‘बिमाप्रति अविश्वासको वातावरण सरकार आफैंले सिर्जना गरिरहेको छ’

कुुनाल कयाल
अध्यक्ष, सानिमा जीआईसी इन्स्योरेन्स

बिमा गर्न चाहने बिमितको पहिलो इच्छा हुन्छ‘आफूले बिमा गरेबापतको पैसा केही समयपछि दोब्बर भएर फिर्ता आओस्’। सर्वसाधारण बिमितको बिमाप्रतिको साझा इच्छा हो यो । निर्जीवन बिमामा अधिकांश बिमितले आफूले बिमा गरेको सम्पत्तिमा क्षति पुगेजतिको सबै रकम बिमा कम्पनीले बेहोरोस्, क्षति बराबरको रकम आफूले पाइयोस् भन्ने नै हुन्छ । यो बिमाप्रतिको सर्वमान्य सिद्धान्त नै हो ।

सामान्यतः बिमा गरेर पनि क्षतिपूर्ति बराबरको पूरै भुक्तानी पाइएन वा जति सम्पत्तिमा क्षति भयो त्यो सबैको भरण बिमा कम्पनीले गरेन भन्ने आमगुनासो हुन्छ । बिमितको यो अपेक्षा गलत पनि होइन किनभने बिमा व्यवसायीहरूको पनि त्यही उद्देश्य हुन्छ– बिमितले बिमा गरेबापतको भुक्तानी पाउन र क्षतिपूर्ति बिमाबाटै भरण गरियोस् ।

बिमितको अपेक्षा र बिमा कम्पनी बीचको पुल बिमा अभिकर्ता बन्नुपर्ने थियो । अभिकर्ताले कति प्रिमियम तिर्दा कति दाबी भुक्तानी पाइन्छ भन्ने कुरा बिमितलाई बुझाएर बिमा गर्दा यस्तो समस्या देखिँदैन थियो । कम्पनीहरूले पनि बिमा अभिकर्तालाई सोहीअनुसार ‘ट्रेन्ड’ गर्न सकेका छैनन् । यसले पनि बिमाप्रतिको बिमितको विश्वासलाई कहिलेकाहीँ कमजोर बनाउने गरेको छ । त्यसबाहेक कहिलेकाहीँ बिमितको आफ्नै हेलचेक्र्याँइले पनि कम्पनीको विश्वास धरमराउन सक्छ । जस्तो बिमा गर्दा बिमितले अक्सर कम प्रिमियम भएका बिमालेखहरू रोज्ने गर्छन् । कम्पनीसँग बिमालेखको प्रकृति र मूल्यअनुसार त्यसमा लाग्ने प्रिमियम (बिमाशुल्क) फरक–फरक दरमा हुन्छन् । यस्तो अवस्थामा थोरै प्रिमियम तिरेर बिमालेख किन्दा सबै सम्पत्तिको बीमा नभएको हुनसक्छ र पछि बिमा गरेको सम्पत्तिको क्षति बढी भएको अवस्थामा किनेको थोरै प्रिमियमवाला बिमालेखले नसमेट्न सक्छ । किनभने बिमा कम्पनीले बिमा गरिएको रकमको क्षति बराबरको मात्रै भुक्तानी गर्छन् । यसले बिमितको क्षतिको पूर्ण भरण हुँदैन र बिमा कम्पनीप्रति असन्तुष्टि देखिन्छ । त्यसैले प्रिमियमभन्दा पनि सम्पत्तिको मूल्यांकन गरेर सोहीअनुसारको बिमा खरिद गर्नुपर्छ । प्रिमियम कम तिर्ने हुँदा बढी क्षति भएको खण्डमा सोही अनुसारको भुक्तानी बिमितले पाउँदैनन् । यसरी बिमितले अपेक्षा अनुसारको भुक्तानी नपाएपछि बिमाप्रतिको विश्वास कम हुन थाल्छ ।

यता कम्पनीहरूले बिमितले खरिद गरेकै बिमालेख बराबरको भुक्तानी गर्ने हुनाले बिमितको थप अपेक्षा पूरा गर्न सक्दैनन् । यस्तो अवस्थामा कहिलेकाहीँ बिमाप्रतिको विश्वास धरमराउन पुग्छ र यस्तो हुनुको मूल कारण बिमितलाई बुझाउन नसक्दाको परिणाम हो ।

मुुलुुक सूचना प्रविधि (आईटी)क्षेत्रमा बिस्तारै अघि बढिरहेको छ । बिमा क्षेत्रको नियामक नेपाल बिमा प्राधिकरणले डिजिटल कारोबारलाई जोड दिइरहेको छ । तर, अझै डिजिटल कारोबारमा जान सकिरहेको अवस्था छैन । दाबी भुक्तानीसमेत पूर्ण डिजिटलाइज भएको खण्डमा सर्वसाधारणमा बिमा पहुँच अझ बढ्ने अपेक्षा गर्न सकिन्छ ।

