६८ जिल्लामा देखियो डेंगी, धेरै संक्रमित काठमाडौंमा

काठमाडौं । डेंगी रोगको संक्रमण ६८ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगी रोगको संक्रमण पनि बढ्न थालेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ का पाँच महिनामा ६८ जिल्लामा डेंगी पुष्टी भई एक हजार ४८ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ ।

यो अवधिमा काठमाडौंमा ९९, झापामा ९८, चितवनमा ७३, मकवानुरमा ५६ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । जाजरकोट, मुगु, डोल्पा, जुम्ला, बैतडी, मुस्ताङ, सिरहा र सर्लाहीमा भने यो वर्ष हालसम्म डेंगी नदेखिएको ईडीसीडीले जनाएको छ ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन ।

कसरी बच्ने ?

– लामखुट्टेको टोकाइबाट बच्ने

– घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्ने

– घर नजिक कुनै पनि झाडी नराख्ने

– लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्ने

– झ्याल ढोकामा जाली राख्ने

– शरीर पुरै ढाक्ने कपडा लगाउने

– सफाइमा ध्यान दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here