फ्लोरा एक्सपो शुरु, पुष्पको वैकल्पिक उत्पादनमा जोड

काठमाडौं, ९ चैत्र । राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि तीनदिने २२ औं फ्लोरा एक्सपो सुरु भएको छ ।

प्रदेश नम्बर ३ सरकारअन्तर्गतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र ललितपुरको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको उक्त एक्सपो( महोत्सव) को उदघाट्न संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राज्यमन्त्री रामकुमार चौधरी(रोजिना) ले गरेकी थिइन् ।

राज्यमन्त्री चौधरीले भनिन, अब पुष्प क्षेत्रले केही बिशेष अवसरमा आयात हुने पुष्पको दर पूर्ण रुपमा विस्थापित गरेर निर्यात पनि गर्नुपर्छ । यसका लागि राज्यले सकेसम्मको सहयोग उपलब्ध गराउन तयार छ । पुष्प उत्पादन गरेर बिक्री गर्नुका साथै पुष्पको औधोगिकीकरण गरी वैकल्पिक उत्पादन प्राकृतिक इत्र, रंग, मेकअपका सामग्री तथा आयुर्वेदमा आधारित औषधी पनि उत्पादन गर्नुपर्छ ।

राज्यमन्त्री चौधरीले कृषि तथा वन मन्त्रालय सहकार्य गरी पुष्प क्षेत्रको विकास र विस्तार गर्न आवश्यक रहेको बताइन ।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा. युवकध्वज जिसीले भारत वा अन्य मुलुकमा नेपालबाट निर्यात हुने पुष्पमा लाग्ने विभिन्न प्रकारका करसूचीबाट हटाउन अर्थ मन्त्रालयलाई सिफारिश गरिएको जानकारी दिए ।

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा वार्षिक दुई सय करोड रुपैयाँको पुष्पको कारोबार हुने गरेको जानकारी गराए । भ्यालेन्टाइन डे, तिहार र जाडो याममा हुने पुष्पको आयात दरलाई विस्थापन गर्न जग्गा, प्रविधि, बीउ र भण्डारणको अभाव रहेको भन्दै श्रेष्ठले खेर गइरहेको र बाँझो अवस्थामा रहेका २५ सयदेखि ३५ सय उचाईको जग्गा सहुलियत दरमा भाडामा राज्यले उपलब्ध गराउन सके यो क्षेत्रले वार्षिक १० अर्बभन्दा बढी मूल्यको कारोबार गर्न सक्ने सुझाव दिए ।

फ्यानका अध्यक्ष कुमारकसजु श्रेष्ठले कृषिजन्य बस्तुको प्रदर्शनी गर्न प्रदर्शनी गृहको चर्को अभाव रहेको औल्याए । देशभरमै एक मात्र भृकुटीमण्डप मात्रै प्रदर्शनी गृहको रुपमा रहेको र उक्त प्रदर्शनी गृह पनि १२ महिना अग्रिम रुपमा बुक भएका कारण कृषिजन्य वस्तुको प्रदर्शनी तथा महोत्सव आयोजना गर्न निक्कै कठिनाई भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

४३ जिल्लामा ६९७ व्यवसायी

नेपाली पुष्प व्यवसाय आ.ब. २०७३/७४ सम्म आई पुग्दा हाल ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसाय बिस्तार भईसकेको छ । करीब १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४३,५०० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको छ ।

यस व्यवसायले आ.ब. २०७४/७५ मा २ अर्व २५.२४ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्न सफल भएको छ । आ.ब.२०७४/७५ मा ११ करोड रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्याततर्फ २.३७ करोड रुपैयाँ बराबरको रहेको छ । समग्रमा पुष्प व्यवसाय बार्षिक १० देखि १५% को हाराहारीमा बार्षिक बृद्धिदर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here