बिमा सम्झौतामा उल्लेख गरिएका सम्पूर्ण नियमहरू बिमितलाई बुझाउन नसक्नु कम्पनी र बिमा अभिकर्ताको हो । बिमितले पनि आफूले खरिद गरेको बिमासम्बन्धी नियमहरू नपढी बिमा गर्नु गल्ती हो । यो सबै समस्याको जड बिमाप्रतिको जानकारीको अभाव हो । बिमाप्रति जानकार बनाउन बिमा कम्पनी, बिमा अभिकर्ता, नियामक प्राधिकरण र सरकार सबैले तदारुकताका साथ काम गर्नुपर्छ । बिमा क्षेत्रमा अर्को सबैभन्दा बढी सुनिने जनगुनासो हो, भुक्तानी ढिलो भयो भन्ने । कम्पनीहरूले भुक्तानीमा ढिलो गर्न पाउँदैनन् । नियामकले दाबी भुक्तानीको निश्चित समयसीमा ताकेको छ र सोहीअनुसार कम्पनीले भुक्तानी दिनैपर्छ । तर, भुक्तानी गर्नुभन्दा पहिले दाबीउपर कम्पनीबाट सर्भेयरले सर्भे गर्छन् । सर्भे प्रतिवेदन आइसकेपछि कम्पनीहरूले बिमितबाट आवश्यक कागजात लिएर भुक्तानीप्रक्रिया अगाडि बढाउँछन् । तर, कतिपय ग्राहकले ‘क्लेम’ दाबी गरेपछि दिनुपर्ने कागजातहरू (जस्तै दुर्घटना परेको खण्डमा पुलिस रिपोर्ट, अस्पातालको रिपोर्ट आदि) दिनै ढिलो गर्छन् । यसले दाबी भुक्तानीका लागि कागजात पेस गर्न ढिला हुन्छ । यो प्रायः बिमा कम्पनीहरूको साझा समस्या हो ।

अझ यस्तो डकुमेन्टमा दाबी बापतको रकम थोरै देखिए पनि बढी रकम भुक्तानीका लागि माग गरिएको हुन्छ । अधिकांशमा बिमा गर्नेबित्तिकै फुल क्लेम (पूर्ण भुक्तानी) पाइन्छ भन्ने भ्रम हुन्छ । तर त्यसो हुँदैन । अभिकर्ताले बिमा गर्दा बिमितलाई सम्झौताको कागज दिएका हुन्छन् जसमा प्रिमियम शुल्क, दाबी भुक्तानीलगायत सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ । यस्ता कुराहरूलाई बेवास्ता गर्दा बिमितको अपेक्षा र कम्पनीले दिने भुक्तानीमा फरक हुन्छ । यही कारणले पनि बिमा कम्पनी र बिमितबीचको सम्बन्ध कहिलेकाहीँ बिग्रने गर्छ । यसका लागि बिमितले आफूले कति रकम बराबरको र कति क्षेत्र समेट्ने गरी बिमा गरेको छु ? कति प्रिमियम तिर्दै छु ? बिमाको सम्झौता विवरणमा के–के विषय समेटिएको छ ? भन्ने जानकारी राख्नुपर्छ ।

प्रिमियम तिर्दा थोरै तिरौँ र क्लेम पाउँदा सकेसम्म धेरै पाउँ भन्ने आमप्रवृत्ति हुुन्छ । यसले पनि ग्राहकको अपेक्षा पूरा हुन सक्दैन । त्यसैले प्रिमियम मात्रै नहेरेर बिमाले समेट्ने क्षेत्रका बारेमा विस्तृत बुझेर मात्रै बिमा गुर्नपर्छ । अहिले पनि बिमाबारे सामान्य जानकारी कतिपयमा भेटिँदैन । त्यसैले बिमासम्बन्धी जानकारी बढाउनुपर्ने आवश्यकता छ ।

आफैं मान्दैन सरकार आफ्नै निर्णय

अहिले बिमा प्रतिको विश्वास कमजोर हुनुुको प्रमुख कारण भुक्तानी रोकिएको कोरोना बिमा र कृषि बिमाले गर्दा हो । सरकारले भुक्तानीको आश्वासन दिएर पनि बिमा कम्पनीहरूमार्फत गरिएका यस्ता बिमाहरूको भुक्तानी दिएको छैन । जसले गर्दा बिमितले अझै अर्बौं रकम बराबरको दाबी भुक्तानी लिन बाँकी छ ।

सरकारले आर्थिक वर्ष ०७७\७८ को बजेटमार्फत कोरोना बिमामा ५० प्रतिशत अनुदान दिने घोषणा ग¥यो । तर, घोषणा अनुसारको रकम भने भुक्तानी गरेन । त्यसबेला बिमा कम्पनीहरूले १३ लाख मानिसलाई बिमालेख बिक्री गरेका थिए । जसमा एक लाख २९ हजार जनाले दाबी माग गरेकामा अझै ११ अर्ब बराबरको भुक्तानी बिमितले पाएका छैनन् ।

