महिला सहकारीकर्मीले खोजे नेतृत्वमा ३३ प्रतिशत हिस्सा 

काठमाडौं, २७ फागुन । सहकारी क्षेत्रको नेतृत्वमा महिलाको ३३ प्रतिशतको सुनिश्चित गराउनका लागि सहकारीकर्मी महिलाहरुले सबै संघसंस्थाहरूको विनियम संशोधन गर्न दबाब दिने भएका छन् ।

सहकारीको पदाधिकारीमा कम्तिमा १ जना रहने गरी नेतृत्व तहमा ३३ प्रतिशत महिलालाई पु¥याउने लक्ष्य उनीहरुले लिएका छन् । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघ लि. नेपालले आयोजना गरेको सहकारीमा महिला सशक्तिकरण र समावेशिता विषय गोष्ठीमा महिला सहकारीकर्मीहरुले यस्तो निर्णय गरेका हुन् ।

नेपालको सहकारी क्षेत्रमा महिला सदस्यको संख्या ५१ प्रतिशत भए पनि नेतृत्व तहमा महिलाको सहभागिता अझै सन्तोषजनक नभएको उनीहरुले बताएका छन् । सहकारीमा महिला सशक्तीकरण र समावेशिताका लागि सबै संघहरूमा छुट्टै महिला उपसमिति गठन गरी महिला सशक्तीकरणका लागि अनिवार्य रुपमा बजेट छुट्याउनका लागि लविङ गर्ने गण्डकी प्रदेश सांसद तथा राष्ट्रिय सहकारी महासंघ लि. नेपालकी संचालक प्रभा कोइरालाले बताइन् ।

महिलाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशिलता कार्यक्रम अगाडी बढाउने र सहकारीमा महिलाको अवस्थाको विषयमा तथ्याङ्क संकलन गर्नका लागि गोष्ठीले मार्गनिर्देश गरेको उनको भनाइ थियो । प्रारम्भिक तहका सहकारीहरुलाई हेर्दा संचालक समितिमा लैङिक अवस्था सन्तोषजनक रहेको महासंघकी कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् ।

‘प्रारम्भिक तहका संस्थाहरुमा संचालकमा महिलाको उपस्थिति ३९ प्रतिशत भए पनि जिल्ला तथा केन्द्रीयस्तरका संघहरुमा महिलाको उपस्थिति कमजोर देखिन्छ । यसलाई सुनिश्चिता गर्न सकेको खण्डमा मात्र नीति निर्माण तहमा महिलाको पहुँच पुग्छ’ उनले भनिन्, ‘ अनौपचारिक रुपमा सहमति गरिन्छ बैठकमा त्यहि सहमतिलाई औपचारिकता दिने काम हुने भएकाले पनि महिला संचालकमा भएर पनि निर्णय प्रक्रियामा पहुँच हुन नसकेको हो ।’

केन्द्रीय तथा राष्ट्रिय संघहरुको नेतृत्वमा १७ प्रतिशत मात्र महिला रहेका छन् । महिलाले नै संचालन गरेको ४ हजार भन्दा बढी सहकारी भएकाले प्रारम्भिक तहका सहकारीमा पनि ३९ प्रतिशत सहभागीता देखिएको महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले बताइन् ।  महिला सशक्तिकरणका लागि नीति, कार्यक्रम तथा बजेटको व्यवस्थाका लागि नेतृत्वलाई बुझाउन कठिन र सामाजिक सोचका कारण अझ पनि महिलालाई मुख्य ठाउमा स्थान दिन कठिनाइ भएको अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य समेत रहेकी ओमदेवी मल्ल बताउँछिन् ।

देशभर रहेका २० वटा केन्द्रिय संघहरुमा २ सय ३ जना संचालकमध्ये ५० जनामात्र महिला रहेको राष्ट्रिय सहकारी बैंक लिकी संचालक सरिता तिमल्सिनाले बताइन् । सहकारी क्षेत्रमा ५३ दशमलब २६ प्रतिशत कर्मचारी महिला रहेको बताइएको छ । करीब ३५ हजार सहकारीमध्ये १२ प्रतिशत महिलाले मात्र संचालन गरेको सहकारी रहेको तथ्यांक छ ।

राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालले सहकारीको उपस्थिति बाक्लो भएका जिल्लाहरुमा महिलाको नेतृत्व विकास भएको औंल्याए । उनले महिलाको सशक्तिकरणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको र अब सहकारीलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए ।

नेपालमा २०३८ मा ८ जना कर्मचारीसहित महिला विकास शाखा खडा भई यो कार्यक्रम शुरु भएको थियो । महिला विकास कार्यक्रमका २ हजार सहित नेपालमा ४ हजार ७२ वटा सहकारी महिलाहरुबाट महिलाका लागि मात्र संचालन भएका छन् । महिला विकास कार्यक्रमबाट ११ लाख ५४ हजार बढी ग्रामीण विपन्न महिलाहरुलाई समूहीकरण गरिएको छ  । महिला विकास कार्यक्रममार्फत ११ हजार बढी लैङ्गिक हिंसा निगरानी समूहहरु गठन गरि ६ अरब बचत परिचालन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here