्टै देखियो।