काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा ६ खर्ब ८७ अर्ब १३ करोडको रेमिट्यान्स भित्रिएको हो ।
गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशत बढेको थियो । गत आवको कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । चालु आर्थिक वर्षको असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिट्यान्स घटेको छ ।
२०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो ।चालु आवको कात्तिकसम्ममा खुद द्वितीय आय ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।
चालु आवको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८ सय ३७ रहेको छ । गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४ सय ७८ र ९४ हजार १०५ थियो ।






