बिमा कम्पनीहरूले मात्रै अर्बौंको दाबी भुक्तानी दिन सक्ने अवस्था छैन । दाबी भुक्तानीलाई लिएर अदालतसम्म हारगुहार गर्नुपरेको अवस्था छ । कोरोना बिमाको दाबी भुक्तानीका लागि सरकारले तदारुकतासमेत देखाएको छैन । त्यस्तै अवस्था छ, कृषि बिमाको पनि । सानो पुँजीसहित खेती किसान गरिरहेकाहरूले बिमा गरे तर, बिमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । सरकारले कृषि बिमाको पनि भुक्तानी रोकेको छ । स्वास्थ्य बिमामा हालत पनि उस्तै छ । स्वास्थ्य बिमाको दाबी भुक्तानी नदिएर मुलुुकका धेरै अस्पतालहरूले स्वास्थ्य बिमा सुविधा दिन नसकिने बताइरहेका छन् ।

सरकारले दिन्छु भनेको रकम नदिँदा बिमा व्यवसायी आफैंले भुक्तानी गर्न सक्दैन । यसले बिमा प्रतिको हेर्ने नजरलाई थप धुमिल्याउन सहयोग गरेको छ । भुक्तानी नपाउँदा बिमाप्रति जनमानसमा नकारात्मक धारणाको विकास भइरहेको छ । सरकारले दिन्छु भनेको रकम समयमै भुक्तानी दिएको भए बिमाप्रति अविश्वासको वातावरण सिर्जना हुने थिएन । अहिले बिमा कम्पनीहरू सरकारले कोरोना होस् वा कृषि बिमाको भुक्तानी कहिले देला र बिमितलाई तिर्छु भनेर बसेका छन् । यसरी सरकारले आफ्नै कर्तव्य पूरा नगर्दा सम्पूर्ण बिमा व्यवसायी मात्र नभएर बिमितसमेत पीडित हुने अवस्था छ । यसप्रति सरकार चनाखो भई तदारुकताका साथ समस्या समाधानमा लाग्नुपर्छ ।

विकल्प होइन बिमा अनिवार्य हो

नेपालको बिमा क्षेत्र विस्तार हुने क्रममै छ तर, गति केही सुस्त देखिन्छ । यद्यपि नेपालमा बिमा क्षेत्र एकदमै फराकिलो छ । भौगोलिक कारणले पनि नेपाल जोखिमयुक्त मानिन्छ । नेपालमा हरेक वर्ष बाढी–पहिरोको वितण्डा चल्छ भने भूकम्पहरू पनि बेलाबेला आउने सम्भावना उत्तिकै छ । भौगोलिक, राजनीतिकजस्ता जोखिम भएकै कारण पनि हरेक क्षेत्र, परियोजनामा अनिवार्य बिमाको व्यवस्था हुनुपर्ने आश्यकता छ ।
भइपरी आउने प्रकोपबाट पुग्ने क्षतिलाई केही हदसम्म कम गर्न बिमाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । सरकारले दिने राहतसँगै बिमादाबी भुक्तानीले पनि क्षतिलाई कम गराउन सक्थ्यो । सरकारलाई पनि यस्ता क्षतिबाट बौरिन समय लाग्दैन थियो । सरकारले हरेक भौतिक पूर्वाधारहरू, परियोजनाहरू तथा निजी भौतिक संरचनाहरूमा बिमा अनिवार्य गर्न सके क्षतिलाई कम गराउन सकिन्थ्यो । यसले बिमा व्यवसायको दायारा मात्रै बढ्ने थिएन सरकारको खर्चसमेत जोगिन्थ्यो । तर, सरकार अझै बिमालाई प्राथमिकतामा नराखेर मौन नै देखिन्छ ।

अहिले बिमा कम्पनीहरू बलिया बन्दै आएका छन् । मर्जर भएपछि कम्पनीहरूको आयतन मात्रै बढेको छैन क्षमताको हिसाबमा पनि सक्षम र बलिया बनेका छन् । नियामक निकाय बिमा प्राधिकरणले बिमा कम्पनीहरूको चुक्तापुँजी बढाएर निर्जीवन बिमा कम्पनीहरूको हकमा साढे दुई अर्ब र जीवन बिमा कम्पनीको हकमा पाँच अर्ब रुपैयाँ पुु¥याएको छ । कम्पनीहरूले तोकिएको पुुँजी पुु¥याउने योजना अघि सारेका छन् । प्राधिकरणको पुँजी वृद्धि योजनाले बिमा कम्पनीको जोखिम वहन क्षमता दोब्बरले बढेको छ । यद्यपि पुँजीगत रूपमा बिमा बजार अधिक पुँजीकरण (ओभर क्यापिटलाइज) को मारमा परेका छन् ।
बिमामा केही वर्ष पहिलेसम्म अस्वस्थ प्रतिस्पर्धा देखिन्थ्यो । कम्पनीहरूले प्रतिस्पर्धी बन्नकै लागि पनि बिमाका दरहरूमा फरकफरक मूल्य राख्थे । यसले व्यावसायिक माहोललाई अस्वस्थ बनाएको थियो । प्राधिकरणले निश्चित दर तोकेर सोहीअनुसार व्यवसाय गर्न निर्देशन दिएपछि अस्वस्थ प्रतिस्पर्धा कम हुँदै गएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) काे वार्षिक प्रकाशन अर्थचित्र बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here